खेल

मनाङ मर्स्याङदीको भेट सहारासँग

पोखरा- आहा-रारा गोल्डकप फुटबल प्र्रतियोगिताको फाइनलमा आयोजक सहारा र लक्ष्मीहुन्डाई मनाङमर्स्याङदी क्लबबीच उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ। मनाङले बिहीबार सिएमजी संकटालाई १–० गोलले पराजित गर्दै फाइनलमा सहारासँगको भेट निश्चित गरेको हो।

खेलको अन्तिम चार मिनेट बाँकी रहँदा अफिज ओलावालेले गरेको गोल नै मनाङलाई फाइनल पुर्‍याउन निर्णायक बन्यो। विक्रम लामाको फ्रिकिकमा विमल रानाले दिएको छोटो हेडपासलाई अफिजले गोलमा परिणत गरेका थिए।

गोलका केही अवसर उपयोग गर्न नसक्नु र ६३ औं मिनेटमा सुशील केसी दोहोरो पहेंलो कार्ड दर्शन गर्दै मैदानबाट बाहिरिएपछि संकटा १० जनामा सीमित भयो। अपशब्द बोलेपछि रेफ्री विकास महतले चार मिनेटको अन्तरमा दोहोरो पहेँलो कार्ड देखाउँदै केसीलाई मैदानबाट बाहिर पठाए। त्यसपछि मनाङविरुद्ध संकटाको प्रदर्शन अझै फितलो बन्यो। ३८ औं मिनेटमा विश्वास श्रेष्ठको फ्रिकिक बाहिरिँदा संकटाले गोलको अवसर गुमायो।

मनाङले संकटालाई सुरुआतबाटै दबाबमा राखेको थियो। १८ औं मिनेटमा अफिजले दिएको पासमा अनिल गुरुङले बल मिस गर्दा गोलको अवसर गुमाए। ७२ औं मिनेटमा सुजल श्रेष्ठको पासमा अफिजले नै पेनाल्टी बक्सबाट हेड गर्दा संकटाका गोलरक्षक विनय श्रेष्ठले कठिनतापूर्वक गोल हुनबाट बचाए।

२०५८ को क्याराभान गोल्डकपसहित आहा–रारा गोल्डकपमासबैभन्दा बढी ९ पटक फाइनल खेलेको साबिक विजेत मनाङले ४ पटक उपाधि जितेको छ।

संकटाका प्रशिक्षक सल्यान खड्गीले रेफ्री महतको सुशीललाई दोहोरो पहेंलो कार्ड देखाउने निर्णयप्रति असन्तुष्टी व्यक्त गरे। खेलाडीले रेफ्रीलाई अपशब्द बोल्नु अनुचित भए पनि रेफ्रीको निर्णय सही नभएको उनले बताए। 'दोहोरो पहेंलो कार्ड देखाउनेमात्र होइन, हाम्रा खेलाडीका सानो गल्तीमा पनि भटाभट कार्ड दिए,' उनले भने, 'त्यसले खेलाडी हतोत्साहीत भए। तर मनाङका खेलाडीका ठूला गल्तीमा पनि सामान्य सचेत समेत गराएनन्। रेफ्रीका सबैजसो निर्णय गलत थिए।'

मनाङमा राष्ट्रिय खेलाडी भएकाले रेफ्रीले उनीहरूको गल्तीमा आँखा चिम्लेको उनको आरोप थियो। 'फेयर प्ले नै भएन। मनाङलाई एकतर्फी रुपमा रेफ्रीले एडभान्टेज दिए,' खड्गीले भने, 'दोहोरो पहेंलो कार्ड देखाएर खेलाडी बाहिरिनु नै हाम्रो लागि दुःखद बन्यो।' पहिलो हाफमा टिमले रणनीति अनुसार खेले पनि दोस्रो हाफमा रेफ्रीले टिमलाई कमजोर बनाइदिएको उनले दाबी गरे।

मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले खेलको पहिलो १० मिनेटभित्रै गोल निकाल्ने रणनीति भए पनि नसकेको बताए। 'दोस्रो हाफमा मिडफिल्ड र स्ट्राइकरको संयोजनमा केही कमजोर रह्यो,' उनले भने, 'जस्ता मुभ हुनुपर्थ्यो, हुन सकेन। यसले गर्दा बढी मेहनत गर्नु पर्‍यो।'

'दोश्रो हाफमा हामीले दबाबमा पार्‍यौं। संकटा १० जनामा झरेपछि केही हतोत्साहीत भयो,' विपक्षीका एक खेलाडी बाहिरिनु पनि मनाङका लागि सहज भएको भन्दै उनले भने, 'त्यसको फाइदा हामीले उठायौं।' फाइनलमा सहारासँग खेल्दा रणनीति र केही खेलाडी परिवर्तन हुनसक्ने उनले बताए। 'खेल्ने खेलाडीको सूची अहिल्यै भन्न सकिन्न। तर हाम्रो रणनीति र खेलाडी परिवर्तन हुनसक्छन्,' उनले भने।

बिहीबारको खेलमा मनाङका रोहित चन्द म्यान अफ दि म्याच भए। मनाङ र सहाराबीच उपाधिका लागि शनिबार प्रतिस्पर्धा हुनेछ। सहारा आर्मीलाई हराएर फाइनल पुगेको हो।

प्रकाशित: १४ माघ २०७३ ०४:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App