खेल

सेरेना पनि अन्तिम चारमा

मेलबर्न- विश्व नम्बर २ सेरेना विलियम्सले बुधबार ब्रिटेनकी जोना कोन्टालाई २–० को सोझो सेटमा पराजित गर्दै मिर्जाना लुसिक–बारोनीसँग सेमिफाइनल भेट पक्का गरेकी छन्। यसअघि सेरेना र मिर्जाना १९ वर्षपूर्व आपसमा भिडेका थिए।

अमेरिकी खेलाडी सेरेनाले कोन्टाको ९ खेलको अविजित यात्रामा पूर्णविराम लगाउने क्रममा ६–२ र ६–३ को सहज जित हात पार्दै फाइनलमा आफ्नी बहिनी भेनससँगको सम्भावित भेट पक्का गरेकी हुन्। यसअघि मंगलबार भेनस रसियाकी एनास्टानिया पाभ्लेचेन्कोभालाई पराजित गर्दै २३ वर्षयता ग्रान्डस्लामको सेमिफाइनल खेल्ने पाको महिला खेलाडी बनेकी थिइन्।

पुरुषतर्फ भने राफेल नाडालले विश्व नम्बर ३ मिलोस राउनिकलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका छन्।

१४ पटकका ग्रान्डस्लाम विजेता नाडालले २ घन्टा ४४  मिनेट चलेको खेलमा ६–२, ७–६(९/७), ६–४ को जित हात पारे। उनले शुक्रबार हुने सेमिफाइनलमा बुल्गेरियाका गिजोर  डिमिट्रोभसँग प्रतिस्पर्धा गर्नेछन्। डिमिट्रोभले बेल्जियमका डेभिड जियाफिलनलाई ६–४, ६–२, ६–३(३–० )को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा नाडालसँग भिडन्त पक्का गरे।

नाडालले आफ्ना चिरप्रतिद्वन्द्वी रोजर फेडेररसँगको सम्भावित नवौं ग्रान्डस्लाम फाइनल भेटको आशा जीवित राखेका छन्।

सन् २०१४ को फ्रेन्च ओपनपछि उनको यो पहिलो सेमिफाइनल हो।

'मिलोस कठिन प्रतिद्वन्द्वी हुन्। उनले मलाई दुई साताअघि ब्रिस्बेनमा हराएका थिए,’ नाडालले भने, ‘उनी यस प्रतियोगिताका सर्वश्रेष्ठ सर्भर हुन्, उनीसँग प्रतिस्पर्धा गर्न कठिन हुन्छ भन्ने मलाई राम्रो हेक्का थियो।’

२४ वर्षे स्पेनिस खेलाडीको यो २४ औं ग्रान्ड स्लाम हो भने उनी अस्ट्रेलियन ओपनको सेमिफाइनलमा प्रवेश गरेको यो पाँचौं पटक  हो।

डिमिट्रोभविरुद्धको खेल जिते उनी एटिपी र्‍याङकिङमा छैटौं नम्बरमा उक्लिनेछन् र पराजित भए सातौं नम्बरमा खुम्चनेछन्।

३५ वर्षे सेरेनाले यसअघि सन् १९९८ मा विम्बल्डनको दोस्रो चरणमा मिर्जानासँग प्रतिस्पर्धा गरेकी थिइन्। त्यसबेला उनीहरू दुवै जना १६ वर्षका थिए।

बिनावरियताकी ३४ वर्षीया मिर्जानाले भावुक हुँदै भनिन्, ‘आजको जितको वर्णन गर्न मसँग शब्द छैनन्, यसले मेरो जीवन सार्थक बनायो।’ विश्व नम्बर ५ चेक गणतन्त्रकी कारोलिना पिलिस्कोभालाई ६–४, ३–६, ६–४ को सेटमा पराजित गरेपछि उनले भनिन्, ‘आज म अस्ट्रलियन ओपनको सेमिफाइनलमा पुगेको विश्वासै गर्न सकिरहेकी छैन। मैले भन्न सक्ने एक मात्र कुरा भनेको भगवान महान् छन्। सेमिफाइनल पुग्नु आश्चर्यजनक छ।’

सेरेनाले भने बिहीबार हुने सेमिफाइनलमा आफूले मिर्जानाबाट प्रेरणा लिनसक्ने बताएकी छन्।

‘म मिर्जानाका लागि धेरै खुसी छु। उनी कहिल्यै हार मान्दिनन् भन्ने मलाई थाहा छ र यो प्रेरणादायी छ। उनको जित निकै अद्भूत रह्यो,' सेरेनाले भनिन्, ‘नढाँटी  भन्नुपर्दा हाम्रो खेल अब बिल्कुलै फरक हुनेछ।’

प्रकाशित: १३ माघ २०७३ ०४:४५ बिहीबार

सेरेना अन्तिम चारमा