खेल

ओमानविरुद्ध नेपालको शानदार जित

कुशल मल्लको विष्फोटक शतकमा नेपालले एसीसी प्रिमियर कप अन्तरगत ओमानविरुद्धको खेलमा शानदार जित दर्ता गरेको छ । 

टस हारेर ब्याटिङ गर्दै नेपालले दिएको ३११ रनको विशाल लक्ष्य ओमानले पछ्याउन सकेन । ओमानले ४६ दशमलब २ ओभरमा ९ विकेट गुमाएर २२६ रन बनायो ।  ओमानका ११ औं नम्बर ब्याट्सम्यान चोटका कारण ब्याटिङ गर्न नआएपछि ओमान २२६ रनमा अलआउट  भयो  र  खेल ८४ रनले हार्न पुग्यो ।  

नेपालको जितमा कुशल मल्लले कीर्तिमानी शतक प्रहार गरे। कुल १०८ रन बनाएका उनले ६९ बलमै शतक बनाएका हुन्। आफ्नो एकदिवसीय करियरकै पहिलो शतक प्रहार गरेका उनी नेपालका लागि एकदिवासीय अन्तर्राष्ट्रियमा छिटो शतक प्रहार गर्ने खेलाडीको कीर्तिमान पनि बनाएका छन्। शतक हान्ने क्रममा उनले ९ चौका र १० छक्का प्रहार गरे।

यस्तै सोमपाल कामीले पनि उत्कृष्ट ब्याटिङ गर्दै ६३ रनको योगदान गरे। ४८ बल खेलेका उनले ९ चौका प्रहार गरे। भीम सार्कीले ३३ रन बनाउँदा आरिफ शेख र करण केसीले समान २९ रन जोडे।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ३१० रनको विशाल योगफल तयार पारेको थियो।

ओमानका लागि महोमद नदिमले सर्वाधिक ६५ रन बनाए। सन्दीप गौडले ४६ रन बनाउँदा ओपनर कक्षेप प्रजापतिले २५ रन जोडे।

नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान ३ विकेट लिए। आजको खेलमा विकेट लिएसँगै सन्दीपले एकदिवसीय अन्तर्राष्ट्रियमा छिटो सय विकेट लिने खेलाडीको कीर्तिमान पनि बनाएका छन्। यसअघि यो कीर्तिमान अफगानिस्तानका रसिद खानको नाममा थियो।

रसिदले ४४ खेलबाट सय विकेट लिएका थिए। सन्दीपले भने ४२ खेलबाटै सय विकेट लिँदै कीर्तिमान बनाएका हुन्।अब नेपाल अर्को खेल वैशाख ११ गते साउदी अरबसँग खेल्ने छ। खेल मुलपानी क्रिकेट मैदानमा हुने छ।

प्रकाशित: ८ वैशाख २०८० ११:०७ शुक्रबार

एसीसी प्रिमियर कप