खेल

आर्मी र पुलिसको जित

काठमाडौं- साबिक विजेता त्रिभुवन आर्मी क्लब र उपविजेता नेपाल पुलिस क्लबले प्रधानसेनापति दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार लगनखेलस्थित आर्मीको शारीरिक सुगठन तथा फिटनेस सेन्टरको कभर्ड हलमा आयोजक आर्मीले विभागीय प्रतिद्वन्द्वी एपिएफलाई सोझो सेटमा २५—१५, २५—१९,  २५—२० ले पराजित गर्‍यो।

गत वर्षको उद्घाटन खेलमा पनि आर्मीले एपिएफलाई सोझो सेटमा हराएको थियो। घरेलु भलिबलमा आर्मी पुरुष टोली राष्ट्रिय खेलाडीको बाहुल्यता भएको टोली हो।

आर्मीका ७ खेलाडीले एक महिनाअघि बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगिता खेलेका थिए। आर्मीका सेटर एवं कप्तान हरिहजुर थापासहित ओपन स्पाइकर मानबहादुर श्रेष्ठ, धनबहादुर भंट, क्विक स्पाइकर भुवन कार्की, भैरव बम, अलराउन्डर नरेन्द्र गिरी र लिबेरो ईश्वर थापाले बंगलादेशमा राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरेका थिए।

कप्तान हरिहजुरले एपिएफलाई पराजित गर्दा टोलीको मनोबल बढ्ने बताए। उनले भने, 'हाम्रो मुख्य प्रतिस्पर्धी विभागीय टोली एपिएफ र पुलिस हुन्। उनीहरूसँगको खेलमा दबाब हुन्छ। एपिएफ राम्रो टिम हो। पुलिस अनुभवी टोली हो। हाम्रो लक्ष्य फाइनलमा उपाधि रक्षा गर्ने हो।' टोलीमा अनुभवी खेलाडीको बाहुल्यता हुँदा फाइदा पुगेको हरिहजुरले बताए। उनले थपे, 'हामी नम्बर एक टोली हौं भनेर दाबी त गर्दैनौं, तर आर्मी घरेलु भलिबलमा बलियो टोली हो। अन्तर्राष्ट्रिय अनुभव बटुलेको खेलाडी टिममा धेरै छन्। यो हाम्रो सशक्त पक्ष हो।'

पूर्वाञ्चलमा सातौं राष्ट्रिय खेलकुद भैरहेका बेला आर्मीको पहिलो रोजाइका खेलाडीले बंगलादेशमा एभिसी सेन्ट्रल जोन भलिबल खेलिरहेका थिए। पहिलो रोजाइका खेलाडी नभए पनि आर्मीको युवा टोलीले एपिएफलाई हराउँदैं सातौं राष्ट्रियमा पुरुष भलिबलको स्वर्ण जितेको थियो। आर्मीले सोमबार मध्यपश्चिमसँग खेल्नेछ।

नेपाली भलिबलको सर्वाधिक सफल टोली पुलिस भने पछिल्लो समय उपाधि जित्न संघर्ष गरिरहेको छ। टोलीका मुख्य स्पाइकर सञ्जय अर्याल क्लब छाडेर विदेश गैसकेका छन्। अर्का युवा स्पाइकर चन्द्र कुँवर पनि घाइते भएपछि पुलिस पछिल्लो एक वर्ष घरेलु प्रतियोगितामा कमजोर देखिँदै आएको छ। चन्द्र गत वर्ष प्रधानसेनापति कप भलिबलकै दौरान घाइते भएका थिए। उनको खुट्टाको मांसपेशी च्यात्तिएको थियो। पछि चितवनमा भएको राष्ट्रिय खेलकुदमा पनि चन्द्रको ढाडमा समस्या आएपछि करिब एक वर्ष उनले आराम गरे। अहिले चन्द्र प्रधानसेनापति कप भलिबलबाटै टोलीमा फर्किएका छन्।

दुई वर्षअघि पुलिस टोलीमा राष्ट्रिय टोलीको जर्सी लगाएका खेलाडीको बाहुल्यता हुने गरेको थियो। तर अहिले पुलिसमा ३ खेलाडीमात्र राष्ट्रिय टोलीका छन्। कप्तान इम रानामगर, बायाँहाते स्पाइकर देव शर्मा र कुलबहादुर थापा राष्ट्रिय टोलीका सदस्य हुन्।

सञ्जयको स्थानमा युवा स्पाइकर दीपक जोशीले खेलिरहेका छन्। पुलिसले नयाँ स्पाइकर राजु शेरचनलाई पहिलो रोजाइबाट खेलाइरहेको छ।

पुलिसका कप्तान इमले नयाँ टिमको समन्वय मिल्दै गैरहेको बताए। उनले भने, 'सञ्जयले छाडेपछि टिममा केही समस्या भएको छ। तर अहिले नयाँ साथीले मेहनत गरिरहेका छन्। हामी यसपटक आर्मीलाई हराउने लक्ष्यमा छौं।' गत वर्षको फाइनलमा चन्द्र घाइते हुँदा टोलीलाई अप्ठ्यारो परेको इमले बताए। उनले भने, 'पहिलो सेटमै चन्द्रले खेल्न नसकेपछि हामी समस्यामा परेका थियौं। मुख्य खेलाडी फाइनलमा नहुँदा टोली कमजोर हुन्छ। त्यसको फाइदा आर्मीले लिएको थियो। अहिले चन्द्र खेलमा फर्किएको छ। अन्य खेलाडीले पहिलेभन्दा सुधार गरेका छन्।'

आइतबार भएको अर्को खेलमा पुलिसले मध्यमाञ्चललाई २५—१०, २५—१७,  २५—१९ ले हरायो। अन्य खेलमा पश्चिमाञ्चलले सुदूरपश्चिमाञ्चललाई २५—१६, १६—२५, २६—२८, १८—२५ ले हरायो। पूर्वाञ्चलले मध्यपश्चिमाञ्चललाई १७—२५, १६—२५, १४—२५ ले पराजित गर्‍यो।

माघ १४ सम्म हुने प्रतियोगितामा ३ विभागीय टोली आर्मी, पुलिस, एपिएफसहित ५ विकास क्षेत्रका टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले पल्सर मोटरसाइकल पुरस्कार दिइने आयोजक नेपाली सेनाले बताएको छ। प्रतियोगिताको विजेता टोलीले ३ लाख रुपैयाँ, उपविजेताले १ लाख ५० हजार रुपैयाँ, तेस्रोले ७५ हजार रुपैयाँ नगद पाउनेछन्। प्रतियोगिताको उत्कृष्ट स्पाइक, ब्लकर, रक्षक, सेटर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ पाउनेछन्।

प्रकाशित: १० माघ २०७३ ०३:४६ सोमबार

आर्मी पुलिसको जित