खेल

जावलाखेलको फराकिलो जित

विभागीय टोली नेपाल पुलिस क्लबमाथि ६–१ को फराकिलो जित निकालेको जावलाखेल युथ क्लब राजधानीमा जारी सहिद स्मारक ‘ए’डिभिजन लिगको शीर्ष स्थानमा यथावत् रहँदा अर्को खेलमा साबिक विजेता मच्छिन्द्र फुटबल क्लब एपिएफसँग १–० ले स्तब्ध भएको छ।

ललितपुरस्थित च्यासल मैदानमा भएको खेलमा जावालखेल युथ क्लबले पुलिसविरुद्ध जित निकाल्दा जारी लिगमा छैटौं जित दर्ता गर्न सफल भएको हो। पुलिसविरुद्ध पहिलो मिनेटबाट नै हाबी भएको जावलाखेलले ३०औं मिनेटमा फोडे फोफानाको गोलबाट अग्रता लिएको थियो।  

हिसुब थपिलियाले ५१औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाउँदा एनकोटा मेसोबीले ६५औं मिनेट र ८१औं मिनेटमा गोल थप्दै टोलीको अग्रता ४–० मा पुर्याएका थिए। हिसुबले ८४औं मिनेटमा व्यक्तिगत दोस्रो गोल थप्दै अग्रता ५–० मा पुर्याउँदा मोसेस ग्याबाह टौमले पुलिसका लागि ८८औं मिनेटमा गोल गर्दै अन्तर घटाए। इन्जुरी समयमा अब्दुलाजिज निसोनबाभले टोलीका लागि छैटौं गोल गर्दै जित निश्चित गरे। यससँगै जावलाखेल युथ क्लब १० खेलबाट छैटौं जित निकालेर शीर्ष स्थानमा यथावत् छ। जावलाखेलको २० अंक छ भने पराजित पुलिस तालिकाको पुछारमा यथावत् नै छ। पुलिसको ५ अंक छ।

लिगअन्तर्गत बुधबार नै भएको अर्को खेलमा साविक बिजेता मच्छिन्द्र फुटबल क्लब १–० ले स्तब्ध बन्यो। दशरथ रंगशालामा भएको दिनको पहिलो खेलमा मच्छिन्द्र क्लबविरुद्ध रोमाञ्चक जित दिलाउनका लागि पहिलो हाफ सकिन पाँच मिनेट बाँकी छँदा कप्तान नवीन लामाको पासमा अर्मान्ड बेडोमले गरेको गोल निर्णायक बनेको हो।

यस्तै दशरथ रंगशालामा भएको खेलमा फ्रेन्ड्सले संकटा क्लबमाथि ३–१ को रोमाञ्चक जित निकाल्यो। फ्रेन्ड्सको जितमा प्रकाश बुढाथोकी, टोरिक जेब्रिन र रफिक अमिनुले समान १-१ गोल गर्दा संकटाका जुनियर नेङ्गुईले एक गोल फर्काए। यससँगै फ्रेन्ड्स रेलिगेसन क्षेत्रभन्दा माथि १०औं स्थानमा उक्लिएको छ। उता पराजित संकटाले भने तालिकाको दोस्रो स्थानमा उक्लिने मौका गुमाएको छ। जितपछि फ्रेन्ड्सको १० खेलबाट ११ भएको छ भने पराजित संकटाको समान १० खेलबाट १५ अंक छ।  

लिगमा बिहीबार दुई खेल हुनेछन्। एन्फा मुख्यालयमा हुने खेलमा थ्री स्टार र हिमालयन शेर्पा आमनेसामने हुनेछन् भने दशरथ रंगशालामा चर्च ब्वाइज र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ।  

प्रकाशित: ७ वैशाख २०८० ०१:०२ बिहीबार

सहिद स्मारक ‘ए’डिभिजन लिग जावलाखेल युथ क्लब पुलिस क्लब