खेल

ढोरपाटनमा एपिएफ अगाडि

काठमाडौं- सशस्त्र प्रहरी बलको एपिएफ क्लबले आयोजक ढोरपाटन स्पोर्ट्स क्लबलाई बिहीबार ३- को सोझो सेटमा पराजित गर्दै ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ।

रेश्मा भण्डारीले उत्कृष्ट प्रदर्शन गरेपछि एपिएफले ढोरपाटनलाई २५–११, २५–१०, २५–८ को सेटमा हराएको हो। रेश्मा वुमन अफ दि म्याच समेत बनेकी थिइन्। एपिएफले १३ खेलबाट ३६ अंक बटुलेको छ। दोस्रो स्थानमा झरेको रिड मोडलले ११ खेलबाट ३३ अंक जोडेको छ। १२ खेलबाट ३० अंक जोडेको न्यू डायमन्ड तेस्रो स्थानमा छ।

बिहीबारै हुने भनिएको रिड मोडल र न्यू डायमन्डबीचको खेल खराब प्रकाशका कारण रद्द भएको थियो। तर न्यू डायमन्डले पहिलो खेलमा त्रिभुवन आर्मीलाई क्लबलाई ३–० पराजित गरेको थियो। न्यू डायमन्डले आर्मीमाथि २५–२२, २५–११, २५–७ सेटको विजय हासिल गरेको हो। न्यू डायमन्डकी कप्तान ललिता नाथ वुमन अफ दि म्याच बनिन्।

मनिषा चौधरीको उत्कृष्ट प्रदर्शनमा नेपाल पुलिस क्लबले पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघलाई ३–१ को सेटमा पराजित गरेको छ। लिगको चौथो स्थानमा रहेको पुलिसले पश्चिमाञ्चललाई २६–२४, २१–२५, २५–१६, २५–२३ को सेटमा हराउँदै ३ अंक हात पार्‍यो।

पश्चिमाञ्चलकी अरुणा शाहीले वुमन अफ दि डेको उपाधि जितिन्। उनलाई भिक्टोरिया इन्टरनेसनल होटल ट्रेनिङ इन्स्टिच्युटले निःशुल्क तीनमहिने होटल म्यानेजमेन्ट तालिमको अवसर प्रदान गरेको छ।

जारी लिगमा पुलिसले १३ खेलबाट २४ अंक बटुलेको छ। १३ खेलबाट २१ अंक जोडेको पश्चिमाञ्चल भने पाँचौं स्थानमा  छ। विभागीय टोली आर्मीले १३ खेलबाट १५ अंक जोडेको छ। दोस्रो चरणमा सफलता हसिल गर्न सकेको ढोरपाटन स्पोर्ट्स क्लबले १३ खेलबाट ८ अंक जोडेको छ। ढोरपाटन लिगको अन्तिम स्थानमा छ।

प्रकाशित: ७ माघ २०७३ ०३:५४ शुक्रबार

ढोरपाटनमा एपिएफ अगाडि