खेल

मलेसियाविरुद्ध सहज जितको लक्ष्य

एक महिनाअगाडि मात्र घरेलु मैदानमा विश्वकप क्रिकेट छनोटको यात्रा तय गर्दै यादगार बनाएको नेपाल मंगलबार पनि सोही किसिमको लक्ष्य प्राप्ति गर्ने उद्देश्यसहित एसिसी प्रिमियर कपको पहिलो खेल खेल्दै छ।  

गत चैत २ गते आइसिसी विश्वकप लिग–२ को आफ्नो ३६औं खेलमा संयुक्त अरब इमिरेट्स(युएई) माथि ९ रनको रोमाञ्चक जित निकाल्दै नेपाल जिम्बाब्वेमा हुने विश्वकप छनोटको यात्रा तय गर्न सफल भएको थियो। नेपालको त्यो सफलतमा साक्षी थियो, त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान। मंगलबार पनि सोही मैदानमा नेपाल एसिया कपमा छनोट हुने लक्ष्यसहित एसिसी प्रिमियर कपको प्रतिस्पर्धा सुरु गर्दै छ। १० टोलीले प्रतिस्पर्धा गर्ने एसिसी प्रिमियर कपको विजेताले एसिया कपमा खेल्नेछ। यसको विजेताले पाकिस्तानमा हुने एसिया कप खेल्न पाउँछ।  

त्यसैले घरेलु मैदानमा प्रिमियर कप च्याम्पियन हुँदै नेपाल एसिया कपमा समूह ‘ए’मा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने अवसर गुमाउन चाहँदैन। तर, त्यसका लागि घरेलु टोलीले पहिलो चुनौतीको रूपमा रहेको मलेसियामाथि मंगलबार सहज जितको लक्ष्य राखेको छ। आइसिसीको एकदिवसीय वरीयतामा नेपाल १४औं स्थानमा छ भने मलेसिया गैरवरीयताको टोली हो। आइसिसीले एकदिवसीय मान्यता प्राप्त २० राष्ट्रको मात्र वरीयता सार्वजनिक गर्छ। मलेसिया एकदिवसीय मान्यता प्राप्त राष्ट्र होइन। एकदिवसीय मान्यता प्राप्त भएपछि नेपालले पहिलो पटक मलेसियासँग ५० ओभरमा प्रतिस्पर्धा गर्न लागेको हो।

पछिल्लो पटक नेपालले सन् २०१८ को एसिया कप क्वालिफायरमा नै मलेसियासँग ५० ओभरको प्रतिस्पर्धा गरेको थियो, जुन खेल नेपालको पक्षमा रह्यो। मलेसियासँग अहिलेसम्म नेपालले ५० ओभरको सात वटा खेल खेलेको छ। ती सबै खेलको नतिजा नेपालले आफ्नो पक्षमा पारेकाले मंगलबार घरेलु टोलीका लागि मलेसिया कठिन प्रतिस्पर्धा हुने छैन। सन् २०१० अप्रिल ७ मा नेपालले एसिसी ट्रफी इलिटको सेमिफाइनलमा मलेसियालाई हराएको थियो।

त्यो खेलमा ज्ञानेन्द्र मल्लले ४९ रन बटुलेका थिए। ज्ञानेन्द्र अहिले पनि टोलीमा छन्। एसिया कपको यात्रा जीवन्त राख्न नेपाल समूह ‘ए’ को शीर्ष दुईमा रहनुपर्छ। यो समूहमा नेपालका लागि सबैभन्दा बलियो टोली ओमानलाई मानिएको छ। ओमान पनि आइसिसी विश्वकप लिग–२ को दोस्रो स्थानमा रहँदै विश्वकप छनोटमा स्थान बनाएको टोली हो। यद्यपि, एसिसी प्रिमियर कपको तयारीका लागि गत शुक्रबार खेलिएको अभ्यास खेलमा भने नेपालले ओमानमाथि ५ विकेट सहजको जित निकाल्दै समूहमा आफ्नो दाबेदारी बलियो बनाएको छ।

समूहका चारै खेल जित्दै नेपाल आफूलाई उच्च मनोबलका साथ सेमिफाइनलको तयारी गर्ने लक्ष्यमा छ। त्यसका लागि नेपालले दोस्रो खेल वैशाख ८ गते ओमानसँग, तेस्रो खेल वैशाख ११ गते साउदी अरेबियासँग र चौथो खेल वैशाख १४ गते कतारसँग खेल्दै जित निकाल्नुपर्नेछ। आइसिसी विश्वकप लिग–२ मा १२ खेल बाँकी छँदा नेपालको विश्वकप छनोट यात्रा र एकदिवसीय मान्यता दुवै संकट थिए। त्यसबीच गत वर्षको माघ २३ गते मोन्टी देशाई नेपाली टोली मुख्य प्रशिक्षकको जिम्मेवारी समाले। जहाँ मोन्टीले ११ खेलमा जित दिलाउँदै असम्भव देखिएका दुवै लक्ष्य नेपाली क्रिकेटको पक्षका पारे।

यी १२ खेलमा नेपालले घरेलु मैदानमा एउटा पनि हार बेहोरेको छैन। त्यस कारण पनि घरेलु मैदानको फाइदा उठाउँदै नेपाल एसिया कपमा छनोट हुन सक्छ। नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टीले पनि घरेलु मैदानको फाइदा उठाउँदै नेपालको लक्ष्य एसिसी प्रिमियर कप जित्नु रहेको बताए। ‘उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिनेछौं। घरेलु मैदानमा खेल्नु हाम्रो लागि केही फाइदाजनक हुन सक्छ। खेलाडीले मैदानबारे राम्रोसँग बुझेका छन्। घरेलु दर्शकको समर्थन पनि रहनेछ,’ देसाईले भने, ‘खेलाडीको मनोबल उच्च छ। अभ्यास पनि राम्रो भएको छ। टोलीका हरेक सदस्यलाई हामीबाट ठूलो अपेक्षा राखिएको छ। त्यसलाई पूरा गर्ने प्रयास गर्नेछौं।’

देशाईले प्रतियोगितामा सहभागी अन्य टोली पनि एउटै लक्ष्यका साथ मैदान उत्रिने बताएका छन्। ‘प्रतियोगितामा सहभागी सबै टोलीको लक्ष्य उपाधि जित्नु नै हो। सबै टोली बलिया छन्। कुनै पनि टोलीविरुद्ध सहज हुने छैन,’देसाईले थपे,‘मेरा लागि मलेसिया नयाँ टोली भएकाले उनीहरूको बारेमा मलाई खासै जानकारी छैन। तर मलाई आशा छ हामी जितका साथ प्रतियोगिताको सुरुआत गर्नेछौं।’ नेपालका कप्तान रोहित पौडेलले पनि एसिया कपमा पुग्ने यो राम्रो अवसर रहेको बताए। ‘हामीले १५ दिनदेखि राम्रो तयारी गरेका छौं। यो एसिया कपमा पुग्ने हाम्रा लागि ठूलो अवसर हो। राम्रो नतिजा पनि आउन सक्छ,’ रोहितले भने।  

प्रकाशित: ५ वैशाख २०८० ०२:१९ मंगलबार

एसिसी प्रिमियर कप आइसिसी विश्वकप लिग–२