खेल

त्रिभुवन आर्मीले जित्यो ऋचा मेमोरियल टी–२० क्रिकेटको उपाधि

प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टिम त्रिभूवन आर्मीले जितेको छ। विराटनगरमा  आइतबार सम्पन्न  फाइनल खेलमा घरेलु टिम एनबीएससीलाई ६ विकेटले हराउँदै आर्मीले उपाधि जितेको हो।

उपाधिसँगै आर्मीले १ लाख ५० हजार रुपैयाँ नगद र ट्रफी जितेको छ। उपबिजेता भएको एनबीएससीले ७५ हजार रुपैयाँ पुरस्कार पायो।  १ सय ११ रनको विजय लक्ष्य पछ्याएको आर्मीले ११ दशमलव ३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष पुरा ग¥र्यो। आर्मीको जितमा सन्दिप  रजालीले २० बलमा ३ छक्का र ५ चौका प्रहार गर्दै  ४६ रनको योगदान दिए। उनी खेलको म्यान अफ द म्याच पनि घोषित भए।

यस्तै वासिर एहमद १८ बलमा २ चौका लिैदै  १८ रन पारी खेल्दा सुमित श्रेष्ठले ८ बलमा अविजित १३ रन बनाए। बलिङमा एनबीएसीका एमडी इजार, प्रशान्त कुमार, रवि शर्मा र मयङक कुमारले समान १–१ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङ गरेको एनबीएससीले १७ दशलव २ बलमा सबै विकेट गुमाई १ सय १० रन बनाएको थियो। एनबीबएससीका कुमार राजनिसले ३३ बलमा २ छक्का र ७ चौका लिैंदै ५० रनको अर्धशतकीय इङनिङ खेले। अनुभव श्रीवास्तले १४ बलमा ११ रन बनाए। आर्मीका बिक्रम सोबको घातक बलिङ सामु एनबीएससीका खेलाडी क्रिजमा टिक्न सकेनन्। आर्मीका बिक्रमले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए। हरी चौहान र सुमित श्रेष्ठले समान २–२ विकेट लिए।

प्रतियोगिताको बेस्ट ब्याटरमा एमबी ग्रुप डडेलधुराका दिपक बोहरा घोषित भए। उनले खेलअवधीभरमा १ सय १५ रन बनाएका थिए। यस्तै प्लेयर अफ सिरीज दिल्ली युनाइटेडका साकेत केडिया भए। उनले १ सय ५ रन र ४ विकेट लिएका थिए। उनले ५० हजार मूल्य बराबरको क्रिकेट किड पाए। बेस्ट बलर आर्मीका जितेन्द्र मुखिया घोषित भए ।विराटनगरमा चैत २७ देखि वैशाख ३ गतेसम्म  आयोजित प्रतियोगितामा मुलुकका तीन विभागीय टोली त्रिभुवन आर्मी, नेपाल प्रहरी र एपीएफसहित एनबीएससी विराटनगर, राहुल ११, सुदुरपश्चिम क्रिकेट क्लब, भारतको नरपथगन्ज र दिल्ली युनाईटेड गरी ८ वटा टिम सहभागी थिए।  

प्रकाशित: ३ वैशाख २०८० ११:५१ आइतबार

ऋचा मेमोरियल टी – २० क्रिकेट