खेल

बंगलादेशको गतिलो सुरुआत

वेलिङटन- मोमिनुल हक र तमिम इकबालले  न्युजिल्यान्डको बलिङ आक्रमण सहजै झेल्दा बंगलादेशले वर्षा प्रभावित पहिलो टेस्टको पहिलो दिन तीन विकेटको क्षतिमा १ सय ५४ रन बनाएर खेलिरहेको छ। न्युजिल्यान्डले बलरलाई सघाउने मैदानमा टस जितेपछि भ्रमणकारी टोलीलाई ब्याटिङमा निम्त्याएको थियो। तर वर्षा र न्यून प्रकाशका कारण ४०.२ ओभरको खेल मात्र सम्भव हँुदा बंगलादेश सम्मानजक स्कोरतर्फ लम्केको छ।

पहिलो दिनको खेल समाप्तीमा मोमिनुल अविजित ६४ र सकिब अल हसन ५ रन बनाएर खेलिरहेका छन्। सकिबले ४ रनमा जीवनदान पाएका थिए। १ सय १० बल खेलेका मोमिनुलले १० चौका र १ छक्का प्रहार गरे। यसअघि तमिमले ५० बलमा ११ चौकाको मद्दतमा ५६ रन योगदान दिएका थिए।

‘आजको दिन बंगलादेशको नाममा रह्यो,’ न्युजिल्यान्डका तीव्र गतिका बलर निल वाग्नरले भने, ‘हामीले केही अवसर गुमायांै र आफैंलाई पीडित पार्‍यौं।’

खेलमा पुनरागमन जनाउन शुक्रबार घरेलु बलरले राम्रो लाइनमा बलिङ गर्नुपर्ने वाग्नरको भनाइ थियो।

सुरुबाटै आक्रामक ब्याटिङ गर्दै बंगलादेशको इनिङ उकासेका तमिमले पहिलो दिनको खेलबाट सन्तुष्ट रहेको बताए।

‘यो विकेटमा पहिलो इनिङमा ब्याटिङ गर्न गाह्रो हुने इतिहासले बताउँछ। यहाँ पहिलो इनिङमा राम्रा टोलीले पनि धेरै रन जोड्न सकेका छैनन्। यस्तो स्थितिमा हामीले राम्ररी इनिङ सम्हाल्यांै।’

मौसम विभागको धेरै हावा चल्ने पूर्वअनुमान र हरियो विकेटले सुरुआती दिनमा तीव्र गतिका बलरलाई सघाउने विश्वास गरिएको थियो। तर पहिलो दिनको खेलमा भने त्यस्तो देखिएन।

१ सय २० किलोमिटर प्रति घन्टाको गतिमा बलिङ गरेका ट्रेन्ट बोल्टले हावाका कारण बलमा नियन्त्रण राख्न नसक्दा सुरुआती ओभरमा केही समस्या देखिएको थियो। तेज गतिमा चलेको हावाले बेल्स, खेलाडीका क्याप र सनग्लास उडाएको थियो। तर यस्तो हावा र हरियो पिचले पनि तमिम र मोमिनुललाई रोक्न भने सकेन।

तमिम घरेलु टोलीका ओपनिङ बलर बोल्टमाथि हाबी भएका थिए। बोल्टले सुरुआती तीन ओभरमा २६ रन खर्चेका थिए। त्यसमध्ये २५ रन तमिमको नाममा रह्यो।

तर बोल्टले पहिलो पटक वर्षाले रोकिएर खेल फेरि सुरु भएपछि दोस्रो सेसनको पहिलो ओभरमा तमिमलाई एलबिडब्लुको सिकार बनाए।

वर्षाका कारण खेलाडीले मैदान छाड्नुअघि मोमिनुलले टिम साउथीका बलमा दुई चौका र एक छक्का प्रहार गरेका थिए।

ओपनर इमरुल कायसलाई एक रनमा बोल्टको हातबाट क्याच गराउँदै पवेलियनको बाटो देखाएका साउथीले वर्षाले खेल अवरुद्ध पार्दा ५.३ ओभरमा ६ रन खर्चेर १ विकेट लिएका थिए। खेल समाप्तीमा उनले बिना विकेट थप ३९ रन खर्चेका थिए।

बोल्टले ५३ रन खर्चेर १ विकेट लिए भने मोहम्मदुल्लाहलाई २६ रनमा आउट गरेका वाग्नरले २८ रन खर्चेर १ विकेट लिए।

बंगलादेशविरुद्ध पछिल्ला ११ टेस्टमध्ये ८ जित र ३ बराबरी गरेको न्युजिल्यान्डले भ्रमणकारी टोलीविरुद्ध अहिलेसम्म हार बेहोरेको छैन।

प्रकाशित: २९ पुस २०७३ ०३:४७ शुक्रबार

बंगलादेशको गतिलो सुरुआत