खेल

थ्री स्टारलाई क्षतिपूर्ति दिन समिति

काठमाडौं–समयमा टिम दर्ता नगराएका कारण एएफसी कप प्लेअफ खेल्नबाट बञ्चित भएको नेपाली राष्ट्रिय लिग च्याम्पियन रुस्लान थ्री स्टार क्लबलाई क्षतिपुर्ति पाउन अझै कुर्नुपर्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को मंगलबार वसेको कार्यसमिति वैठकले क्षतिपुर्तिको विषयमा निर्णय गर्ने अपेक्षा गरिए पनि एन्फाले भने तत्काललाई क्षतिपुर्ति दिनका लागि समितिमात्र बनाएको छ ।

मंगलबार सातदोबाटोस्थित मुख्यालयमा बसेको एन्फा बैठकले अध्यक्ष नरेन्द्र श्रेष्ठको संयोजकत्वमा थ्री स्टारलाई क्षतिपुर्ति दिने समिति बनाएको छ । समितिको सदस्यमा एन्फाका वरिष्ठ उपाध्यक्ष मणि कुँवर, महासचिव धिरेन्द्र प्रधान र प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधर सदस्य छन् ।

‘थ्री स्टारलाई उचित क्षतिपुर्ति दिने निर्णय भएको छ । थ्री स्टारले हाम्रो निर्णय आउनुअघि युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद (राखेप) मा निवेदन दिएको छ र राखेपले छानविन समिति समेत बनाइसकेको छ,’ एन्फाका सिइओ तुलाधरले भने, ‘त्यसैले हामीले अहिल्यै क्षतिपुर्तिवारे निर्णय गर्न सकेनौं । अव हामी मन्त्रालय, राखेप र थ्री स्टारसँग समन्वय गरेर उचित क्षतिपुर्ति प्रदान गर्नेछौं । अहिल्यै हामीले एउटा निर्णय गरे मन्त्रालय, राखेप वा थ्री स्टारसँग राज बाझ्न सक्छ । सबैसँग समन्वय गरेर गर्दा त्यस्तो खतरा हुँदैन ।’

आफ्नो मिहिनेतको बलमा पाएको एएफसी कप प्लेअफ खेल्ने अधिकारबाट एन्फाको लापरवाहीका कारण विमुख भएपछि थ्री स्टारले पत्रकार सम्मेलन गरेर ६ करोड रुपैयाँ क्षतिपूर्तिका साथै दोषीमाथि कारबाहीको माग गरेको थियो । क्लबले माग पूरा नभएसम्म फुटबल नखेल्ने घोषणा गरेको थियो ।

भदौमा मंगोलियामा सम्पन्न एएफसी कप प्लेअफ छनोटअन्तर्गत समूह ‘बी’ को च्याम्पियन बन्दै थ्री स्टार अघिल्लो चरणलाई छानिएको थियो । प्रारम्भिक छनोटको आफ्नो समूहमा दुई खेलबाट ४ अंक जोड्दै शीर्ष टोलीका रूपमा थ्री स्टार छानिएको हो । अन्य सहभागी मंगोलियाको इर्चिम एफसी ३ अंकसाथ दोस्रो तथा कम्बोडियाको नागावल्र्ड क्लब १ अंकसाथ पुछारमा समेटिएका थिए । समूहको शीर्ष टोली स्वतः प्लेअफमा छानिने प्रस्ट प्रावधान भए पनि एन्फाको गल्तीका कारण थ्री स्टारको ठाउँमा उपविजेता इर्चिमले प्लेअफ खेल्ने मौका पाएको थियो ।

एएफसीको बारम्बार ताकेताका बावजुद एन्फाले समयसीमाभित्र क्लब तथा टिम दर्ता नगराएका कारण थ्री स्टार प्लेअफ खेल्नबाट वञ्चित भएको थियो ।
यसैगरी एन्फा वैठकले गतवर्ष मृत्यु भएका तत्कालिन कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठ संयोजक रहेको प्राविधिक समितिमा नेतृत्वको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष कुँवरलाई दिएको छ भने केन्द्रिय सदस्य वशन्त अर्यालको ठाउँमा फुटसल समितिमा अर्का केन्द्रिय सदस्य रमेश रायामाझीलाई संयोजक तोकेको छ । एन्फा अन्तर्गत रहेका प्रतियोगिता, युवा, महिला, कानुनलगायतका अन्य स्थायी कमिटीहरुमा पनि रिक्त पद पुर्ति गरिएको सिइओ तुलाधरले नागरिकलाई जानकारी गराए ।

क्षेत्रीय फुटबल विकास समितिको हकमा मध्यमाञ्चल र पश्चिमाञ्चलमा केन्द्रिय कार्यसमितिको वैठकले नेतृत्व परिवर्तन गरेको छ । मध्यमाञ्चल अध्यक्षमा अनिलबन्धु रुपाखेतीको ठाउँमा नेपाल कार्कीलाई नियुक्त गरिएको छ भने पश्चिमाञ्चलमा विश्व पौडेललाई खेम गुरुङले स्थानान्तरण गरेका छन् । दुई साताअघि एएफसीको प्रस्तावमा एसियन कपको तेस्रो चरण खेल्न पाएको अवसर स्विकार्ने अध्यक्षको निर्णयलाई पनि वैठकले अनुमोदन गरेको छ ।

त्यस्तै पोखराको सहारा क्लबलाई एकेडेमी सञ्चालन गरेवापत वार्षिक रुपमा दिइने गरेको ५० हजार रुपैयाँ अनुदानलाई निरन्तरता दिने निर्णय गरेको छ । देशका विभिन्न स्थानबाट अनाथ, असहाय तथा आर्थिक रुपले विपन्न वालवालिकालाई एकेडेमीमा राखेर शिक्षासँगै फुटबल प्रशिक्षण गराएर राम्रो खेलाडी उत्पादनमा निरन्तर लागिरहेको भन्दै एन्फाले अनुदानलाई निरन्तरता दिने निर्णय गरेको बताइएको छ ।
यसैगरी केही दिनअघि मृत्यु भएकी राष्ट्रिय महिला खेलाडी ममता सिकेको परिवारलाई ५० हजार रुपैयाँ दिने निर्णय गरेको तुलाधरले जानकारी गराए ।
 

प्रकाशित: २७ पुस २०७३ ०५:०१ बुधबार

थ्री स्टारलाई क्षतिपूर्ति समिति