खेल

शहीद स्मारक 'ए' डिभिजन लिग: पुलिसलाई थ्री स्टारले हरायो

तस्बिर: एन्फा

सातौं चरणको खेलबाट विदेशी खेलाडी समावेश गरेको विभागीय टोली नेपाल पुलिस क्लवमाथि ललितपुरे टोली थ्री स्टार क्लवले राजधनीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा १–० को रोमाञ्चक जित निकालेको छ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा बिहीवार सम्पन्न खेलमा थ्री स्टारले फरवार्ड मार्टिन कायोडे अजाइले दोस्रो हाफमा गरेको गोल निर्णायक भएको थियो। यसअघि पहिलो हाफमा दुवै टोलीले राम्रा अवसर सिर्जना गरे पनि सदुपयोग गर्न असफल भएका थिए।

आठौं चरणको खेलमा थ्री स्टारले पुलिसबिरुद्ध सुखद् नतिजा निकाल्दा अजाइले ६४ औं मिनेटमा गरेको गोल निर्णायक बनेको हो। अजाईले कप्तान आशोक खवासको पासलाई सदुपयोग गर्न सफल भएका थिए। खवासले पेनाल्टी क्षेत्रमा उपलब्ध गराएको पासलाई अजाई पहिलो प्रयासमा जाली चुमाउन सफल भएका हुन्।

यसअघि खेलको ३७ औं मिनेटमा थ्री स्टारका लाकेन लिम्बूको हेडर प्रयासलाई पुलिसका गोलकिपर शत्रुधन चौधरीले उत्कृष्ट बचाउ गरेका थिए। यस्तै ७४ औं मिनेटमा मोसिसको प्रहारलाई थ्री स्टारका गोलकिपर मोहम्मद ताहाले बचाउँदा पुलिसले बराबरी गर्ने अवसर गुमाएको थियो।

यससँगै थ्री स्टारले आठ खेलमा चार जित, दुई बराबरी र दुई हारको नतिजासहित १४ अंक जोडेको छ। पराजय व्यहोरेको पुलिसको समान खेलमा एक जित, एक बराबरी र ६ हारको नतिजासहित चार अंक छ। लिगमा शुक्रवार विश्राम छ भने शनिबारबाट नवौं चरणका खेल खेल हुनेछन्।

प्रकाशित: ३० चैत्र २०७९ १२:१० बिहीबार

शहीद स्मारक 'ए' डिभिजन लिग