खेल

अस्ट्रेलिया क्लिन स्विप नजिक

सिड्नी- तेस्रो तथा अन्तिम टेस्ट सकिन एक दिन बाँकी रहँदा पाकिस्तानविरुद्धको टेस्ट शृंखलामा क्लिन स्विपबाट अस्ट्रेलिया ९ विकेटले टाढा रहँदा भ्र्रमणकारी टोलीले भने जितका लागि ४ सय १० रनको पहाड चढनु पर्नेछ।

चौथो दिन शुक्रबारको खेल समाप्तीमा भ्रमणकारी टोली ५५–१ को अवस्थामा छ। शंृखलामा पाकिस्तानका सर्वाधिक रन जोड्ने अजहर अली ११ र यासिर शाह ३ रनमा अविजित छन्। सर्जिल खानलाई स्पिनर नाथन लियोनले ४० रनमा डेभिड वार्नरको हातबाट क्याच गराएका थिए। ३८ बल खेलेका खानले ६ चौका र १ छक्का प्रहार गरेका थिए।

चौथो दिनको खेल सकिन १६ ओभर बाँकी रहँदा अस्ट्रेलियाली कप्तान स्टिभ स्मिथले २४१–२ को अवस्थामा दोस्रो इनिङ समाप्तीको घोषणा गर्दै भ्रमणकारी टोलीलाई जितका लागि ४ सय ६५ रनको चुनौतीपूर्ण लक्ष्य दिएका थिए।

अस्ट्रेलियाका उस्मान ख्वाजा ९८ बलमा ५ चौका र १ छक्कासहित ७९ रन तथा पिटर ह्यान्डसकम्ब २५ बलमा ५ चौकाको मद्दतमा ४० रनमा अविजित रहे।

स्मिथले यासिर शाहको बलमा विकेटकिपर सरफराज अहमदको हातबाट क्याच हुनपूर्व ४३ बलमा ८ चौका र १ छक्काको मद्दतमा ५९ रन बनाएका थिए। उनले शंृखलामा ११०.२५ को औसतमा ४ सय ४१ रन प्रहार गरे।

डेभिड वार्नरले टेस्ट क्रिक्रेटमा दोस्रो छिटो अर्धशतक पूरा गर्दै उत्कृष्ट सुरुआत दिलाएपछि अस्ट्रेलियाले इनिङ समाप्तिको घोषणा गरेको थियो। टेस्ट क्रिक्रेटमा दोस्रो छिटो अर्धशतक प्रहार गर्ने क्रममा वार्नरले २३ बलमा ७ चौका र तीन छक्का प्रहाार गर्दै ५० रन पुर्‍याएका थिए। टेस्ट क्रिक्रेटमा छिटो अर्धशतक प्रहार गर्ने कीर्तिमान पाकिस्तानका कप्तान मिसबाह उल हकको नाममा छ। उनले सन् २०१४ मा अबुधाबीमा अस्ट्रेलियाविरुद्ध २१ बलमा अर्धशतक पूरा गरेका थिए।

अक्रामक ब्याटिङ गरेका वार्नरले एकै ओभरमा २० रन प्रहार गर्ने क्रममा इनिङको चौथो ओभरमा लेग स्पिनर यासिर शाहलाई दुई छक्का र दुई चौका प्रहार गरेका थिए। उनले इनिङको सातौ ओभरमा इमरान खानलाई एकै ओभरमा लगातार ४ चौका प्रहार गरेका थिए। तर २७ बलमा ५५ रन बनाएका वार्नरलाई वाहब रियाजले बोल्ड गरेका थिए।

पाकिस्तानले वर्षाले प्रभावित पहिलो सेसनमा बाँकी दुई विकेट गुमाएको थियो। युनिस खान १ सय ७५ रनमा अविजित रहे। ३ सय ३४ बल खेलेका उनले १७ चौका र ३ छक्का प्रहार गरेका थिए।  मिचेल स्टार्कको बलमा विकेटकिपर म्याथ्यु वेडले क्याच छुटाउदा युनिसले १ सय ४१ रनमा जीवनदान पाएका थिए। बिहीबार पेट दुखेका कारण बीचमै खेल छोडेका वेड शुक्रबार पुन टोलीमा फर्किएका थिए।

यासिर शाह १० रन जोड्दै जोस हाज्लेउडको बलमा स्मिथबाट क्याच भए भने त्यसको दुई बलपछि इमरान खान खाता खोल्न नपाउँदै पवेलियन फर्किए। इमरानलाई पनि हाज्लेउडले बोल्ड गरेका थिए। यासिर यस शंृखलामा स्मिथको हातबाट क्याच भएको यो नवौं पटक हो।

‘देश र टोलीलाई आवस्यकता पर्दा उत्कृष्ट प्रदर्शन गर्न मलाई मनपर्छ। यस पटक आवस्यकता परेका बेला मेरो प्रदर्शन राम्रो भए पनि त्यो केही ढिला भयो। तर म पाकिस्तानी भएकोमा गर्व गर्छु,’ युनिसले भने।

भ्रमणकारी टोली ३ सय १५ रनमा अलआउट हुदै पहिलो इनिङमा २ सय २३ रनले पछि रहे पनि स्मिथले फलोअन लगाएनन्।

घरेलु टोलीका हाज्लेउडले ५५ रन खर्चेर ४ तथा स्पिनर लियोनले १ सय १५ रन खर्चेर ३ विकेट लिएका थिए।

प्रकाशित: २३ पुस २०७३ ०३:१२ शनिबार

अस्ट्रेलिया क्लिन स्विप नजिक