खेल

डिपिएल टोलीका कप्तान र मालिक सार्वजनिक

काठमाडौं- धनगढी क्रिकेट एकेडेमीले चैत ५ गते सुरु हुने सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल)का फ्रेन्चाइजी टोलीसहित कप्तान र मालिकको नाम बिहीबार सार्वजनिक गरेको छ। एसपिए कप र धनगढी क्रिकेट लिग मर्ज गरेर बनाइएको धनगढी प्रिमियर लिगमा सिवाइसी अत्तरिया, विराटनगर किङ्स, काठमाडौं गोल्डेन्स, रूपन्देही च्यालेन्जर्स, कञ्चनपुर आइकोनिक र टिम चौराहा धनगढी गरी ६ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

सिर्जनशील युवा क्लबको स्वामित्व रहेको सिवाइसी अत्तरियाको कप्तानी ज्ञानेन्द्र मल्लले गर्नेछन् भने विराटनगर किङ्सको कप्तान शरद भेषावकर छन्। विराटनगर किङ्समा महालक्ष्मी केबलको स्वामित्व छ। स्पिनर वसन्त रेग्मी कप्तान रहेको काठमाडौं गोल्डेन्सको स्वामित्व गोल्डेनगेट कलेजको छ। एसआर ग्रुपको स्वामित्व रहेको रूपन्देही च्यालेन्जर्सको कप्तानी शक्ति गौचनले गर्नेछन् भने विनोद भण्डारी कप्तान रहेको कञ्चनपुर आइकोनिकको स्वामित्व पिताम्बर जोशीले लिएका छन्। राजकुमारको स्वामित्व रहेको टिम चौराहा धनगढीमा पारस खड्का कप्तान छन्।

राष्ट्रिय टोलीका समेत कप्तान रहेका पारसले यस प्रतियोगिताले खेल जगतमा उदाहरण प्रस्तुत गरेको बताए। उनले ठूलो रंगशालाभन्दा खेल्नलायक मैदान भए खेलाडी उत्पादनमा सहयोग पुग्ने भन्दै निजी क्षेत्रबाट अझै उल्लेख्य लगानी हुन नसकेेको बताए।

‘घरेलु क्रिकेटको संरचना कमजोर रहेको अहिलेको परिस्थितिमा डिपिएल जस्तो प्रतियोगिता अन्य क्षेत्रमा पनि हुने हो भने क्रिकेट विकासमा धेरै सहयोग पुग्ने थियो,’ पारसले भने, ‘यी ६ टोलीमा जसले लगानी गर्नुभएको छ, उहाँहरू ठूलो व्यवसायी होइन। क्रिकेटप्रति लगावका कारण यहाँ हुनुहुन्छ। निजी क्षेत्रबाट जसरी लगानी हुनुपर्थ्यो, अझै हुन सकेको छैन।’

६ टोलीका कप्तानको टुंगो ‘लक्की ड्र’बाट गरिएको आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले जानकारी गराए। सबै कप्तानले १ लाख ५० हजार पारिश्रमिक पाउनेछन्। एउटा टोलीमा १५ खेलाडी, १ प्रशिक्षक र १ व्यवस्थापक हुनेछन्। टोलीले बाँकी खेलाडी अक्सन (लिलाम बढाबढ)बाट लिनेछन्। अक्सन शनिबार हुनेछ।

खेलाडी अक्सनमा एउटा टोलीले बढीमा बाँकी १४ खेलाडी लिन ७ लाख खर्च गर्न पाउनेछन्। प्रत्येक टोलीले राष्ट्रिय टिमबाट नखेलेका कम्तीमा ४ खेलाडी राख्नु पर्नेछ। टोलीले बढीमा ३ जनामात्र राष्ट्रिय खेलाडी समावेश गर्न पाउनेछन्। यु–१९ विश्वकप खेलेका खेलाडी र राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी भने बढीमा ७ जना समावेश गर्न पाइनेछ। अक्सनमा सहभागी हुन २ सय १७ खेलाडीले नाम दर्ता गराएका छन्। खेलाडीलाई मंसिर २९ गतेबाट अनलाइन नाम दर्ता गर्ने व्यवस्था गरिएको थियो।

खेलाडीलाई ४ श्रेणीमा विभाजन गरी त्यही अनुसार अक्सनका लागि न्युनतम रकम तोकिएको छ। कम्तीमा १५ अन्तर्राष्ट्रिय खेल खेलेका राष्ट्रिय खेलाडीका लागि न्यूनतम ५० हजार रुपैयाँबाट अक्सन सुरु हुनेछ भने यु–१९ विश्वकप खेलेका वा राष्ट्रिय टोलीबाट १५ भन्दा कम खेल खेलेका खेलाडीको न्यूनतम पारिश्रमिक ३० हजार हुनेछ। कुनै पनि उमेर समूहबाट अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडीको २५ हजार र अहिलेसम्म राष्ट्रिय टोलीमा नपरेका खेलाडीको रकम २० हजार रुपैयाँ तोकिएको छ। अक्सनमा खेलाडीको मूल्य न्यूनतम रकमबाट बढाबढ हुनेछ। बढाबढमा कप्तानभन्दा बढी रकममा अन्य खेलाडी किन्न पाइनेछैन।

प्रतियोगिता ट्वान्टी–२० स्वरूपमा खेलाइनेछ। लिग चरण राउन्ड रोबिनका आधारमा हुनेछ। शीर्ष ४ टोलीले प्लेअफ खेल्नेछन्। त्यसमध्ये पहिलो र दोस्रो स्थानमा रहने टोलीबीच हुने खेलको विजेता सिधै फाइनल पुग्नेछ। पराजित टोलीले तेस्रो र चौथो स्थानको विजेतासँग फाइनल पुग्न प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगिता विजेताले १५ लाख तथा उपविजेताले ७ लाख रुपैयाँ नगद पुरस्कार जित्नेछन्। प्रत्येक खेलको म्यान अफ दि म्याचले १० हजार रुपैयाँ नगद जित्नेछन् भने म्यान अफ दि सिरिजले ‘अपाचे आरटिआर २००’ मोटरसाइकल पुरस्कार पाउनेछ। जेबी अटोमोबाइल्सका झपड बोहराले यसै कार्यक्रममा म्यान अफ दि सिरिजका लागि आफूले अपाचे आरटिआर २०० मोटरसाइकल प्रायोजन गरेको घोषणा गरेका थिए।

रािष्ट्रय टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले क्रिकेट विकासमा विवाद बाधक बनेको भन्दै क्रिकेटको विवाद चाँडै अन्त्य हुनुपर्ने बताए। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले गठन गरेको तदर्थ समितिका अध्यक्षसमेत रहेका काठमाडौं गोल्डेन्सका मालिक रमेश सिलवालले यो प्रतियोगिताले निरन्तरता पाउनुपर्ने भन्दै नेपाल क्रिकेट संघमा भिजन भएको व्यक्तिलाई अवसर दिनुपर्ने बताए।

प्रकाशित: २२ पुस २०७३ ०४:५४ शुक्रबार

डिपिएल टोलीका कप्तान मालिक सार्वजनिक