खेल

भोलिदेखि ढोरपाटन भलिबल

काठमाडौं- ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक ढोरपाटन क्लबका अध्यक्ष मनवीर छन्त्यालले बिहीबार जानकारी दिएका छन्। पुस २३ देखि माघ ८ गतेसम्म गोंगबुस्थित नयाँ बसपार्कमा हुने प्रतियोगिता डबल लिगका आधारमा खेलाइनेछ। प्रतियोगितामा १० टोलीको सहभागिता हुनेछ। साबिक विजेता एपिएफ क्लब, न्यु डायमन्ड एकेडेमी, नेपाल पुलिस क्लब, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ, त्रिभुवन आर्मी क्लब, चण्डेश्वरी युवा क्लब, आयोजक ढोरपाटन स्पोर्ट्स क्लब, विजेश्वरी ज्ञान मन्दिर, न्यु डायमन्ड स्पोर्टस् क्लब र रिड मोडल कलेज सहभागी छन्।

नेपाल भलिबल संघको सचिवसमेत रहेका छन्त्यालले राजधानीमा आयोजित पत्रकार सम्मेलनमा १२ औं संस्करणको सबै तयारी पूरा भए पनि मैदान सम्याउने काम शुक्रबारसम्म सकिने बताए। जगदम्बा मोटर्सका बजार अधिकृत विक्रम पौडेलले अध्यक्ष छन्त्याललाई पाँच थान स्कुटरको साँचो हस्तान्तरण गरेका थिए।

प्रतियोगिताका विजेताले ३ लाख २० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन्। उपविजेताले १ लाख ६० हजार रुपैयाँ र तेस्रो हुनेले ७५ हजार रुपैयाँ नगद पुरस्कार हात पार्नेछन्। चौथोदेखि सातौं स्थानसम्मले क्रमशः ४५, ३५, २५ र १५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्। प्रतियोगिताका उत्कृष्ट खेलाडी, उदीयमान खेलाडी,  वर्ष खेलाडी, प्लेयर अफ दि सिरिजले १/१ थान टिभिएस स्कुटर पाउनेछन्। प्रत्येक १२ वर्षका बीच खेलाडीको प्रदर्शनका आधारमा एक जना खेलाडीलाई ‘ग्रेट एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरिने क्लबका महासचिव देवेन्द्र घर्तीमगरले बताए। सम्मानित हुनेलाई अवार्डसहित १ थान स्कुटी प्रदान गरिनेछ।

उत्कृष्ट, स्पाइकर, डिफेन्स, लिफ्टर, सर्भिस, ब्लकर, उत्कृष्ट क्विकर र उत्कृष्ट प्रशिक्षकले जनही ५/५ हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन्।

प्रकाशित: २२ पुस २०७३ ०४:५३ शुक्रबार

भोलिदेखि ढोरपाटन भलिबल