खेल

पाकिस्तानको गतिलो जवाफ

सिड्नी- पिटर ह्यान्सकम्ब अस्ट्रेलियाको पहिलो इनिङमा शतक प्रहार गर्ने तेस्रो खेलाडी बनेको दिन मंगलबार अजहर अली र युनिस खानले तेस्रो टेस्टमा पाकिस्तानका तर्फबाट गतिलो जवाफ पेश गरेका छन्।

ह्यान्सकम्बले सतक बनाएपछि चिया सत्रअघि अस्ट्रेलियाली कप्तान स्टिभ स्मिथले ५३८–८ को अवस्थामा पहिलो इनिङ समाप्तीको घोषणा गरेका थिए। यसअघि ब्रिसबेन र मेलबर्न टेस्टमा पराजित भएसँगै शंृखला गुमाइसकेको भ्रमणकारी टोलीले सिड्नीमा जारी तेस्रो टेस्टमा भने राम्रो सुरुआत गरेको छ।

पाकिस्तानले ६ रन बनाउँदा 'डेब्यु' टेस्ट खेलिरहेका सर्जिल खान र बाबर आजमलाई गुमाएको थियो। दुवैलाई जोस हाज्लेउडले एकै ओभरमा पवेलियनको बाटो देखाएका थिए।

तर लयमा रहेका अजहर र १ सय १४ औं टेस्ट खेलिरहेका भेट्रान खेलाडी युनिसले तेस्रो विकेटका लागि शतकीय साझेदारी गरेपछि दोस्रो दिनको खेल सकिँदा भ्रमणकारी टोली २ विकेट क्षतिमा १ सय २६ रन बनाएर खेलिरहेको छ।

गत साता सम्पन्न मेलबर्न टेस्टमा अविजित २ सय ५ रन जोडेका अजहर ५८ रनमा अविजित छन् भने उनलाई ३९ वर्र्षे युनिसले ६४ रन बनाएर साथ दिइरहेका छन्। भ्रमणकारी टोली अस्ट्रेलियाभन्दा अझै ४ सय १२ रन पछाडि छ। १ सय २३ बल खेलेका अजहरले ४ चौका प्रहार गरेका छन् भने १ सय १२ बल खेलेका युनिसले ७ चौका प्रहार गरेका छन्।

‘६ रनमा सुरुआती २ विकेट गुमाउनु भनेको गम्भीर समस्यामा पर्नु हो। तर युनिस र अजहरले ड्रेसिङ रुमका अन्य खेलाडीका लागि समेत प्रेरणाप्रद सुदृढ प्रदर्शन गरे। स्तरीय खेलाडीले गर्ने प्रदर्शनको यो एउटा गतिलो उदाहरण हो,’ पाकिस्तानी प्रशिक्षक मिकी आर्थरले भने।

डेविड वार्नरले नाथन लियोनको बलमा क्याच छोड्दा अजहरले ५१ रनमा जीवनदान पाएका थिए।

सन् १९८४ मा मोहसिन खानले ३ सय ९० बनाउँदै अस्ट्रेलियाविरुद्ध शंृखलामा सर्वाधिक रन बनाउने पाकिस्तानी खेलाडीका रुपमा कायम गरेको कीर्तिमानभन्दा अजहर ८ रनले टाढा छन्। उनले जारी शंृखलामा ३ सय ८२ रन जोडिसकेका छन्। यता युनिस खानले भने अस्ट्रेलियाविरुद्ध व्यक्तिगत १ हजार टेस्ट रन पूरा गरेका छन्।

ह्यान्सकम्बले ४ टेस्टमा दोस्रो पटक शतक प्रहार गर्दा डेविड वार्नरको (१ सय १३) र म्याथ्यु रेनशको (१ सय ८४) रनमा अस्ट्रेलियाले विशाल योगफल तयार पार्दै भ्रमणकारी टोलीलाई दबाबमा राखेको थियो।

१ सय १० रन जोडेका २५ वर्षे ह्यान्सकम्ब बहाव रियाजको बलमा हिट विकेट हुँदै पवेलियन फर्किएका थिए।

रेनशसँगै दक्षिण अफ्रिकाविरुद्धको होबार्ट टेस्टमा अस्ट्रेलियाली टोलीमा समावेश ह्यान्सकम्बले क्रिजमा ३ सय १९ मिनेट बिताउँदै २ सय ५ बलमा ९ चौका प्रहार गरेका थिए।

चार टेस्टमा आफ्नो पहिलो शतक प्रहार गरेका २० वर्षे रेनशले इमरान खानको बलमा आउट हुनुअघि २ सय ९३ बल खेल्दै २० चौकाको मद्दतमा १ सय ८४ रन बनाए। उनी ४ सय १३ मिनेट क्रिजमा टिकेका थिए।

टेस्टमा डेब्यु गरेका हिल्टन कार्टराइट छैटौं नम्बरमा ब्याटिङ गर्दै सर्वाधिक रन बनाउने अस्ट्रेलियाली खेलाडी बनेका छन्। इमरान खानको बलमा बोल्ड हुनपूर्व उनले ९७ बलमा ३७ रन बनाए।

निक म्याडिसनको स्थानमा टोलीमा समावेश गरिएका उनले गत नोभेम्बरमा पर्थमा मिचेल मार्सले दक्षिण अफ्रिकाविरुद्ध छैटौं नम्बरमा ब्याटिङ गर्दै जोडेको २६ रनको कीर्तिमान तोडेका हुन्।

त्यस्तै म्याथ्यु वेडले २९ र मिचेल स्टार्कले १६ रन जोडे।

हाज्लेउडले ५ बलको अन्तरालमा दुई विकेट लिएका थिए। उनले सर्जिल(४) लाई रेनशबाट क्याच गराए भने बाबरलाई खाता खोल्न नदिई एलबिडब्लु धरापमा पारे। 

प्रकाशित: २१ पुस २०७३ ०४:५३ बिहीबार

पाकिस्तानको गतिलो जवाफ