खेल

दुई विभागसहित सुदूरपश्चिम र मधेश सेमिफाइनलमा

विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस क्लबसहित सुदूरपश्चिम र मधेश प्रदेश गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्।

विराटनगरमा जारी प्रतियोगिताअन्तर्गत शनिबार लिग चरणको समीकरण पूरा हुँदा दुई विभागसहित सुदूर र मधेश सेमिफाइनलमा स्थान बनाएका हुन्। लिगमा अंकतालिकाको आधारमा समूह ‘ए’ तर्फ आर्मी पहिलो र दोस्रो स्थानमा पुलिस रहेको छ। समूह ‘बी’ तर्फ भने पहिलो सुदूरपश्चिम र दोस्रो मधेश प्रदेश रहँदै अन्तिम चारको यात्रा तय गरे।

आइतबार हुने सेमिफाइनलको पहिलो खेल आर्मी र मधेश प्रदेश तथा दोस्रो खेल सुदूरपश्चिम र पुलिस क्लबबीच हुनेछ। शनिबारको पहिलो खेलमा सुदूरपश्चिमले मधेश प्रदेशलाई ५–३ गोलमा हरायो। सुदूरपश्चिमका दीपकराज जोशीले दुई गोल, धीरेन्द्रबहादुर, शेरबहादुर चन्द र महेश नेपालीले समान १/१ गोल गरे।

मधेश प्रदेशका विशला क्षेत्री, रूपक दाहाल र रूपेश राईले समान १/१ गोल गरे। म्यान अफ दी म्याच सुदूरपश्चिमका महेश नेपाली भए। अर्को खेलमा गण्डकी र कर्णाली प्रदेश २–२ गोलको बराबरी खेल्दै लिग चरणबाट बहिरिए। गण्डकीका संगम जेटी र असिम बाहेकले गोल गरे भने म्यान अफ दी म्याच कर्णालीका जीवन राउतको नामा दुई गोल रह्यो।

शुक्रबार राती भएको खेलमा साबिक विजेता त्रिभुवन आर्मीले पूर्वविजेता गण्डकी प्रदेशलाई ८–१ को फराकिलो गोल अन्तरमा पराजित ग¥यो। आर्मीका रोमन रानाले तीन, काशीराजले दुई, देवसिंह धामी र प्रदीप राजवंशीले समान १/१ गोल गरे। गण्डकीका असिम बाहेकले एक गोल फर्काए। म्यान अफ द म्याच आर्मीका नितिश न्यौपाने भए। 

प्रकाशित: २६ चैत्र २०७९ ००:५८ आइतबार

विराटनगरमा जारी प्रतियोगिता