खेल

हक्की प्रतियोगिता: आर्मी, पुलिस, सुदूरपश्चिम र मधेस प्रदेश सेमिफाइनलमा

त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस, सुदूरपश्चिम र मधेस प्रदेश गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्।

विराटनगरमा भइरहेको प्रतियोगिता अन्तर्गत शनिबार लिग चरणका खेलको सबै समीकरण पूरा भएको छ। लिग खेलको अंक तालिकाका आधारमा समूह ‘ए’ तर्फ आर्मी पहिलो र दोस्रो स्थानमा पुलिस रहेको छ।

समूह ‘बि’ तर्फ पहिलो सुदूरपश्चिम र दोस्रो मधेस प्रदेश रहेका छन्। आइतबार हुने सेमिफाइनलको पहिलो खेल आर्मी र मधेस प्रदेश तथा दोस्रो खेल सुदूरपश्चिम र पुलिस क्लबबिच हुनेछ।

शनिबारको पहिलो खेलमा सुदूरपश्चिमले मधेस प्रदेशलाई ५–३ गोलमा हरायो। सुदूरपश्चिमका दीपकराज जोशीले २ गोल, धिरेन्द्रबहादुर, शेरबहादुर चन्द र महेश नेपालीले समान १–१ गोल गरे। मधेस प्रदेशका विशला क्षेत्री, रुपक दाहाल र रुपेश राईले समान १–१ गोल गरे। म्यान अफ द म्याच सुदूरपश्चिमका महेश नेपाली भए।

त्यस्तै, अर्को खेलमा गण्डकी र कर्णाली प्रदेशले २–२ गोलको बराबरी खेल्दै लिग चरणबाट बाहिरिए। गण्डकीका संगम जेटी र असिम बाहेकले गोल गरे भने म्यान अफ द म्याच कर्णालीका जीवन राउतले २ गोल गरे।

त्यस्तै, शुक्रबार राति भएको खेलमा साबिक विजेता त्रिभुवन आर्मीले पूर्व विजेता गण्डकी प्रदेशलाई ८–१ को फराकिलो गोल संख्यामा पराजित गर्‍यो। आर्मीका रोमन रानाले ३, काशीराजले २, देवसिंह धामी र प्रदीप राजवंशीले समान १–१ गोल गरे। गण्डकीका असिम बाहेकले एक गोल फर्काए। म्यान अफ द म्याच आर्मीका नितिश न्यौपाने भए।

प्रकाशित: २५ चैत्र २०७९ ०९:५४ शनिबार