खेल

नेपालको प्रतिद्वन्द्वी भारत

काठमाडौं- नेपालले महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा सोमबार साविक विजेता भारतसँग खेल्ने भएको छ। भारत र बंगलादेशले शनिबार समुह 'बी' को अन्तिम खेलमा गोलरहित बराबरी खेले। बराबरी नतिजाले भारत समुह उपविजेता र बंगलादेशल समुह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरे। नेपाल समुह 'बी' को विजेता बन्दै सेमिफाइनलमा पुगिसकेको छ। नेपालले साफ महिला फुटबलमा पहिलो पल्ट भारतसँग सेमिफाइनलमा खेल्ने भएको हो। यसअघिका तीन संस्करणमा नेपाल र भारतले फाइनलमा प्रतिस्पर्धा गरेका छन।

भारतको सिलगुढीमा भैरहेको प्रतियोगिताको चौथो संस्करणमा नेपालले सुरुआतदेखि नै उत्साहजनक खेल खेल्दै आएको छ। नेपाली टोलीले सुरुआती दुई खेल सहजै जितेपछि श्रीलंकाविरुद्धको खेललाई केही रणनीतिक रुपमा लिएको थियो। महिला राष्ट्रिय टोलीका प्रशिक्षक कुमार थापाले टोलीका सबै २० सदस्यलाई प्रतियोगितामा अवसर दिइसकेका छन्। श्रीलंकाविरुद्ध १–० ले जित हासिल गरेको खेलमा उनले टोलीकी कान्छी सदस्य गोलरक्षक अन्जना रानामगरसहित अन्य नयाँ खेलाडीलाई अवसर दिएका थिए।

खेलको अन्त्यतिर अग्रता लिने अवसर पाए पनि प्रशिक्षक थापाले योजना अनुसार टोलीले राम्रो खेल्ने कोसिस गरेको बताएका थिए।

साफ च्याम्पियनसिप फुटबलमा नेपाल र भारत फाइनलका नियमित प्रतिद्वन्द्वी हुन्। तर फाइनलमा तिनै पटक नेपाल पराजित भएको छ।

भारत जानुअघि राष्ट्रिय टोलीका प्रशिक्षक थापाले विगतभन्दा राम्रो नतिजा निकाल्ने बताएका थिए। पहिलोपल्ट राष्ट्रिय महिला टोलीको प्रशिक्षणबाट प्रशिक्षक करियर सुरुआत गरेका हुन् थापामाथि फाइनल जित्न मानसिक दबाब छ। समूह चरणमा उत्कृष्ट खेल्ने तर फाइनलमा सधैं असफल हुने क्रम रोक्नु थापाका लागि चुनौतीपूर्ण छ। भारतमा हुने प्रतियोगिताको तयारी क्रममा प्रशिक्षक थापाले नेपाली टोलीलाई मानसिक रुपमा तयार पार्न आवश्यक रहेको बताएका थिए। उनले भनेका थिए, 'हामी हरेक कुरामा बलिया छौं। तर मानसिक रुपमा हामी बलियो हुनु आवश्यक छ।'

प्रतियोगिताको सुरुमै नेपालले भुटानलाई ८–० ले हराउँदै उत्कृष्ट सुरुआत गरेको थियो। नेपालले त्यही क्रमलाई निरन्तरता दिँदै माल्दिभ्सलाई ९–० ले हरायो। श्रीलंकालाई १–० ले हराएपछि नेपाल समूह 'ए'को विजेता बन्दै सेमिफाइनल पुगेको हो। नेपालसहित माल्दिभ्स अन्तिम चारमा पुगिसकेको छ।

जारी प्रतियोगितामा साबित्रा भण्डारी उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी हुन्। उनले व्यक्तिगत ११ गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा अग्रता लिएकी छन्। र साबित्राले एउटै प्रतियोगितामा व्यक्तिगत रुपमा सर्वाधिक गोल गर्ने नेपाली खेलाडीको कीर्तिमान पनि बनाइसकेकी छन्। साफ महिला फुटबलमा भारतकी नगानगोम बालादेवीले तेस्रो संस्करणमा व्यक्तिगत १६ गोल गरेर सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएकी छन्। त्यस्तै साबित्राअघि साफ च्याम्पियनसिपमा पूर्वकप्तान जमुना गुरुङले ८ गोल गरेकी थिइन्। अहिलेसम्म यो नै नेपाली खेलाडीले एउटै प्रतियोगितामा गरेको सर्वाधिक गोलको कीर्तिमान थियो।

प्रकाशित: १७ पुस २०७३ ०४:१७ आइतबार

नेपालको प्रतिद्वन्द्वी भारत