खेल

श्रीलंकाविरुद्ध नयाँ खेलाडी मैदानमा

काठमाडौं- नेपाली महिला राष्ट्रिय टोलीका प्रशिक्षक कुमार थापाले शुक्रबार श्रीलंका विरुद्धको खेलमा नयाँ खेलाडीलाई अवसर दिने बताएका छन्। भारतमा भैरहेको साफ च्याम्पियनसिपअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा श्रीलंकासँग खेल्दैछ। बराबरी नतिजा निकालेमात्र पनि नेपालले प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाउनेछ। प्रशिक्षक थापाले जारी प्रतियोगितामा खेलाडीले अपेक्षा गरेभन्दा राम्रो खेलिरहेको बताए। उनले भने, 'खुसी छु। मैले अपेक्षा गरेभन्दा राम्रो खेलिरहेका छन् खेलाडीले। सावित्राको प्रदर्शन अझ सानदार छ। हामी उपाधि जित्ने लक्ष्यसहित आएका हौं। शुक्रबारसम्म टोलीका २० खेलाडीले खेल्ने मौका पाउनेछन्।'

शुक्रबार अन्जना रानाले गोलरक्षकका रुपमा खेल्ने प्रशिक्षक थापाले बताए। चोटका कारण माल्दिभ्सविरुद्ध खेल गुमाएकी मनमाया लिम्बुले शुक्रबार खेल्ने थापाले बताए। नेपाली टोली कप्तान रेनुका नगरकोटीले समूह चरणमा सहज जित हासिल गरे पनि उपाधि जित्न बलियो टोलीलाई हराउनु पर्ने बताइन्। उनले भनिन्, 'अहिलेसम्म सहज भैरहेको छ। तर उपाधि जित्न स्तरीय टोलीलाई हराउनु पर्छ। टिममा हरेक खेलाडीको मनोबल र आत्मविश्वास बढाउन जरुरी छ। सावित्राले मात्र होइन सबै खेलाडीले उत्कृष्ट खेल खेल्नु पर्छ।'

साफ च्याम्पियनसिप फुटबलमा नेपाल लगातार तीन पटक उपविजेता भएर फर्किएको छ। भारतको सिलगुढीमा भैरहेको चौथो संस्करणमा नेपालले समूह 'ए' को पहिलो खेलमा भुटानलाई उद्घाटन खेलमा ८–० ले हराएको थियो। बुधबार माल्दिभ्सलाई नेपालले ९–० ले हराउँदै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको थियो। यसैगरी श्रीलंका समूह चरणको पहिलो खेलमा माल्दिभ्ससँग ५–२ ले पराजित भएको थियो। तर अर्को खेलमा श्रीलंकाले भुटानलाई २–० ले हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गरेको थियो।

प्रकाशित: १५ पुस २०७३ ०३:०१ शुक्रबार

श्रीलंकाविरुद्ध खेलाडी मैदानमा