खेल

कराते उठाउन के गर्ने ?

विराटनगर-भारतको सिलोङ र गुवाहाटीमा गतवर्ष सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग)मा कराते समावेश नगर्दा नेपाली खेलकुद स्तब्ध भएको थियो। मार्शल आर्ट दक्षिण एसियाली स्तरमा नेपालको पदक सम्भावना भएको खेलमा गनिन्छ। साग इतिहासमा नेपाली करातेले आफूलाई प्रमाणित गरिसकेको छ। त्यसैले भारतले सागमा कराते समावेश गर्न नमान्दा नेपाली खेलकुदमा सन्नाटा छाउनु स्वाभाविक थियो।

काठमाडौंमा १९९९ मा सम्पन्न आठौं दक्षिण एसियाली महासंघीय खेलकुद (तत्कालीन साफ हालको साग)बाट कराते र तेक्वान्दोलाई क्षेत्रीय खेलकुदको सबभन्दा ठूलो मेलामा समावेश गरिएको थियो । साफको उक्त संस्करणमा कराते र तेक्वान्दोले समान १४÷१४ स्वर्ण पदक जित्दा नेपाल दोस्रो भएको थियो । दक्षिण एसियाली खेलकुदको इतिहासमा नेपालको त्यो अहिलेसम्मकै सबभन्दा ठूलो उपलब्धी हो । करातेले प्रतियोगितामा समावेश १६ इभेन्ट्समा १४ स्वर्ण, १ रजत र १ कांस्य पदक जितेको थियो । नेपालले जितेका कुल ३१ स्वर्ण पदकमा १४ करातेका थिए । दक्षिण एसियाली खेलकुदमा नेपाली करातेको प्रभाव त्यसपछि कमजोर भए पनि शून्य भने भएन । २००४ मा पाकिस्तानको इस्लामाबादमा भएको नवौं संस्करणमा नेपालले ७ स्वर्ण जित्दा कराते आठौं साफका स्वर्णधारी दीपक श्रेष्ठले जितेको एक स्वर्ण पदकमा खुम्चियो । त्यसको दुई वर्षपछि श्रीलंकामा भएको १० आंै संस्करणमा नेपालका ६ स्वर्ण पदकमा दुई करातेका थिए । यसैगरी २०१० मा बंगलादेशमा भएको ढाका सागमा नेपालले ८ स्वर्ण पदक जित्दा करातेले सर्वाधिक ३ स्वर्ण पदक जितेको थियो ।

संयोग, भारतले १२ औं सागमा कराते समावेश गर्न मानेन । नेपालका लागि अन्तर्राष्ट्रिय स्तरमा सबभन्दा सफल तेक्वान्दो स्वर्णविहिन भएर फर्किँदा कराते नहुनुले साग पदक तालिकामा नेपाललाई नराम्रो धक्का लाग्यो । फुटबलमा दूर्लभ स्वर्ण पदक जितेको नेपालका लागि जुडोमा फुपुल्हामु खत्री र उसुमा निमा घर्तीमगरलेमात्र स्वर्ण पदक जित्न सके । यसले करातेकर्मीलाई बहानाबाजीको राम्रो मौका दियो, ‘कराते भएको भए हामी देशको नाम राख्थ्यौं ।’

१३ औं सागका लागि नेपालले दुई वर्षपछि दक्षिण एसियाका सबै देशलाई निम्त्याउने घोषणा गरेको छ । नेपालमै हुने भएकाले आउँदो सागमा कराते पर्ने पक्का छ । आयोजकले दुई खेल समावेश गर्न पाउने सुविधा प्रयोग गर्दा नेपालले कराते बिर्सन सक्ने छैन । तर के नेपाली कराते दुई वर्षपछि फेरि दक्षिण एसियाको खेलकुम्भमा फर्कँदा पदक जित्न तयार छ त ? नेपालले घरेलु भूमिको पुरानो गौरवमय इतिहास निरन्तरता दिन सक्ला ? आठौं र नवौं संस्करणमा लगातार स्वर्ण पदक जितेका दीपक श्रेष्ठ भन्छन्, ‘यथास्थितिमा सम्भव छैन । आजैबाट रफ्तारमा तयारी गरे आश गर्न सकिन्छ ।’

अन्तर्राष्ट्रिय करातेमा धेरै परिवर्तन आइसकेकाले नेपालले पनि परम्परागत ढर्रा छाडेर प्रविधिसँग एकाकार हुनुपर्ने उनको बुझाइ छ । खेलाडीलाई नियमित प्रशिक्षण तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराइरहनुपर्ने उनले बताए । ‘विश्वभर कराते धेरै परिवर्तन भइसक्यो । हामी भने पुरानै अवस्थामा छौं,’ सातौं बृहत् राष्ट्रिय खेलकुदअन्तर्गत सोमबार करातेको प्रतिस्पर्धा सकिएपछि राष्ट्रिय टोलीका प्रशिक्षकसमेत रहेका श्रेष्ठले भने, ‘दुई वर्षपछि साग आयोजना गर्ने देशले यो राष्ट्रिय खेलकुदलाई त्यसैको तयारीका रुपमा लिनुपथ्र्यो । राष्ट्रिय खेलकुद नयाँ प्रतिभाहरू देखिने थलो हो । यहाँबाट नयाँ प्रतिभा पहिचान गरेर थप उजागर गर्नुपर्ने थियो । तर राष्ट्रिय खेलकुद त्यो भावनाअनुसार चल्न सकेन ।’

अन्तर्राष्ट्रिय करातेमा धेरै परिवर्तन भइसक्दा महिला खेलाडीले चेस्ट गार्ड, बडी प्रोटेक्टर, सिन गार्ड र लेग प्रोटेक्टर तथा पुरुषले बडी प्रोटेक्टर, सिन गार्ड र लेग प्रोटेक्टर अनिवार्य रुपमा लगाउनुपर्ने नियम छ । यसैगरी करातेमा पनि क्रिकेटमा जस्तो थर्ड अम्पायर राख्ने चलन आइसक्यो । जहाँ कम्तिमा दुईदेखि चार वटासम्म क्यामरा विभिन्न कोणमा राखेर रेफ्रीको निर्णयमाथि तत्काल समीक्षा गर्न सकिन्छ ।

‘हामीकहाँ करोडौं रुपैयाँ खर्च भएको देशको सबभन्दा ठूलो खेलमेला राष्ट्रिय खेलकुद नै भएको हुँदा पनि यी सब प्रविधि प्रयोग गर्न सकिएको छैन,’ निर्णायकको भूमिकामा राष्ट्रिय खेलकुदमा सक्रिय श्रेष्ठले अघिल्लो दिन खेलदौरान भएको विवाद स्मरण गर्दै भने, ‘हामीसँग थर्ड अम्पायरको व्यवस्था भएको भए तत्काल रिभ्यु हुन सक्थ्यो । विवाद हुँदैनथ्यो । पहिलो पटक खेलाडीले चेस्ट गार्ड, सिन गार्ड, बडी प्रोटेक्टर र लेग प्रोटेक्टर लगाएका छन् । तर हामीले अन्तर्राष्ट्रिय मान्यताअनुसार १२×१२ को म्याट समेत प्रयोग गर्न पाएनौं । राष्ट्रिय खेलकुद परिषदले राष्ट्रिय खेलकुदका लागि तयारी समेत गरेन । क्षेत्रीय छनोटपछि व्यक्तिगत स्पर्धामा खेलाडीलाई सात दिनको बन्द प्रशिक्षण शिविरसमेत राखेन ।’

झारा टार्नकै लागि प्रतियोगिता गर्नुको कुनै अर्थ नरहेको भन्दै उनले आगामी दिनमा सबै सुविधा उपलब्ध गराएमात्र त्यसले भविष्यमा गतिलो नतिजा दिने अनुभव सुनाए । ‘यो राष्ट्रिय खेलकुदको सबैभन्दा कमजोर पक्ष व्यवस्थापन रह्यो । तर करातेमा नयाँ राम्रा प्रतिभा आएका छन् । एपिएफकी मनिषा चौधरी र आर्मीका कुसुम खड्का तथा विभुषा थापाजस्ता युवा खेलाडीले राम्रो गरेका छन्,’ श्रेष्ठले भने, ‘विभुषाले अनुपमा मगरजस्तो राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै एसियाली खेलकुद खेलिसकेकी खेलाडीलाई पराजित गरिन् । मनिषाले मल्लिका थापा भएको इभेन्ट्मा स्वर्ण पदक जितिन् । उनीहरूबाहेक पनि अरु धेरै राम्रा खेलाडी आएका छन् ।’

जापानमा चार वर्षपछि हुने गृष्मकालीन ओलम्पिकमा कराते पहिलो पटक समावेश गरिएको छ। ओलम्पिकमा समावेश भएपछि करातेका धेरै पुरातन नियम परिमार्जन गर्दै प्रविधिमैत्री बनाइएको हो। यसले अझै निरन्तरता पाइरहेको छ । विश्व कराते महासंघ (डब्लुकेएफ)ले जनवरीको पहिलो साता पनि नियममा अझै परिमार्जन गर्ने योजना सार्वजनिक गरिसकेको छ । त्यसअनुसार नेपाली खेलाडीलाई पनि परिमार्जित नियमसँग अभ्यस्त गराउँदै तिखार्न सके अन्तर्राष्ट्रिय स्तरमा सुखद नतिजा आउने श्रेष्ठको विश्वास छ ।

‘राष्ट्रिय खेलकुद कमजोर रुपमा सम्पन्न भए पनि यहाँ देखिएका प्रतिभालाई आगामी दिनमा ओलम्पिकको लक्ष्य बनाएर तयारी गराउनुपर्छ । राष्ट्रिय खेलकुद परिषदले त्यसको नेतृत्व लिनुपर्छ। त्यसो भयो भने साग र एसियाली खेलकुदमा सजिलैसँग पदक जित्न सकिन्छ । तर राष्ट्रिय खेलकुद गरेको शैली हेर्दा परिषदबाट त्यस्तो आस गर्ने ठाउँ छैन,’ उनले भने, ‘अन्यथा यसैगरी झारा टार्ने र ठुल्ठूला भाषणमात्र गर्ने हो भने करातेबाट पनि साख जोगाउन सजिलो छैन । खेल र खेलाडीमुखी कार्यक्रम ल्याउनसके सफलता सम्भव छ । तर नेपाली खेलकुद सधैं पदाधिकारी र राजनीतिमुखी भयो।’

प्रकाशित: १३ पुस २०७३ ०२:०१ बुधबार

कराते उठाउन गर्ने