खेल

खाली खुट्टा दौडने धाविकालाई सहयोग

इटहरी– नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले सातौं राष्ट्रिय खेलकुदमा खाली खुट्टा दौडिएका दुई धाविकालाई जनही ५० हजार रुपैयाँका दरले सहयोग जुटाएको छ।

सुदूरपश्चिमाञ्चलकी सीमा चौधरी र पश्चिमाञ्चलकी गुडिया गुप्तालाई संघको पहलमा ५० हजार रुपैयाँ बराबरका खेलसामाग्री दिइने भएको छ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका खेलकुद विभाग प्रमुख गणेश लामाले दुवै खेलाडीलाई जनही ३० हजार, सोभियत सिलवालले जनही १० हजार तथा खेलाडी संघका अध्यक्ष दीपक विष्टले जनही १० हजार गरी कुल ५० हजार बराबरका सामाग्री दिने भएका हुन् ।

‘म पनि सुदूर पश्चिमबाट आएको खेलाडी हुँ । हाम्रो देशमा सबैको खेलजीवनको सुरुआत खाली खुट्टाबाटै हुन्छ । आर्थिक अभावले यी बहिनीहरूको प्रतिभा निमोठ्न नसकोस् भनेर हामीले साथीहरूसँग सहयोगका लागि अनुरोध गरेका थियौं । सहयोग गर्नु हुने लामा र सिलवालजीलाई धन्यवाद,’ खेलाडी संघका अध्यक्ष विष्टले भने, ‘खेलकुदमा काम गर्ने विभिन्न निकाय भए पनि उनीहरू जिम्मेवार नहुँदा खेलाडीले यस्तो दुर्दशा भोग्नु परेको हो । जिल्ला र क्षेत्रीय खेलकुद विकास समितिले पहिल्यै पहल गरेको भए कुनै पनि खेलाडीले खाली खुट्टा दौडिनु पर्ने थिएन । तैपनि बहिनीहरूले अभावको चिन्ता नगर्नु, तिमीहरूलाई सघाउन खेलाडी संघ छ ।’

संघका महासचिव दीपक श्रेष्ठले गाँउगाँउमा भएका खेलाडीसम्म राष्ट्रिय खेलकुद परिषद पुग्न नसकेको बताउँदै खेलाडी संघले आगामी दिनमा परिषद र सरकारलाई पनि घचघच्याउने बताए । ‘हामीले यो पहल गरेपछि सरकारमाथि पनि दबाब हुनेछ,’ श्रेष्ठले भने, ‘यसरी खेलाडी संघको पहलमा व्यक्तिगत सहयोग जुटाएर समग्र खेलाडीलाई सुविधा दिन सकिन्न । यो सहयोग सरकारलाई दायित्वबोध गराउनका लागि पनि हो ।’

खेलाडी संघ सुनसरीका जिल्ला अध्यक्ष सुरेन्द्र तामाङसहितको उपस्थितिमा सहयोग घोषणा गर्ने क्रममा अध्यक्ष विष्टले खाली खुट्टा दौडिने अन्य खेलाडीको सहयोगका लागि पनि पहल गर्ने बताए ।

सोही अवसरमा पश्चिमाञ्चलका प्रशिक्षक मनोहर दाहालले जेठमा सम्पन्न राष्ट्रपति रनिङ शिल्डमा दुई विधामा राष्ट्रिय जुनियर कीर्तिमान बनाउनुका साथै उत्कृष्ट खेलाडी भएकी विपना परियारले सरकारद्वारा घोषित नगद पुरस्कार नपाएको गुनासो गर्दै दिलाउन पहल गर्न खेलाडी संघसँग अनुरोध गरे । विपनाले लङ जम्प र ट्रिपल जम्पमा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । राष्ट्रिय कीर्तिमानका लागि प्रति कीर्तिमान १ लाखका दरले २ लाख र उत्कृष्ट खेलाडी भएवापत अर्को १ लाख थपेर ३ लाख दिने घोषणा सरकारले गरेको थियो। तत्कालीन युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले पुरस्कार वितरण समारोहमा विपनालाई उक्त पुरस्कार दिने घोषणा गरेका थिए ।

यसैबीच खाली खुट्टा दौडिएकी पश्चिमाञ्चलकी अर्की खेलाडी सीता सेनठकुरी र सीमा चौधरीलाई पौडीका स्टार शिरिष चौधरीले स्पाइक, ट्रयाकसुट, एथलेटिक्स पोसाकलगायत सामाग्री सहयोग गर्ने भएका छन्।

प्रकाशित: १३ पुस २०७३ ०१:५९ बुधबार

खाली खुट्टा दौडने धाविकालाई