खेल

यातायातमा कमजोरी भएको गुनासो

नेपालगन्ज- पूर्वाञ्चलमा शुक्रबार सुरु सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीले यातायात व्यवस्थापनमा कमजोरी भएको गुनासो गरेका छन्। मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जको व्यवस्थापनमा बिहीबार खेलाडी पूर्वाञ्चल प्रस्थान गरेका हुन्।

समिति नेतृत्वले खेलाडीको उपेक्षा गरी फितलो व्यवस्थापन गरेको भन्दै समितिका सदस्य, प्रशिक्षक र खेलाडी आक्रोशित भएका थिए। खेलाडी पूर्वाञ्चल लैजान भेरी अञ्चल यातायात समितिका पुराना बस बुकिङ गरेको र समुचित व्यवस्थापन नगरेको उनीहरूले आरोप लगाए। क्षेत्रीय खेलकुद विकास समिति सदस्य श्याम श्रेष्ठले नेतृत्वबाट गम्भीर लापरबाही भएको बताए। ‘खेलाडी लैजान बसको व्यवस्थापन गतिलो भएन,’ उनले भने ‘नेतृत्व आफू राम्रा गाडीमा जाने र खेलाडीलाई थोत्रा गाडीमा पठाउने शैली ठिक होइन।’

मध्यपश्चिम क्षेत्रका भलिबल टोली कप्तान सुदिर शाहले भने, ‘कुन गाडी कहाँबाट जाने समेत एकिन भएन। झापा जाने खेलाडी धरानको गाडीमा चढेका छन्। पहिल्यै नामावली अनुसार बस्न बसको व्यवस्था गरेको भए यस्तो समस्या आउने थिएन।’ बिहीबार बिहान १० बजेदेखि बेलुकासम्म खेलाडी नेपालगन्ज रंगशालामा भौंतारिएको उनले बताए। बस व्यवस्थापनमा खटिएका क्षेत्रीय प्रशिक्षण विभाग प्रमुख जयन्द्र शर्माले हुलहालका बेला सामान्य कमजोरी हुनु स्वाभाविक भएको बताए।

मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका उपाध्यक्ष नरेन्द्र थापाका अनुसार राष्ट्रिय खेलकुदमा भाग लिन यस क्षेत्रबाट करिब ५ सय खेलाडी पूर्वाञ्चल गएका छन्। बिहीबार मात्र खेलाडी बोकेका ८ वटा बस पूर्वाञ्चलका लागि प्रस्थान गरेका थिए। ‘हिजो र अस्ति पनि केही गाडीमा खेलाडी गए, शुक्रबार पनि केही गाडी जान्छन् होला,’ थापाले भने।

प्रकाशित: ९ पुस २०७३ ०३:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App