खेल

नेपाली खेलकुदको महाकुम्भ आजबाट

विराटनगर- सांस्कृतिक नृत्य, खेल कौशल र कवाज प्रदर्शन गर्दै शुक्रबार विराटनगरस्थित सहिद रंगशालामा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता भव्य रुपमा सुरु हुँदैछ। एक साता हुने बृहत् राष्ट्रिय खेलकुदमा ४ हजारभन्दा बढी खेलाडीले विभिन्न ३५ खेलमा प्रतिस्पर्धा गर्ने छन्। ती खेलमा २ सय ९४ स्वर्ण, २ सय ९४ रजत र ४ सय ४७ काँस्य पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा २ हजार ३ सय ३ जना पुरुष खेलाडी र १ हजार ६ सय ६९ जना महिला खेलाडी सहभागी हुँदैछन्। राष्ट्रपति विद्यादेवी भण्डारीले भव्य समारोहबीच राष्ट्रिय खेलकुदको शुभारम्भ गर्नेछिन्।

२०३८ सालमा राजा वीरेन्द्रले उद्घाटन गर्दै राजधानींबाट सुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगिताको सातौं संस्करण पूर्वाञ्चलमा पुस ८ देखि १५ गतेसम्म हुनेछ। २/२ वर्षमा गर्ने भनिए पनि २०४४ सालको चौथो संकरणसम्म समयमै आयोजना भए पनि त्यसयता राष्ट्रिय खेलकुद तोकिएको समयमा हुन सकेका छैनन्।

सुदुर पश्चिमको धनगढीमा छैठौं राष्ट्रिय खेलकुद आयोजना भएको ५ वर्षपछि सातौं संस्करण पूर्वाञ्चलमा हुन लागेको हो। खेलकुद उद्घाटनस्थल विराटनगरको सहिद रंगशालालाई बेहुलीजस्तै सिँगारिएको छ। रंगशालामा बिहीबार अबेरसम्म उद्घाटनमा प्रदर्शन गरिने नृत्य, खेल कौशल र कवाजको अन्तिम अभ्यास गरियो।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार बिष्टले प्रतियोगिताको सबै तयारी पूरा भएको बताए। उनले प्रतियोगिताको उद्घाटन विराटनगरमा र समापन धरान एन्फा कम्प्लेक्समा हुने बताए। ‘उद्घाटन राष्ट्रपतिले गर्ने र समापन प्रधानमन्त्रीबाट हुनेछ,’ उनले भने। राष्ट्रपतिले खेलकुद प्रतियोगिताको उद्घाटन गर्ने भएपछि विराटनगरको सुरक्षा व्यवस्था कडा पारिएको छ। वीरेन्द्र सभागृहमा प्रतियोगिता मूल आयोजक समितिको बिहीबार बसेको बैठकले सबै तयारी पूरा भएको र प्रतियोगिताले उद्घाटनको मात्र प्रतिक्षा गरिरहेको निष्कर्ष निकालेको छ।

सांस्कृतिक झाँकी, परेड, कबाज, नृत्य र खेल कौशल प्रदर्शन गरेर उद्घाटन सत्र प्रारम्भ गर्ने तयारी छ। उद्घाटनमा प्रदर्शन गरिने मनमोहक प्रस्तुतीको अभ्यासमा विद्यार्थी, सुरक्षाकर्मी र खेलकर्मी जुटेेका छन्। मर्मतसम्भार र रंगरोगन गरेर रंगशाला झकिझकाऊ पारिएको छ। सातौं खेलकुद आयोजनाका लागि सरकारले २० करोड रुपैयाँ निकासा गरिसकेको छ।

पूर्वाञ्चलको मोरङ, सुनसरी, झापा, धनकुटा, सिरहा, सप्तरी र उदयपुरमा राष्ट्रिय खेलकुदका विभिन्न खेल हुनेछन्।

३५ खेल समावेश गरिए पनि पूर्वाञ्चलमा ३० खेल मात्रै हुनेछन्। पूर्वाञ्चलमा आवश्यक पूर्वाधार नभएका खेलमध्ये लन टेनिस पोखरामा र  फेन्सिङ, ट्रायथलन, पौडी तथा शारीरिक सुगठनका प्रतिस्पर्धा राजधानीमा गर्ने निर्णय गरिएको थियो। त्यसमध्ये पौडी, ट्रायथलन र शारीरिक सुगठनका प्रतिस्पर्धा सम्पन्न भइसकेको छ। महिला फुटबलका खेल भने सुनसरीको दुहबीमा जारी छ।

कुन खेल कहाँ हुने

राष्ट्रिय खेलकुदमा हुने ३० खेल पूर्वाञ्चलका विभिन्न ७ जिल्लामा हुनेछन्। टेबल टेनिस, महिला र पुरुष कबड्ड्ी, महिला र पुरुष ह्यान्डबल, हकी, सुटिङ, सफ्ट टेनिस तथा महिला र पुरुष क्रिकेटका खेल मोरङमा हुनेछन्।

खोखो, सेपाकटाक्रो, साइक्लिङ, महिला र पुरुष फुटबल, एथलेटिक्स, तेक्वान्डो, महिला र पुरुष भलिबल, उसु, महिला र पुरुष बास्केटबल तथा फुलकन्ट्याक्ट तेक्वान्डोका खेल सुनसरीमा हुनेछन्। सुनसरी राखेप सदस्यसचिव बिष्टको गृहजिल्ला हो। गृहजिल्ला भएकाले धेरै खेल आयोजना सुनसरीमा गरेको आरोप उनीमाथि लागेको छ। तर, बिष्टले खेलकुदको पूर्वाधार भएका ठाउँमा मात्र खेलकुद हुने भएकाले सुनसरीमा बढी परेको स्पष्ट पारे।

झापामा महिला र पुरुष बक्सिङ, ब्याडमिन्टन, जुडो, आइटिएफ तेक्वान्डो र जिम्न्यास्टिक खेल हुनेछन्। झापामा पुस ९ मा सुरु हुने यी खेलका लागि मैदान र कभर्ड हलको तयारी अन्तिम चरणमा पुगेको जिल्ला खेलकुद विकास समिति झापाले जनाएको छ। झापा जिल्ला खेलकुद विकास समिति अध्यक्ष शंकर थापाका अनुसार बक्सिङ चन्द्रगढीस्थित मेची रंगशालाको कभर्डहलमा हुनेछ भने जुडो र जिम्न्यास्टिक धुलाबारीस्थित पासाङ ल्हामु स्मृति भवनमा हुनेछ। त्यस्तै ब्याडमिन्टन काँकडभिट्टाको मेची सामुदायिक भवनको कभर्डहलमा हुनेछ। तेक्वान्दो प्रतिस्पर्धा दमकस्थित रेडक्रस भवनमा हुने बताइएको छ।

भौतिक संंरचनाका कारण झापामा खेलस्थल व्यवस्थापन यसपटक सहज भएको छ। धुलाबारीको पासाङ ल्हामु हल, काँकडभिट्टाको सामुदायिक हलमा वर्षभरजस्तै विभिन्न 'इन्डोर' खेल गतिविधि हुने गरेको छ। त्यस्तै रंगशालाको कभर्डहल पनि तयार नै रहेकाले व्यवस्थापन सहज भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ। 

सप्तरीमा भारोत्तोलन, सिरहामा कुस्ती, धनकुटामा चेस र उदयपुरमा आर्चरी खेल हुनेछन्।

प्रकाशित: ८ पुस २०७३ ०४:०३ शुक्रबार

नेपाली खेलकुदको महाकुम्भ आजबाट