खेल

पन्चासे ट्रेल रेसको उपाधि अर्जुन र प्रियालाई

कोभिडले रोकिएको तीन वर्षपछि शनिबार पोखरामा आयोजित छैटौं संस्करण ‘पन्चासे ट्रेल रेस’ को उपाधि पुरुष तर्फ सोलुखुम्बुका अर्जुन कुलुङ राईले जितेका छन्। महिला तर्फको उपाधि भने खोटाङकी प्रिया राईले जित्न सफल भईन्।

 ‘पोखरा ट्रेल रेस सिरिज’ रनिङ क्लबको आयोजनामा भएको ५५ किलोमिटरको गोरेटो दौड पोखराको कोमागाने पार्कबाट शुरु भई पन्चासे पुगेर फर्किई सराङकोटको खपौदीमा ओर्लिएर समापन भएको थियो। ५५ किलोमिटरको गोरेटो दौडसँगै ७ किलोमिटरको ‘फन रेस’ समेत आयोजना गरिएको थियो।  

५५ किलोमिटरको दौड कुलुङ राईले ६ घण्टा ६ मिनेटमा पुरा गर्दै उपाधि जित्न सफल भए। उनले नगद ३० हजार रुपैयाँ प्राप्त गरे। गोरखाका धावक निरोज भट्ट क्षत्री उपविजेता बने। उनले ६ घण्टा २० मिनेटमा पुरा गरेका थिए। क्षत्रीले नगद १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। काठमाडौंका रेवतबहादुर दाहालले तेस्रो स्थानमा रहँदै नगद ५ हजार रुपैयाँ प्राप्त गरे। दाहालले दुरीलाई ६ घण्टा ५२ मिनेटमा पुरा गरेका थिए।  

महिला तर्फको प्रतिस्पर्धामा खोटाङकी प्रिया राईले ७ घण्टा २५ मिनेटमा पुरा गर्दै उपाधिसहित नगद ३० हजार रुपैयाँ प्राप्त गरिन्। त्यस्तै एक मिलिसेकेण्डले पछि पार्दै धादिङकी रशिला तामाङ दोस्रो बनिन्। उनले दुरीलाई ७ घण्टा ५९.५७ मिनेटमा पुरा गरिन्। उनले नगद १५ हजार प्राप्त गर्दा सोलुखुम्बुकी अनिता राई ७ घण्टा ५९।५८ मिनेटले तेस्रोस्थानमा रहिन्। उनले नगद ५ हजार रुपैयाँमा चित्त बुभाईन्।  

‘पन्चासे ट्रेल रेस’मा ३६ जना धावकले प्रतिस्पर्धा गरेका थिए। पुरुष तर्फ ३१ जना थिए। महिला तर्फ ५ जनाको सहभागिता रहेको पोखरा टे«ल रेस सिरिज रनिङ क्लबका अध्यक्ष विकास गुरुङले जानकारी दिए। उनले प्रतिस्पर्धामा ३ जना विदेशी धावकको समेत सहभागिता रहेको थियो। ५५ किलोमिटर दौडसँगै क्लबले ७ किलोमिटरको फन रेस समेत आयोजना गरेको थियो।  

५५ किलोमिटरको दौड कोमागाने पार्कबाट शुरु भएको थियो। ड्यामसाईड–रानीबन–पुम्दीकोट–भुम्दी–भन्ज्याङ–पन्चासे पुगेर भदौरे–धारापानी–ढिकुरपोखरी–नागडाडाँ–कास्कीकोट–सराङकोट हुदैं खपौदीमा पुगेर दौड समापन रुट तय गरिएको थियो।  दौड पुरा गर्ने धावकलाई ‘फिनिसर पदक’ बाट सम्मानित गरिएको थियो। पोखरा ट्रेल रेस सिरिजले दौडको लागि पाँचवटा ठाँउमा चेक प्वाईन्ट राखिएको थियो। पहिलो चेकप्वाइन्ट पुम्दीकोटमा दोस्रो भुम्दीमा तेस्रो भन्ज्याङ, चौथो भदौरे र पाँचौ चेक प्वाईन्ट कास्कीको नागडाँडामा राखिएको क्लबले जनाएको छ।  

गोरेटो दौड कोरोनापछिको पहिलो हो।। हराउँदै गएका पोखरा र सेरोफेरोका गाँउहरुका गोरेटो बाटोलाई प्रवद्र्धन गर्ने काम क्लबले गर्दै आएको छ। पोखरा र आसपासमा धेरै ट्रेल(गोरेटो) छन्। ती गोरेटो केही प्रचलनमा छन्। केही प्रचलनमै छैनन्। प्रचलनमा रहेकालाई संरक्षण र प्रचलनमा नरहेकालाई प्रवद्र्धन गर्ने अभियानलाई संस्थाले सहयोगी भूमिका खेल्दै आएको छ। प्रवद्र्धन गर्नु नै संस्थाको मुल उद्देश्य हो। उद्देश्य अनुसार नै संस्थाले सिरिजलाई फरक फरक उकाली ओराली गोरेटोमा दौडाउँदै आएको छ। दौडलाई केटिएम सिटीले मुख्य प्रायोजन गरेको छ भने काठमाडौंस्थित गोल्ड जिमले सह प्रायोजन गरेको छ। विजेता धावक तथा धाविकालाई गण्डकी प्रदेश सदस्य प्रकाश बरालले नगद पुरस्कारसहित पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए।  

प्रकाशित: १८ चैत्र २०७९ १२:२८ शनिबार