खेल

सद्भावलाई सूर्य नेपाल च्यालेन्ज

एमेच्योर गल्फर सद्भाव आयार्य सूर्य नेपाल गल्फ टुरमा उपाधि जित्ने सबैभन्दा कान्छो उमेरका खेलाडी भएका छन्।

पार–६८ को रोयल नेपाल गल्फ क्लबमा शुक्रबार सूर्य नेपाल च्यालेन्ज जित्दै सद्भाव यो टुरमा उपाधि उचाल्ने कान्छो गल्फर भएका हुन्। डिफेन्डिङ च्याम्पियन भूवन नगरकोटीमाथि दुई स्ट्रोकको अग्रता बनाउँदै उनले उपाधि उचाले। फाइनल चरणमा सद्भावले चार अन्डर ६४ को कार्डसहित कुल तीन अन्डर २६९ स्कोर बटुले। यो प्रतियोगिता सूर्य नेपाल गल्फ टुर २०२२/२३ को छैटौं प्रतिस्पर्धा हो। सद्भावले १६ वर्ष १० महिना उमेरमा यो सफलता पाएका हुन्।

यसअघि एमेच्योर गल्फर सुवास तामाङ टुरमा उपाधि जित्दा १६ वर्ष ११ महिनाको थिए। यसै महिना सूर्य नेपाल सेन्ट्रल ओपनको एमेच्योरतर्फ उपाधि उचाल्दा सद्भावले सुवासलाई नै पछि पारेका थिए। पूर्वनम्बर एक प्रो. गल्फर भूवन कुल एक अन्डर २७१ स्कोरसहित उपविजेता भए। यद्यपि, उनले विजेताको एक लाख रूपैयाँ नगद पुरस्कार प्राप्त गरे। एमेच्योरले नगद पुरस्कार नपाउने भएकाले सद्भावले विजेताको ट्रफी मात्र प्राप्त गर्दा उपविजेता भूवनले च्याम्पियनको पुरस्कार पाएका हुन्।  

रवि खड्का तेस्रो स्थानमा रहे पनि उपविजेताको ६५ हजार रूपैयाँ नगद पुरस्कार पाए। अन्तिम दिन तीन ओभर ७१ मा खेलेका रवि कुलमा इभन पार २७२ मा रहे। शीर्ष एमेच्योर गल्फर सुवास तामाङ समग्रमा भने चौथो स्थानमा रहे। उनी एमेच्योरतर्फ भने दोस्रो भए। दिनेश प्रजापति समग्रमा पाँचौं स्थानमा रहे पनि प्रोफेसनलतर्फ तेस्रो भए। उनले ४६ हजार रूपैयाँ नगद पुरस्कार पाए।

प्रतियोगिताको विजेतालाई सूर्य नेपाल प्रालीका बजार उपाध्यक्ष दिप्रा लाहिरी, प्रोफेसनल गल्फर संघका अध्यक्ष रविन्द्रमान श्रेष्ठ, नेपाल गल्फ संघका अध्यक्ष टासी घले र रोयल नेपाल गल्फ क्लबका अध्यक्ष मधुकर एक थुम्बाले पुरस्कृत गरेका थिए। 

प्रकाशित: १८ चैत्र २०७९ ०१:२५ शनिबार

पार–६८ को रोयल नेपाल गल्फ क्लब