खेल

प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि नेपाललाई

नेपालले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको फाइनलमा लाओसलाई २-१ गोल अन्तरले हराउँदै नेपालले उपाधि उचालेको हो।

नेपालको जितमा आयुष घलान र मनिष डाँगीले एक एक गोल गरे। लाओसका फोउचाङभोङ साङ्भिले एक गोल गरे।

शुक्रबार दशरथ रंगशालामा भएको खेलको १७ ‌औं मिनेटमा फौथाभोङ साङभिलेले गोल गर्दै लाओसलाई अग्रता दिलाए पनि त्यसको ७ मिनेटमै नेपालले बराबरी गोल फर्काएको थियो।

बोनपाचन बोनकोङकोको पासमा नेपाली डिफेन्डरहरु बिट भइसकेको अवस्थामा फौथाभोङले हाफ भली प्रहारमा गोल गरेका थिए। तर २४ औं मिनेटमा नेपालले बराबरी गोल फर्काएको थियो। एरिक विष्टले मिलाइदिएको पासमा बक्स भित्रबाट आयुश घलानले गोल गरे।

नेपालले पहिलो खेलमै लाओसलाई २–० ले पराजित गरेको थियो भने भुटानसँग १–१ को बराबरी खेलेको थियो। लाओसले भने भुटानलाई २–१ ले पराजित गरेको थियो।

प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर पाउने छन्।

प्रकाशित: १७ चैत्र २०७९ १३:५७ शुक्रबार