खेल

विभागीय टोलीको जित निरन्तर

अमर खड्का/चुमन बस्नेत

दुहवी- विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले सुनसरीको दुहबीमा जारी सातौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलमा विजयी यात्रालाई सोमबार पनि निरन्तरता दिएका छन्। सोमबार दुहबी रंगशालामा भएको पहिलो खेलमा नेपाल पुसिलले पश्चिमाञ्चललाई ४–० ले स्तब्ध बनाउँदा दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले घरेलु टोली पूर्वाञ्चललाई ३–० ले पराजित गरेको हो। जितपछि नेपाल ६ अंकका साथ नेपाल पुलिस समूह ‘क’ को शीर्ष स्थानमा छ। पुलिसले यसअघि सुदूर पश्चिमाञ्चललाई ३–० को नतिजामा हराएको थियो।

शुरुबाटै पश्चिमाञ्चलमाथि हावी भएको पुलिसलाई निरु थापाले दोस्रो मिनेटमै अग्रता दिलाएकी थिइन्। १९ औं मिनेटमा यशोदा लामाले उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर पारिन्। ४६ औं मिनेटमा पुलिसका लागि सिर्जना खड्काले अर्को गोल थपिन्। ५७ औं मिनेटमा मञ्जु गुरुङले पेनाल्टी बक्सबाट गरेको प्रहार गोलमा परिणत भएपछि पुलिस फराकिलो अन्तरमा जित निकाल्न सफल भएको हो। पुलिसकी यशोदा प्लयेर अफ दी म्याच घोषित भइन्।

त्यसैगरी, दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले घरेलु टोली पूर्वाञ्चललाई निरिह सावित गर्दै सहज जित निकाल्यो। आर्मीकी सुस्मिता तामाङले १६ औं मिनेटमा अग्रता दिलाएकी थिइन्। पहिलो हाफमा १–० को अग्रता लिएको आर्मीका लागि इन्दिरा राईले ५४ औं मिनेटमा अर्को गोल थपिन्। इन्दिराले फ्रि–किकमा दर्शनीय गोल गरेकी थिइन्। गोलकिपर कल्पना कार्कीले पेनाल्टी बक्स बाहिर आएर बल समातेपछि आर्मीले फ्रि–किक पाएको थियो।  इन्जुरी समयमा इन्दिरा राईले २० यार्डबाट गरेको प्रहारले सिधै पोष्टको दिशा लिएपछि आर्मी ३–० को जित निकाल्न सफल भयो। आर्मीकी इन्दिरा प्लयेर अफ दी म्याच भइन्। जितसँगै आर्मी समूह ‘ख’ मा ६ अंकका साथ शीर्ष स्थानमा छ। आर्मीले यसअघि मध्य पश्चिमाञ्चललाई ३–० ले हराएको थियो।

२४ औं मिनेटमा पूर्वाञ्चलले खेल १–१ को बराबरीमा ल्याउने राम्रो मौका पाएको थियो। तर कोपिला धिमालको पेनाल्टी प्रहार असफल भएपछि पूर्वाञ्चलको खेलमा पुनरागमन जनाउने अवसर गुमेको थियो। कोपिलाको प्रहार पोष्टभन्दा धेरै टाढाबाट वाहिरिएको थियो। आर्मीकी विमल चौधरीले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि पूर्वाञ्चलले पेनाल्टीको मौका पाएको थियो।

प्रतियोगिताअर्न्तगत मंगलबार सुदूर पश्चिमाञ्चलले सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँग खेल्नेछ भने मध्यमाञ्चलले मध्य पश्चिमाञ्चलसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: ५ पुस २०७३ ०३:५५ मंगलबार

विभागीय टोलीको जित