खेल

सहारा एकेडेमीको चौथो ‘व्याच’ बैशाखदेखि

एकेडेमीमा चौथो व्याच राख्ने निर्णय सार्वजनिक गर्दै सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङसहित क्लबका अन्य पदाधिकारी। तस्बिरः नागरिक

सहारा क्लबले फुटबल एकेडेमी शुरु गरेको पनि दुईदशक पार गरेको छ। दुईदशक अवधिमा क्लबले तेस्रो व्याचका खेलाडीलाई एकेडेमीबाट विदाई गर्दैछ। आगामी बैशाखदेखि एकेडेमीमा भएका प्रशिक्षार्थीलाई बिदाई गर्दै चौथो ‘व्याच’ राख्ने योजना बनाएको छ। क्लबले अब चौथो व्याचको एकेडेमीमा ३० जना अनाथ(प्रशिक्षार्थी बालक)लाई राख्ने निर्णय गरेको हो।

यसअघि एकेडेमीमा पहिलो व्याचमा २०, दोस्रो व्याचमा २० र तेस्रो व्याचमा २८ जना प्रशिक्षार्थी थिए। तेस्रो व्याचका ११ जना दशजोड दुई अध्ययन पुरा गर्दै एकेडेमीबाट बिदाई भईसकेका छन्। अब १३ जना मात्रै छन। उनीहरुलाई पनि दशजोड दुई(प्लस टु)को परीक्षा सकिएपछि क्लबले बिदाई गर्नेछ।  

सहारा क्लबले दोस्रो र तेस्रो व्याचलाई पढाईसँगै सीप मुलुक तालिम समेत दिदैं आएको छ। क्लबबाट बिदाई हुने वित्तिकै रोजगारीको अवसर सिर्जना हुने गरी सीपमुलुक तालिम दिदैं आएको क्लबले जनाएको छ। ‘तेस्रो व्याचलाई बैशाखमा बिदाई गर्दैछौं,’ सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङ(सुरज)ले भने, ‘बैशाखमै चौथो व्याच राख्ने छौं।’ चौथो व्याचको लागि यही चैत मसान्त(२०७९)भित्रमा आवेदन आईसक्नुपर्ने निर्णय क्लबले गरिसकेको छ।  

चौथो व्याचको लागि छनोट समितिले छनोट गर्नेछ। छनोट भएका प्रशिक्षार्थीलाई क्लबले एकेडेमीमा राख्ने छ। क्लबले चौथो व्याचलाई झण्डै १० वर्ष एकेडेमीमा राखेर शिक्षादिक्षासँगै फुटबल प्रशिक्षण गराउने छ। अध्यक्ष गुरुङका अनुुसार ३० जना भन्दा बढी भएको अवस्थामा छनोट गरेर राखिने छ। छनोटमा १० वर्ष लागेको हुनुपर्ने प्रावधान छ। ‘२०७१ साल बैशाखदेखि चैत मसान्तसम्म जन्मिएका अनाथ बालकहरुलाई एकेडेमीमा राखिने छ,’ उनले भने, ‘आवश्यक कागजपत्र र मापदण्ड पुगेको हुनुपर्छ।’ 

प्रशिक्षार्थी बालक पाँचकक्षामा अध्ययनरत हुनुपर्ने प्रावधान समेत राखेको छ। शारीरिक अपांगता नभएको हुनुपर्ने समेत छनोट समितिले उल्लेख गरेको छ। ‘मन बचन र कर्मले सामाजिक सेवा गरौं’ क्लबको नारा हो। त्यही नारा अनुसार नै क्लबले सामाजिक सेवा स्वरुप अनाथ बालकलाई राखेर फुटबल एकेडेमी शुरु गर्दै आएको छ। २०५८ सालमा पहिलो व्याच शुरु गरेको थियो। त्यतिबेला सबैजसो पोखराकै थिए। आवासिय एकेडेमी थिएन्। 

दोस्रो व्याचदेखि क्लबले पोखरा–१७ दोविल्लास्थित आफनै स्वमित्वको जग्गामा आवासिय सुविधासहितको एकेडेमी सञ्चालन गर्दै आएको छ। दोस्रो व्याच २०६१ सालमा र तेस्रो व्याच २०७० सालमा राखेको थियो। दोस्रो र तेस्रो व्याचलाई क्लबले १० वर्ष एकेडेमीमा राखेर फुटबल प्रशिक्षण दिर्दैै आएको थियो। क्लबले आवासिय सुविधासहित प्रशिक्षार्थी बालकलाई आफनै फुटबल मैदानमा फुटबल प्रशिक्षण दिदैं आएको छ। फुटबल प्रशिक्षक नै व्यवस्था गरेर प्रशिक्षण दिदैं आएको छ।  

बैशाखदेखि शुरु हुने नयाँ व्याचलाई पनि क्लबले १० वर्ष एकेडेमीमा राख्ने जनाएको छ। पहिलो, दोस्रो र तेस्रो व्याचको एकेडेमी राख्दा क्लबसँग दिगो आम्दानीको स्रोत अथवा प्रायोजक थिएन्। दुईवर्ष अघि मात्रै सुर्यबहादुर केसी स्मृतिले एकेडेमीको लागि वार्षिक १५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने सम्झौता गरेको छ। सम्झौता अनुसार केसी परिवारले क्लबलाई यो वर्ष समेत आर्थिक सहयोग दिईसकेको छ। सम्झौतापछि क्लबले एकेडेमीकै नाम परिवर्तन गर्दै सुर्यबहादुर केसी स्मृति सहारा छात्रबास फुटबल एकेडेमी राखेको छ।  

‘दिगो स्रोत नै अहिले ‘सुर्यबहादुर केसी स्मृति’ हो’ क्लबका अध्यक्ष गुरुङले भने, ‘त्यो बाहेक क्लबले वर्षेनी खेल्ने देउसी भैलो, आहा रारा गोल्डकपबाट बचत रकम, विभिन्न स्वदेशी तथा विदेशी सहयोग दाताले गरेको आर्थिक सहयोग नै एकेडेमी सञ्चालनको स्रोत हुन्।’ सहारा क्लबको वैदेशिक शाखा सहारा हङकङ, सहारा युके, सहारा अष्ट्रेलिया सहित अन्य विभिन्न दाताहरुकै सहयोगले एकेडेमी सञ्चालनमा सहज भएको क्लबका अध्यक्ष गुरुङको भनाई थियो।  

क्लबले २२ औं संस्करणको गोल्डकप फुटबल प्रतियोगिता गएको पुसमा आयोजना गरेको थियो। २२ औं संस्करण टुंगिदाँ क्लबले १२ औं संस्करणको उपाधि भने आफैंले रक्षा गरेको थियो। एउटा व्याचलाई दशवर्ष एकेडेमीमा राख्दा क्लबले ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ। ‘एकेडेमीमा राखेपछि बिदाई(फेजआउट) भईन्जेलसम्म झण्डै १० वर्ष क्लबले २० देखि ३० लाख रुपैयाँ खर्च हुन्छ,’ अध्यक्ष गुरुङले भने, ‘सानो उमेर हुदाँसम्म एकलाख रुपैयाँले पुग्छ। दशजोड दुई अध्ययनसम्म आईपुग्दा तीनलाख रुपैयाँसम्म खर्च हुन्छ।’ क्लबले उनीहरुको पालनपोषण, पठन पाठनमा खर्च हुदैं आएको जनाएको छ।

क्लबले एकेडेमीकै लागि अक्षयकोष समेत बनाएको छ। अक्षयकोषबाट प्राप्त व्याजलाई समेत एकेडेमीमा खर्च गर्दै आएको क्लबले जनाएको छ। अक्षयकोषमा २ करोड ४० लाख रुपैयाँ रहेको क्लबका अध्यक्ष गुरुङले बताए।  

प्रकाशित: १६ चैत्र २०७९ ०८:५१ बिहीबार

सहारा एकेडेमीको चौथो ‘व्याच’ बैशाखदेखि