खेल

सिमरा गोल्डकपमा दश टिम

बारा- बारा जिल्लामा पछिल्लो सात वर्षदेखि लगातार हुँदै आएको  रुस्लान सिमरा गोल्डकपको आठौं संस्करणमा शहिद स्मारक 'ए' डिभिजनका पाँच र मोफसलका पाँच गरी १० टिम सहभागि हुने भएका छन्।

'ए' डिभिजनका लक्ष्मी हुन्डाई मनाङ मर्सयाङदी, त्रिभुवन आर्मी, नेपाल एपिएफ, सिमएमजी संकटा र सरस्वती युथ क्लबले प्रतियोगिताका लागि सिमरा भ्रमण गर्ने सम्भावना रहेको आयोजक नव जन जागृति युवा क्लबका अध्यक्ष कासिम मियाँले शनिबार पत्रकार सम्मेलनमा जानकारी गराए। यसैगरी साविक विजेता विजय युथ क्लब, उपविजेता रुपन्देही ११, पोखराको सहारा क्लब, वीरगञ्ज युनाइटेड र आयोजक नव जागृति युवा क्लबले पनि उपाधिका लागि चुनौती प्रस्तुत गर्ने उनले बताए।

'अहिले सम्भावित टिमहरुको नाम सार्वजनिक गरेका छौं। यसमा केही हेरफेर हुन सक्छ,' अध्यक्ष मियाँले भने।

माघ २० देखि २९ गतेसम्म चल्ने प्रतियोगिताको विजेता र उपविजेताले अघिल्लो संस्करणको जस्तै ५ लाख ५१ हजार र २ लाख ५० हजार रुपैयाँ पाउने क्लबका सचिव शम्भुसिंह ठकुरीले बताए। ठकुरीका अनुसार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले गतवर्ष झै सुजुकीको मोटरसाइकल पाउनेछ भने उत्कृष्ट प्रदर्शन गर्ने गोलकिपर, रक्षक, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र सर्वाधिक गोल गर्ने एक/एक जनाले जनही १५ हजार रुपैयाँ पाउनेछन्। यसैगरी प्रत्येक खेलका म्यान अफ दी म्याचले ५ हजार रुपैयाँ पाउनेछन्।

प्रकाशित: ३ पुस २०७३ ०३:३७ आइतबार

सिमरा गोल्डकपमा दश टिम