खेल

बलियो प्रतिद्वन्द्वीविरुद्ध सुखद नतिजाको लक्ष्य

पेरिस ओलम्पिकका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली अहिले बन्द प्रशिक्षण रहेर तयारी गरिरहेको छ। प्रारम्भिक टोली अहिले अभ्यासमा व्यस्त रहँदा नेपालको लक्ष्य बलियो प्रतिद्वन्द्वीविरुद्ध सुखद नतिजा निकाल्ने रहेको छ। बलियो टोलीविरुद्ध पहिलो पटक खेल्न लागेको नेपाली टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले भारतसँगको मैत्रीपूर्ण खेलपछि लगत्तै क्याम्पमा बसेर तयारी गरिरहेको र तयारी राम्रो रहेको बताएकी छिन्।

एसिया छनोटको पहिलो चरणमा भियतनामसँग मात्र नेपालले छनोट खेल्दै छ। नेपाल सम्मिलित समूह ‘सी’ मा प्यालेस्टाइन र अफगास्तिान रहे पनि अन्तिम समयमा आन्तरिक कारण देखाउँदै नाम फिर्ता लिएपछि नेपालले एउटा मात्र प्रतिद्वन्द्वी पाएको हो। आयोजनाको जिम्मा पनि नेपालले पाएको छ। भियतनाम नेपालका लागि बलियो टोली भए पनि घरेलु मैदानमा राम्रो खेल्दै सुखद नतिजा दिलाउने लक्ष्यमा रहेको कप्तान एन्जिलाले बताएकी हुन्।

‘बलियो म्यानमारविरुद्ध बराबरी खेलिसकेको अनुभव हामीले लिएका छौं। वरीयताले खेल निर्धारण हुने होइन। राम्रो खेल्न सक्यो भने वरीयता माथि रहेको टोलीविरुद्ध पनि राम्रो नतिजा निकाल्न सकिन्छ। सोहीअनुसार हामीले तयारीलाई तीव्रता दिइरहेका छौं। टोलीको मिहिनेत राम्रो भएकाले प्रतिस्पर्धा राम्रो हुनेमा म विश्वस्त छु,’ कप्तान एन्जिलाले भनिन्, ‘गीता राना नभएको अवस्थामा उनको अभाव खड्किने भए पनि नयाँ खेलाडीले गीताको अभावलाई पूरा गर्नेछन्। पूजा रानाको पुनरागमनले पनि टोली मजबुत अवस्थामा छ। भारतसँगको मैत्रीपूर्ण खेलपछि क्याम्पमा नै बसेर तयारी गर्दा लक्ष्य पूरा हुने अपेक्षा लिएकी छु।’

नेपालसँग प्रतिस्पर्धा गर्न लागेको भियतनाम टोली दक्षिण पूर्वी एसियाको सफल टोलीका रूपमा परिचित टोली हो। एसियाको छैटौं  वरीयतामा रहेको भियतनामले १९९४ देखि नियमिति रूपमा फिफा विश्वकपमा सहभागी हुँदै आएको छ। नेपालमा आयोजना हुन लागेको खेलमा युवा खेलाडीको बाहुल्य भएको र उनीहरूले राम्रो खेल्नेमा स्ट्राइकर सावित्रा भण्डारी पनि विश्वस्त छन्। यु–२० का नयाँ खेलाडीहरू टिममा समावेश भएको र तयारी राम्रो भइरहेको भन्दै घरेलु मैदानको भरपूर उपयोग गर्दै नेपालीलाई सुखद नजिा दिलाउने उनले बताइन्।

‘घरेलु समर्थकको साथ र मैदानको फाइदा उठाउँदै आफ्नो टोलीले जितको लक्ष्य लिएर तयारी गरिरहेको छ। गीताको अभाव नयाँ खेलाडीले पूरा गर्नेछन्। भारतसँग विगतमा खेल्दै बटुलेका अनुभवलाई सदुपयोग गर्न सके बलियो टोलीविरुद्ध सुखद नतिजा निकाल्न सकिन्छ,’ सावित्राले भनिन्।

यस्तै प्रशिक्षक अनन्तराज थापाले पनि तयारी अपेक्षाभन्दा धेरै राम्रो भएको र बलियो टोलीविरुद्ध नेपाली टोलीले ऐतिहासिक खेल प्रदर्शन गर्ने जनाए। भियतनामजस्तो टोलीसँग छनोट खेल्नु नेपालका लागि राम्रो अवसर भएको र यस खेलबाट नेपाली टोलीमा भएका कमीकमजोरीलाई सुधार गर्ने मौका प्राप्त हुने प्रशिक्षक थापाले बताए।

‘स्तरीय खेल देखाएर नेपाली महिला टोली पनि उदाउँदै छ भनेर प्रमाणित गर्ने अवसर भियतनामविरुद्धको खेल हो। त्यसैले टोलीले कडा मिहिनेत गरेको छ,’ प्रशिक्षक थापाले भने, ‘टोलीमा पूजा रानाको पुनरागमन राम्रो भएको छ। बिहीबार अन्तिम नाम सार्वजनिक गर्ने तयारी गरिरहेका छौं। यु–२० को खेलाडीहरूको प्रदर्शन निकै सन्तोषजनक छ। यु–२० मा गरेको प्रदर्शनजस्तै राष्ट्रिय टोलीमा पनि समावेश हुँदा न्याय गर्ने विश्वास मैले लिएको छु। दुई साताको अभ्यासले समग्र टोलीमा हौसला मिलेको छ।’

छनोट खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदै छ। छनोटमा नेपालले विश्वकप खेलिसकेको भियतनामसँग खेल्दै छ। नेपालले चैत २२ र २५ गते भियतनामसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ। दुवै खेल साँझ ६ बजे सुरु हुनेछ। छनोटको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउनेछ। 

प्रकाशित: १६ चैत्र २०७९ ०१:१७ बिहीबार

छनोट खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बलियो प्रतिद्वन्द्वीविरुद्ध सुखद नतिजाको लक्ष्य