खेल

महिला टिममा सात नयाँ अनुहार

काठमाडौं- सात नयाँ खेलाडीलाई टोलीमा समावेश गदै प्रशिक्षक कुमार थापाले राष्ट्रिय महिला फुटबल टोली छनोट गरेका छन्। शुक्रबार घोषणा गरिएको २० सदस्यीय नेपाली टोलीमा गोलकिपर अन्जना राना मगर, रक्षक कबिता धिमाल, गीता राना, मञ्जली कुमारी योञ्जन, स्ट्राइकर सरु लामा, निर्मला विक, शर्मिला थापाले पहिलो पटक स्थान बनाए।

 १५ वर्षे मध्यमाञ्चलकी अन्जना महिला टोलीकी कान्छी सदस्य हुन। एक महिना अघि काठमाडौंमा भएको प्रधानसेनापति अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबलको फाइनल खेलेको मध्यमाञ्चलबाट अन्जलीले मात्र राष्ट्रिय टोलीमा स्थान बनाइन। 

यसैगरी रेनुका नगरकोटीले पहिलो पल्ट महिला राष्ट्रिय टोलीको कप्तानी सम्हाल्ने भएकी छिन। तेस्रो साफ महिला फुटबल च्याम्पियनसिपमा कप्तानी गरेकी अनु लामा घाइते भएर उपचार गराईरहेकी छिन। घाइते भएकी अनु बन्द प्रशिक्षणमा समेत सहभागी हुन नसकेपछि अनुभवको आधारमा रेनुकालाई कप्तानको जिम्मेवारी दिएको प्रशिक्षक थापाले बताए। यसैगरी अञ्चली वाइवाले उपकप्तानको रुपमा रेनुकालाई सघाउने छिन।

नेपालले भारतमा हुन लागेको चौथो महिला साफ च्याम्पियनसिपको तयारीलाई तिव्रता दिइरहेको छ। अखिल नेपाल फुटबल संघ(एन्फा)ले शुक्रबार चौथो साफ महिला फुटबलको लागी खेलाडी छनोट गरेको बताएको छ। पुस ११ देखी भारतको सिलगढीमा साफ महिला फुटबल हुदैछ। प्रतियोगिताको लागी नेपालले एक महिना अघि देखी बन्द प्रशिक्षण सुरु गरेको थियो। २० सदस्यी नेपाली महिला फुटबल टोलीमा ३ गोलकिपर, ६ रक्षक, ७ मिडफिल्डर र ४ स्ट्राइकर रहेका छन। राष्ट्रिय महिला टोलीका प्रशिक्षक कुमार थापा, प्रशिक्षक अस्मिता खवास सहितको एन्फा टोलीले बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट फाइनल टिम छनोट गरेको हो।

नेपालले साफ फुटबल अघि घरेलु मैदानमा मलेसियासँग मैत्रीपुर्ण खेल खेल्दैछ। नेपाल र मलेसियाले सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा पुस २ गते मैत्रीपुर्ण खेल खेल्ने कार्यक्रम तय भैसकेको छ। त्यसका लागी मलेसियाली टोली मंसिर ३० गते नेपाल आउने एन्फाले बताएको छ।

साफ महिला च्याम्पियनसिपमा नेपाल लगातार तीन पटक उपविजेता बन्दै फर्किएको छ। तीन पटक फाइनलमा नेपाललाई भारतले हराउँदै आएको छ।

करिब ८ महिना अघि नेपाली महिला टोलीले भारतमा १२औं दक्षिण एसियाली खेलकुद(साग) खेलेर आएको थियो। साफ च्याम्पियनसिप फुटबलको चौथो संस्करणको समुह 'ए' रहेको नेपालले श्रीलंका, माल्दिभ्स, भुटानसँग खेल्नेछ। अर्को समुह 'बी'मा साविक विजेता भारतले अफगानिस्तान र बंगलादेशको सामना गर्नेछ।

प्रशिक्षक थापाले तत्कालिन समयको प्रदर्शन र फिटनेसलाई मुख्य आधार बनाएर खेलाडी छनोट गरेको बताए। 'अनुभवले खेलमा सहयोग गर्छ। तर मैले नयाँ प्रतिभाको क्षमतालाई हेरेर अवसर दिएको छु। उनीहरुले पछिल्लो समय गरेको मेहनतले टिममा स्थान बनाएका हुन, थापाले भने, 'समग्रमा नेपाली टिम मिश्रित छ। नयाँ खेलाडीले धेरै स्थानमा आफुलाई बलियो रुपमा देखाएको छन। मैत्रीपुर्ण खेलले थप उनीहरुको क्षमतालाई मुल्याङकन गर्ने अवसर मिल्नेछ।'

प्रशिक्षक थापाले अब अन्तिम लक्ष्यका लागी मानसिक रुपमा खेलाडीलाई तयार बनाउन लाग्ने बताए। उनले भने, 'हामीलाई यसपटक खेलाडी छनोट गर्न कठिन भएको थियो। पुराना खेलाडीले बन्द प्रशिक्षणमा राम्रो गरिरहेको थिए। नयाँ खेलाडीको खेल्ने शैली राम्रो छ। हामीले सक्दो क्षमतावान खेलाडीलाई टोलीमा समेटने प्रयास गरेको छौं। केहि राम्रो खेलाडी भएर पनि पोजसन कारण टोलीमा पर्न सकेनन।'

प्रकाशित: २५ मंसिर २०७३ ०३:१६ शनिबार

महिला टिममा अनुहार