खेल

खेलाडी चोटको चिन्तामा भारत

मुम्बई- इङ्ल्यान्डविरुद्धको चौथो टेस्टको अघिल्लो दिन साँझ ब्याट्सम्यान अजिन्क्या रहानेको चोटले घरेलु टोली चिन्तित बनेको छ। बुधबार साँझ अभ्यासक्रममा रहाने घाइते भएपछि शृंखलाको बाँकी खेल गुमाउने भएका छन्।

भारतीय क्रिकेट बोर्डले उपकप्तान रहानेलाई मुम्बईस्थित वाङ्खडे रंगशालाको अभ्यासमा बलले लागेर औंलामा चोट लागेको जनाएको छ। बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘शृंखलाका बाँकी दुई खेलबाट रहाने बाहिरिएका छन्। उनको स्थान २८ वर्षे दायाँहाते ब्याट्सम्यान मनीष पाण्डेले लिनेछन्।’

त्यसअघि कप्तान विराट कोहलीले घाइते केही खेलाडीको पुनरागमनबाट उत्साही भएको बताएका थिए। उनले ह्यामस्ट्रिङ चोटबाट लोकेश राहुल मुक्त भएको भन्दै मुरली विजयसँग ओपनिङ ब्याटिङ गर्न सक्ने संकेत गरेका थिए। तर उनले तीव्र गतिका बलर मोहम्मद सामीको अवस्था भने शंकास्पद रहेको बताएका थिए। ८ विकेटले जितेको तेस्रो टेस्टमा सामीले १ सय रन दिएर ५ विकेट लिएका थिए। मध्यम गतिका बलर शार्दुल ठाकुरलाई तयारी अवस्थामा राखिएको छ। 

‘मोहालीमा सम्पन्न टेस्टपछि सामीको घँुडामा समस्या देखिएको छ। उनको स्थानमा हामीले अरुलाई खेलाउनुपर्ने हुनसक्छ किनकि उनको केही समयअघि मात्रै घुँडाको शल्यक्रिया भएको थियो,’ कोहलीले भने, ‘हामी उनलाई दबाब दिन सक्दैनौं। एउटा खेलका कारण उनलाई यो सिजनभर गुमाउन चाहन्नौं।’

पाँच खेल शृंखलामा भारत २–० ले अघि छ। राजकोटको पहिलो टेस्ट बराबर भएको थियो भने बिशाखापट्टनम र मोहालीमा भारत विजयी भएको थियो। यदि मुम्बईमा विजयी भए भारतलेशृंखला जित्नेछ। उता मुम्बईमा विजयी हँुदै इङ्ल्यान्ड शृंखला जोगाउने अभियान छ। उक्त खेल हारेमा इङ्ल्यान्डका कप्तान एलिस्टर कुकको कप्तानी भविष्यमा पनि प्रश्न खडा हुनसक्छ।

तर प्रशिक्षक ट्रेभर बेलिसिसले २०१७ को अन्त्यतिर हुने एसेज शृंखलासम्म कुक नै कप्तान रहने बताएका छन्। ब्याट्सम्यान जोएरुटले कप्तानमा उत्कृष्ट नेतृत्वदायी क्षमता रहेको भन्दै कुकलाई साथ दिइरहेका छन्। उनले भने, ‘पछिल्लो दुई साता हाम्रो लागि नराम्रो रहे पनि आशा गरौं बाँकी दुई खेलमा हामीले राम्रो गर्नेछौं।’

१९ वर्षे हसिब हमिद घाइते भए पनि उनको स्थान केटोन जेनिङ्सले लिने सम्भावना छ। दक्षिण अफ्रिकामा जन्मेका २४ वर्षे जेनिङ्सका लागि यो डेब्यु खेल हुनेछ। त्यस्तै अलराउन्डर लिम डाउसनको स्थानमा बायाँहाते स्पिनर जाफर अन्सारीले लिने सम्भावना छ। तीव्र गतिका बलर स्टुवार्ट ब्रोडको पुनरागमनबाट भने इङ्ल्यान्ड उत्साही छ।

प्रकाशित: २३ मंसिर २०७३ ०३:४३ बिहीबार

खेलाडी चोटको चिन्तामा भारत