खेल

चैत तेस्रो साता गौरीगंगा गोल्डकप

प्रतियोगिता बारे पत्रकार सम्मेलनमार्फत् जानकारी दिँदै आयोजक गौरीगंगा–११ स्पोर्टस क्लबका पदाधिकारीहरु। तस्बिरः नागरिक

तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकप–२०७९ हुने भएको छ। ‘खेलौ फुटबल रमेर, फुटबलको सन्देश, शान्ति स्थायित्व र एकतावद्ध देश’ भन्ने नाराका साथ गौरीगंगा–११ स्पोर्टस क्लबको आयोजनामा चैत २१ गतेदेखि ३० सम्म प्रतियोगिता हुने भएको छ।

सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धन, नगर क्षेत्रलाई खेलकुदको चहलपहल बढाउने, व्यावसायिक खेलाडी बनाउन तथा युवालाई खेलकुदमा लाग्न अभिप्रेरित गर्नका लागि प्रतियोगिता गरिन लागेको क्लवका अध्यक्ष दिनेश कलेलले बुधबार पत्रकार सम्मेलनमार्फत् जानकारी दिए। प्रतियोगितामा १० टिमको सहभागिता रहने बताइएको छ।

प्रतियोगिताको विजेतालाई ट्रफीसहित नगद ४ लाख र उपविजेता नगद २ लाख पुरस्कार प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार प्रदान गरिने बताइएको छ। साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षकलगायत अन्य विधाका खेलाडीलाई नगद १० हजार पुरस्कार प्रदान गरिने छ भने प्रतियोगिताको ‘म्यान अफ द म्याच’ नगद ५ हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ।

प्रकाशित: ८ चैत्र २०७९ १२:१४ बुधबार