खेल

'एल क्लासिको' मा बार्सिलोनाको व्यग्रता

मड्रिड- सिजनकै पहिलो 'एल क्लासिको' भिडन्तका लागि शनिबार क्याटलन भ्रमणमा निस्कने रियाल मड्रिडभन्दा घरेलु टोली बार्सिलोना जितप्रति व्यग्र हुनेछ। स्पेनिस ला लिगाको साबिक विजेता बार्सिलोना उपाधि दौडमा रियालभन्दा ६ अंकले पछि छ। त्यसैले पनि घरेलु मैदानमा जित निकाल्दै अंक दुरी छोट्याउने बार्सिलोनाको दाउ छ।

अप्रिलमा बार्सिलोनाविरुद्ध भएको भिडन्तपछि रियालले लिगमा थप १५ अंक जोडिसकेको छ। प्रशिक्षक जिनेदिन जिदानेको प्रशिक्षणमा रियालले सबैखाले प्रतियोगितामा आफ्नो अपराजित यात्रा ३१ खेलसम्म कायमराखेको छ।

'शनिबार हामीले रियालभन्दा उत्कृष्ट प्रदर्शन गर्नु जरुरी छ। उनीहरूलाईहारले खासै फरक पर्दैन तर हामीसँग जितको विकल्प छैन,’ बार्सिलोनाका रक्षक जेरार्ड पिकेले भने।

अहिले बार्सिलोनाले सुरुआत पछिल्लो ९ सिजनमध्येकै सबैभन्दा खराब हो। तर प्रशिक्षक लुइस इनरिकेले संस्थागत अभाव झेलिरहेको बार्सिलोना सम्हालेको पहिलो सिजनमै तीनप्रमुख उपाधि दिलाउन सफल भएको भन्दै सञ्चारमाध्यममा आएको आलोचनाले कुनै अर्थ नराख्ने बताएका छन्।

'हामी सबैखाले प्रतियोगिताको उपाधि जित्न सक्षम टोली हौं तर यो वास्तविकता हो कि हामीले सुधारिएको प्रदर्शन गर्नु जरुरी छ,’ इनरिकेले भने,'हाम्रो प्रदर्शनमा एकरुप छैन तर यसैलाई उचाल्नु उचित होइन। मेरो पहिलो सिजनमा पनि आलोचना भएको थियो तर हामीले तीन उपाधि जित्दै सिजन अन्त्य गरेका थियांै।’

क्लब फुटबलकै ठूलो खेल मानिने एल क्लासिको खेल विश्वभर ६५ करोड दर्शकले हेर्ने ला लिगाको तथ्यांकले देखाएको छ।

'म यसलाइ अर्को एक खेलका रूपमा मात्र लिन्न। यो धेरै महŒवपूर्ण खेल हो। यसको विशेष अर्थ र स्वाद छ,’ रियालका अध्यक्ष फ्लोरेन्टो पेरेजले भने,'यस खेलको प्रभाव विश्वभर रहन्छ। विश्वकपजस्तै यो खेल पनि करोडौं मानिसले हेर्छन्।'

पाँच वर्षमा पहिलो ला लिगा उपाधि जित्ने लक्ष्यमा रहेको रियालका प्रशिक्षकजिदानेले नोउ क्याम्पमा हुने नतिजा उपाधिका लागि निर्णायक नहुने बताए।

'म परिणामबारे सोचिरहेको छैन,’ कोपा डेल रे अन्तर्गत बुधबार सम्पन्न कल्चरल लियोनेसाविरुद्ध ६–१ को जित दर्ता गराएको खेलमा आफ्नो छोरा इन्जोले डेब्यु खेलमै गोल गरेपछि प्रतिक्रिया दिँदै उनले भने, ‘हामी खेलमा उत्कृष्ट प्रदर्शन गर्ने बारे सोचिहेका छांै। यही खेलले उपाधिटुंगो लाग्ने होइन। हामीले लिगमा अझै लामो यात्रा तय गर्नुछ। त्यसैले यही खेल हाम्रो उपाधि अभियानको निर्णायक हुनेहोइन।’

खेलाडीको चोटले भने दुवै क्लबलाई केही चिन्तित बनाएको छ। रियाल आफ्ना विङ्गर गारेथ बेल र टोनी क्रुजबिना मैदान उत्रनेछ।  कुर्कुच्चाको शल्यक्रियापछि बेल चार महिना मैदान बाहिर छन्। खुट्टाको चोटका कारण क्रुजले पनि बेलकै बाटो लिएका छन्।

दुई महिनापछि पहिलोपल्ट मैदानमा उत्रिन लागेका मिडफिल्डर कासिमेरोले क्रोएसियाली खेलाडीद्वय लुका मोड्रिच र माटियो कोभिसिसलाई मिडफिल्डमा सघाउनेछन्।

बेलको अनुपस्थित हुँदापछिल्लो दुई लिग खेलमा ५ गोल गर्दै उच्च गोलकर्ताबनेका क्रिस्टियानो रोनाल्डोलाई करिम बेन्जिमा र लुकास भाज्क्युजले अग्रपंक्तिमा साथ दिनेछन्।

रियाल सोसिडाडविरुद्ध १–१ गोलको बराबरीमा सकिएको खेलमा घाइते रहेका जेरार्ड पिके र जोर्डी अल्बाको फिटनेसलाई लिएर बार्सिलोना चिन्तित छ।

आफ्नो कप्तान आन्द्रेज इनिइस्टा मैदानमा फर्किने हुँदा बार्सिलोनालाई केही राहत मिल्नेछ। अग्रपंक्तिका लियोनल मेसी, लुइस स्वारेज र नेइमार पूर्णफिट रहेकाले क्याटलन क्लब थप हौसिएको छ।

शीर्ष दुई टोलीको भिडन्तका कारण सेभिया र एट्लेटिको मड्रिडलाई भने अंकतालिकामा माथि उक्लने अवसर रहन्छ।

बार्सिलोनासँग समान अंक भए पनि सेभिया गोलअन्तरका आधारमा तेस्रो स्थानमा छ। शनिबार जितविहीन रहेको ग्रानाडाविरुद्ध जित निकाले सेभियालाई रियालसँगको दुरी घटाउने अवसर छ।

दुई साताअघि मड्रिड डर्बीमा रियालसँग पराजित भएयता एट्लेटिकोले ३ खेल जितेकोछ। एट्लेटिकोले विपक्षी पोस्टमा ११ गोल गर्दा कुनै गोल भने खाएको छैन।

डिएगो सिमोनीको एट्लेटिकोले विजय यात्रा यथावत राख्न भिसेन्ट काल्डरोनमा स्पान्योललाई पराजित गर्नुपर्छ। स्पान्योल पनि पछिल्लो ७ खेलमा अपराजित छ।

ला लिगामा शनिबार

बार्सिलोनाविरुद्ध रियाल मड्रिड

ग्रानाडाविरुद्ध सेभिया

लेगानेसविरुद्ध भिल्लारियाल

एट्लेटिको मड्रिडविरुद्धस्पान्योल

 

प्रकाशित: १८ मंसिर २०७३ ०३:३६ शनिबार

एल क्लासिको बार्सिलोनाको व्यग्रता