खेल

मुकेश र राजपुरा पहिलो

नेपाल आर्मीका मुकेशबहादुर पाल र नेपाल पुलिसकी राजपुरा पछाईं शनिबार तेस्रो मदन भण्डारी स्मृति पाँच किमी रोड रेसमा शनिबार पहिलो भएका छन्।

खुलातर्फ पुरुषमा मुकेश र महिलामा राजपुरा पहिलो भएका हुन्। रन क्लब नेपालद्वारा आयोजित दौडमा मुकेशले निर्धारित दूरी १५ मिनेट २२.९ सेकेन्डमा पूरा गरे। आर्मीकै सञ्जय श्रेष्ठ दोस्रो तथा गजेन्द्र राई तेस्रो भए। निर्धारित दूरी तय गर्न सञ्जयले १५ मिनेट २७.५ सेकेन्ड तथा गजेन्द्रले १५ मिनेट ३१.९ सेकेन्ड समय खर्चिए।

राजपुराले शीर्ष स्थान हात पार्ने क्रममा १८ मिनेट १६.२ सेकेन्ड समय निकालिन्। दोस्रो भएकी पुलिसकै राममाया बुढाले १८ मिनेट १६.५१ सेकेन्डमा दौड सकाइन्। तेस्रो स्थानकी आर्मीकी पूरनलक्ष्मी न्यौपानेको समय १८ मिनेट १७.०५ सेकेन्ड रह्यो। पुरुष/महिलामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १२ हजार र ८ हजार नगद पुरस्कार पाए।

स्कुलतर्फ छात्रमा विकेश घिमिरे पहिलो तथा नवराज गुरुङ दोस्रो भए। सो स्पर्धाको छात्रामा सोनु घतानीले स्वर्ण, पूर्णिमा श्रेष्ठले रजत तथा जेशिका महर्जनले कांस्य जिते। छात्रछात्रामा पहिलो हुनेले १० हजार, दोस्रोले पाँच हजार र तेस्रोले तीन हजार नगद पुरस्कार प्राप्त गरे।

विजेतालाई म्याराथनका कीर्तिमानी धावक वैकुण्ठ मानन्धर, नेपाल एथलेटिक्स संघका सचिव आरके विष्ट, नेपाल र्‍याफटिङ एन्ड क्यानोइङ संघका कार्यवाहक अध्यक्ष राजीव श्रेष्ठ र पूर्वधावक बुद्धवीर लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।

प्रकाशित: ५ चैत्र २०७९ ०३:२३ आइतबार

तेस्रो मदन भण्डारी स्मृति पाँच किमी रोड रेस