खेल

सेन्ट्रल एसियन महिला भलिबल नेपालमा हुने

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कप नेपालमा आगामी  जेठ महिनामा आयोजना हुने भएको छ।

शुक्रबार नेपाल भलिबल संघले पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको मिति सार्वजनिक गरेको हो। जस अनुसार प्रतियोगिता जेठ ६ देखि १५ गतेसम्म नेपालमा आयोजना हुनेछ। शुक्रबारै भलिबल संघले प्रतियोगिताको लोगो समेत सार्वजनिक गरेको छ। १० दिनसम्म चल्ने प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आयोजना हुनेछ। त्यसका लागि दक्षिण एसिया तथा सेन्ट्रल एसियाका ८ राष्ट्रको सहभागिता रहने निश्चित भइसकेको छ।

प्रतियोगितामा भारत, माल्दिभ्स, बंगलादेश, श्रीलंका, कजाकस्तान, किर्गिस्तान, उज्बेकिस्तान र आयोजक नेपालले प्रतिस्पर्धा गर्ने भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले पत्रकार सम्मेलनमा जानकारी दिए। प्रतियोगिताको आयोजनाको खर्च अनुमानित २ करोड ५० लाख रूपैयाँ रहेको संघले बताएको छ। प्रतियोगिताका लागि राखेपले ५० लाख सहयोग गर्नेछ। 

प्रकाशित: ४ चैत्र २०७९ ०४:३१ शनिबार

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कप नेपाल