खेल

अस्ट्रेलियाको वहुप्रतिक्षित जित

एडेलेइड- लगातार पछिल्ला पाँच टेस्टमा पराजित भएको अस्ट्रेलियाले विजयी बाटोमा पुनरागमन जनाउने क्रममा आइतबार एडेलेइडमा दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्टमा ७ विकेटको जित निकालेको छ। टोलीमा ५ खेलाडी परिवर्तन गरेपछि लय समातेको अस्ट्रेलिया अघिल्लो २ खेलमा पराजित भएको थियो। गुलाबी रंगको बलले खेलिएको दिवा–रात्री टेस्टमा घरेलु टोलीले १ सय २७ रनको विजयी लक्ष्य पछ्याएको थियो। जुन अस्ट्रेलियाले ३ विकेट गुमाएर पूरा गरेको हो। दोस्रो इनिङमा दक्षिण अफ्रिकाले २ सय ५० रन जोड्दा सबै विकेट गुमाएपछि अस्ट्रेलियाले १ सय २७ रनको लक्ष्य पाएको थियो।

शृंखलाको अन्तिम टेस्टमार्फत अस्ट्रेलियाका लागि डेब्यू गरेका पिटर ह्यान्डकोम्बले विजयी रन प्रहार गरेका थिए। ४० रन बनाएका कप्तान स्टिभ स्मिथ केली एब्बोटको बलमा आउट भएपछि ह्यान्डकोम्ब क्रिजमा आएका थिए। जतिबेला घरेलु टोलीलाई जितका लागि २ रन आवस्यक थियो।

‘यो शृंखला खराव रहे पनि आजको जितले केही राहत दिएको छ। अघिल्लो दुई खेलमा हाम्रो प्रदर्शन विर्सनलायक रह्यो,’ अस्ट्रेलियाका कप्तान स्मिथले भने, ‘तर यो खेलमा टोलीले जसरी पुनरागमन गर्‍यो त्यसबाट म गौरवान्वित छु। नयाँ खेलाडी टोलीमा आएका छन्। उनीहरुले आफूलाई प्रमाणित पनि गरेका छन्।’

अस्ट्रेलियाको जितमा डेब्यू गरेका अर्का खेलाडी म्याथ्यू रेनशोले अविजित ३४ रनको योगदान गरे। डेविड वार्नर ४७ रनमा रनआउट भए भने उस्मान ख्वाजा शुन्यमा पवेलियन फर्किए। वार्नरले ५१ बलमा ७ चौका प्रहार गरेका थिए।

आइतबारको जितसँगै अस्ट्रेलिया घरेलु मैदानमा क्लिन स्विप हुनबाट जोगियो। फेब्रुअरीमा  क्राइसचर्चमा न्युजिल्यान्डलाई जिते पछि टेस्टमा अस्ट्रेलियाको यो पहिलो जित हो। २२ वर्षअघि सिड्नीमा पाएको चर्चित सफलता दक्षिण अफ्रिकाले आइतबार दोहर्‍याउन सकेन। त्यतिबेला अस्ट्रेलियालाई १ सय ११ रनमा आउट गर्दै दक्षिण अफ्रिका ५ रनले विजयी भएको थियो।

‘म निकै खुशी छु। हाम्रो लक्ष्य पूरा भएको छ। तथापी अन्तिम ४ दिन हामीले राम्रो गर्न सकेनौं। हामी यहाँ शृंखला जित्ने उद्देश्यका साथ आएका थियौं, जुन हामीले होबर्टमा पूरा गरिसकेका थियौं,’ दक्षिण अफ्रिकाका कप्तान फाफ डु प्लेसिसले भने, ‘अस्ट्रेलियालाई २–१ ले पराजित गर्नु सजिलो काम होइन।’

भ्रमणकारी टोलीले १९४–६ को स्थितीबाट चौंथो दिनको सुरुआत गरेको थियो। बिहानी सत्रको सुरुमै क्विन्टन डी कक ५ रन बनाउँदा ज्याक्सन बर्डको बलमा एलबिडब्लु आउट भए। १७ रन बनाएका भेर्नोन फिलान्डरलाई मिचेल स्टार्कले एलबिडब्लु आउट गरे। ७ रन बनाएका कागिसो रावाडा जोस हाज्लेउडको बलमा म्याथ्यु वेडको हातबाट समातिए।

अस्ट्रेलियाका पूर्व ओपनर फिलिप ह्युजको सम्झनामा दुवै टोलीका खेलाडीले पाखुरामा कालो पट्टी बाधेका थिए। ह्युजको सिड्नीमा घरेलु लिग खेल्दा बलले टाउकोमा लागेर मृत्यु भएको थियो। गुलाबी रंगको बल प्रयोग गरिएको दिवा–रात्री टेस्टको ४ दिनमै १ लाख २६ हजार दर्शक उपस्थित भएका थिए।

प्रकाशित: १३ मंसिर २०७३ ०३:३० सोमबार

अस्ट्रेलियाको वहुप्रतिक्षित जित