खेल

श्रीलंकासँग भिड्दै महिला क्रिकेट टोली

काठमाडौं- नेपालले एसिया कप महिला ट्वान्टी–२० क्रिकेटमा मंगलबार टेस्ट राष्ट्र श्रीलंकासँग खेल्दैछ। थाल्यान्डमा जारी प्रतियोगिताको पहिलो खेलमा शनिबार नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो।

पाकिस्तानसँगको खेलमा नेपाली टोली सबै पक्षमा निराशाजनक प्रदर्शनमा सिमित भएको थियो। प्रतियोगिताअघि प्रशिक्षक राजु बस्न्यातले ब्याटिङमा सुधार गर्दै टेस्ट राष्ट्रलाई हराउने लक्ष्य लिएको बताएका थिए।

श्रीलंकासँग महिला क्रिकेटमा नेपालको भेट हुन लागेको यो दोस्रो अवसर हो। यसअघि २०१२ मा चीनमा भएको महिला ट्वान्टी–२० एसिया कप क्रिकेटको समूह चरणमा श्रीलंकासँग नेपालको पहिलो पटक भेट भएको थियो। त्यतिबेला नेपालले श्रीलंकालाई २० रनको नतिजा सुम्पिएको थियो। श्रीलंकाविरुद्ध एसिया कप खेलेका नेरी थापा, इन्दु बर्मा, सरिता मगर, सीता राना मगर, नीरा राजोपाध्याय, रुविना क्षेत्री र रश्मी बोहरा यसपालीको टोलीमा पनि छन्। तर सिनियर खेलाडीले खेलमा कुनै प्रभाव जमाउन सकिरहेका छैनन्।

टेस्ट्र राष्ट्रमाथी जित पाउनु नेपालका लागि कठिन भए पनि टोली अझैसम्म आफ्नै स्तरअनुसारको प्रदर्शनबाट समेत चुक्दै आएको छ। पाकिस्तानविरुद्ध रुविनावाहेक कसैले दोहोरो स्कोर गर्न सकेका थिएनन्। रुविनाले बनाएको ११ रन त्यो खेलमा नेपाली खेलाडीको सर्वाधिक व्यक्तिगत स्कोर थियो। बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा नेपालले दिएको ४८ रनको लक्ष्य पाकिस्तानले १० ओभरमा १ विकेट गुमाएर पूरा गरेको थियो।

नेपाली महिला टोलीमा अहिले पनि अनुभवी खेलाडीको बाहुल्य छ। रुविनासँगै पूर्व कप्तान नेरी, इन्दु, सीता, सरिता जस्ता खेलाडी झण्डै ८ वर्ष अघिदेखी राष्ट्रिय टोलीको हिस्सा रहँदै आएका छन्। तथापि उनीहरु मैदानमा संघर्षरत रहनु नेपाली टोलीको सबभन्दा ठूलो चिन्ताको विषय हो।

त्यसोत श्रीलंका पनि जारी प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानसँग ८ विकेटले पराजित भैसकेको छ। त्यसैले श्रीलंकामाथि सोमबार जित हासिल गर्नैपर्ने दबाब नेपाललाई भन्दा बढि छ। श्रीलंकाको दबाबबाट नेपाली टोलीले फाइदा लिन सक्नेछ।

प्रकाशित: १३ मंसिर २०७३ ०३:२८ सोमबार

श्रीलंकासँग भिड्दै महिला क्रिकेट टोली