खेल

विराट गोल्डकप चैत ९ गतेदेखि

मोफसलकै दोस्रो ठूलो पुरस्कार राशि रहेको ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिता चैत ९ गतेदेखि हुने भएको छ।

चैत ९ देखि १७ गतेसम्म हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगको बताउँदै, विराट गोल्डकप ट्रस्टका अध्यक्ष सन्तोष बानियाँले भने, ‘काठमाडौंबाहिर स्थायी संरचनामा रात्रिकालीन फुटबल प्रतियोगिता विराटनगरमा हुँदै आएको छ। मोफसलकै नमुना प्रतियोगिताका रूपमा रहेको यस गोल्डकपलाई फुटबलप्रेमीले माया गर्ने गरेका छन्।’

मोफसलको दोस्रो ठूलो राशि रहेको प्रतियोगितामा खेलाडीको सेवासुविधालाई विशेष ध्यान दिएको बताउँदै, अध्यक्ष बानियाँले भने, ‘प्रतियोगिता राति हुने भएकाले खेलाडी र दर्शकलगायतको सुरक्षामा विशेष ध्यान दिँदै सुरक्षा संयन्त्रसँग समन्वय गरी सुरक्षाको सम्पूर्ण तयारी गरिएको छ। यहाँ आउने दर्शकलाई सुरक्षाको प्रत्याभूति हुने गरी सडकमा पनि त्यत्तिकै संख्यामा सुरक्षाकर्मी परिचालन गरिनेछ।’

प्रतियोगितामा भारतको २ टोलीसहित ८ वटा टोलीको सहभागिता रहनेछ। आयोजक टोलीका रूपमा विराटनगर सिटी फुटबल क्बलका साथै ‘ए’ डिभिजन क्लब नेपाली पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, संकटा क्लब, जावलाखेल युथ क्लब सहभागी हुँदै छन्। त्यस्तै आई लिग खेलिरहेको दिल्ली फुटबल क्लब र केरलाको लुका सकर क्लबले खेल्नेछन्।

यस पटकको विजेता तथा उपविजेता टोलीले विगतको भन्दा बढी पुरस्कार राशि प्राप्त गर्नेछन्। छैटौं संस्करणको विजेताले १५ लाख १५ हजार रूपैयाँ र उपविजेताले ७ लाख ५१ हजार रूपैयाँ प्राप्त गरेका थिए। सातौं संस्करणको विजेताले २० लाख १५ हजार र उपविजेताले १० लाख ५१ हजार रूपैयाँ प्राप्त गर्ने अध्यक्ष बानियाँले बताए।

प्रत्येक खेल जित्ने टोलीले २५ हजार रूपैयाँ पाउनेछन्। विधागततर्फ प्रशिक्षक, गोलरक्षक, मिडफिल्डर, डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता र फेयर प्ले टोलीले नगद पुरस्कार प्राप्त गर्नेछन्। विराटनगरमा २०१८ सालबाट तत्कालीन राजा श्री ५ महेन्द्रको नामबाट गोल्डकप प्रतियोगिता हुँदै आएको थियो। विवादमा रहेर आयोजन हुन नसकेकोे श्री ५ महेन्द्र गोल्डकप फुटबल प्रतियोगिता २०६८ सालदेखि नाम परिवर्तन गरी ‘विराट गोल्डकप’का नामबाट पुनः आयोजना हुन थालेको हो। 

प्रकाशित: ३ चैत्र २०७९ ०१:२७ शुक्रबार

विराट गोल्डकप मोफसलकै दोस्रो ठूलो पुरस्कार राशि