खेल

मिल्स गोल्डकप उपाधि नजिक झापाको ध्रुवतारा क्लब

झापाको ध्रुवतारा स्पोर्टिङ क्लब तेस्रो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ।

मिल्स गोल्डकप ट्रष्टले विराटनगरमा आयोजना गरेको प्रतियोगिता अन्तर्गत बुधबारको खेलमा सिराहाको सहलेस युवा क्लबलाई झापाले टाइब्रेकरमा ५–४ गोलले हराउँदै फाइनलमा पुगेको हो।

खेलको निर्धारित समयमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो।

झापाले बिहीबार साबिकको विजेता सिराहाको प्रतिभा फुटबल क्लब र उदयपुरको गाईघाट फुटबल क्लबको विजेतासँग उपाधि जितका लागि खेल्ने छ।

झापाका निर्जल बोहार, प्रवीण राई, रोशन धिमाल ‘ए’, गौरव धिमाल र विक्रम राईले गोल गर्दै टोलीलाई फाइनलमा पुर्‍याए।

सिराहका रवि रखल, डेनियल, अमन लामा र स्यानगोले गोल गरे भने यानिकको प्रहारलाई झापाका गोलरक्षक आयुष लिम्बूले बचाए । म्यान अफ द म्याच झापाका गोलरक्षक लिम्बू भए।

झापाका प्रवीण राईले २४ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए। डिबक्सभित्र रोशन धिमाल ‘ए’ मिलाइ दिएको क्रस पासलाई राईले हेडमार्फत गोल गरे। ३५ औं मिनेटमा विक्रम राईले गोल गर्दै अग्रता दोब्बर बनाए।

६० औं मिनेटमा सिराहाका अमन लामाले गोल फर्काए। सिराहका यानिकले ७३ औं मिनेटमा डिबक्सभित्रबाट गरेको प्रहार गोलमा परिणत गर्दै खेललाई बराबरी पारे।  

प्रकाशित: १ चैत्र २०७९ १३:०६ बुधबार

मिल्स गोल्डकप