खेल

बेनीमा ‘म्याग्दी कप’ सुपर लिग फुटबल प्रतियोगिता सुरू

सदरमुकाम बेनीस्थित खुल्ला मञ्चमा बुधबारदेखि सुरु हुने ‘म्याग्दी कप’ सुपर लिग फुटबल प्रतियोगिता सुरु भएको छ। म्याग्दी कप २०७९ व्यवस्थापन समितिको आयोजना र जिल्ला फुटबल संघको सह–आयोजनामा चैत १ गतेदेखि १० गतेसम्म सञ्चालन हुने लिग फुटबल प्रतियोगिताको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जालीले उद्घाटन गरे।

प्रमुख अतिथि जुग्जालीले खेलकुद क्षेत्रको विकासका लागि पूर्वाधारको अनिवार्य आवश्यक पर्ने बताए। ‘खेलकुदको पूर्वाधार भए खेलाडीलाई सहज हुन्छ, जिल्लाभित्रका अलपत्र योजनामा खेलमैदान समेत छन्,पूर्णता दिन निरन्तर ताकेता गरिरहेको छु’ मन्त्री जुग्जालीले भने।सोही अवसरमा बेनी नगरपालिकामा मेयर सुरत केसीले नियमित बजेटबाट खेलकुद क्षेत्रको विकास सम्भव नभएकाले पहुँचबाटै बजेट ल्याउनुपर्ने बताए। 

उनले नगरपालिकाको प्रयासमा सदरमुकाम बेनीको खेलमैदानको काम भइरहेपनि पर्याप्त बजेट नभएको बताए। सोही अवसरमा प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले खेलकुद  गतिविधिलाई मर्यादित र खेलमैत्री बनाउनुपर्ने बताए। उद्घाटन समारोहमा गण्डकी प्रदेश सांसद हरि भण्डारी, बिमला गौचन, बेनी नगरपालिकाका  प्रवक्ता रमेशकुमार श्रेष्ठ, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा लगायत जिल्लाका सरकारी निकायका प्रमुख तथा प्रतिनिधि, खेलाडीको उपस्थिति रहेको थियो। 

उद्घाटन कार्यक्रमको अध्यक्षता म्याग्दी कपका संयोजक बिक्रम सुबेदी, स्वागत जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी र सञ्चालन पत्रकार कृष्ण जिसीले गरेका थिए। म्याग्दीमा पहिलो पटक सुरु भएको लिग खेल १० दिनसम्म सञ्चालन हुने छ। 

आमन्त्रित म्याग्दी जिल्ला लिग फुटबल प्रतियोगितामा १० क्लबको सहभागिता रहेको म्याग्दी कप व्यवस्थापन समितिका अध्यक्ष विक्रम सुवेदीले बताए। प्रतियोगितामा समूहबाट विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्ने छन्।सेमिफाइनलमा समूह ए को विजेता र समूह वि को उपविजेता र समूह वि को विजेता र समूह ए को उपविजेता बिच प्रतिस्पर्धा हुनेछ। 

म्याग्दी कप लिगमा प्रथम हुनेले एक लाख २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने छ भने द्धितिय हुनेले ७० हजारसहित मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने छ। लिग फुटबल प्रतियोगितामा अनुशासित क्लब र उत्कृष्ट खेलाडीलाई नगद १० हजार र ट्रफी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई जनही ७ हजार ५०० रुपैयाँ र ट्रफी, बेष्ट युवा खेलाडीलाई ५ हजार रुपैयाँसहित ट्रफी र म्यान अफ द खेलाडीलाई नगद २ हजारसहित ट्रफीले पुरस्कृत गरिने छ। 

प्रकाशित: १ चैत्र २०७९ ०८:३६ बुधबार

खुल्ला मञ्च