खेल

टेस्ट राष्ट्रलाई हराउले लक्ष्य

काठमाडौं- राष्ट्रिय महिला क्रिकेट टोलीका प्रशिक्षक राजु बस्न्यातले महिला ट्वान्टी–२० एसियाकपमा टेस्ट राष्ट्रलाई पराजित गर्ने लक्ष्यसाथ थाइल्यान्ड भ्रमणमा रहने बताएका छन्। बैंककमा हुने प्रतियोगिताका लागि रुबिना क्षेत्रीको कप्तानीमा नेपाली महिला टोली बुधबार त्यसतर्फ गएको छ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले राष्ट्रिय झन्डासहित बिदाइ गरेका थिए।

प्रशिक्षक बस्न्यातले तयारी राम्रो भएकाले नतिजा आउने अपेक्षा गर्न सकिने बताए। ‘हाम्रो तयारी राम्रो भएको छ। योनेपालले खेल्ने ठूलो प्रतियोगितामध्ये एक हो।प्रतियोगितामा टेस्ट राष्ट्रहरू पनि छन्। हाम्रो मुख्य लक्ष्य उनीहरूलाई हराउने हो,’ प्रशिक्षक बस्न्यातले भने, ‘हामी करिब एक महिनाअघिमात्र विश्वकप छनोट प्रतियोगिता खेलेर फर्किएका हौं। यसपालि त्योभन्दा पनि राम्रो टोली छ।’

हङकङमा सम्पन्न आइसिसी महिला विश्वकपका लागि भएको एसियाली छनोट प्रतियोगितामा नेपाल दोस्रो स्थानमा रहेपछि एसिया कपलाई छनोट भएको हो।

शनिबार सुरु हुने एसिया कपमा नेपालसँगै आयोजक थाइल्यान्ड, भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशले प्रतिस्पर्धा गर्नेछन्। नेपालले मंसिर ११ मा पाकिस्तानविरुद्ध खेल्दै प्रतियोगिता यात्रा सुरु गर्नेछ। मंसिर १३ मा श्रीलंकाविरुद्ध, १४ मा बंगलादेश तथा १६ मा आयोजक थाइल्यान्डसँग प्रतिस्पर्धा गर्ने नेपालकोमंसिर १७मा साबिक विजेता भारतको भेट हुनेछ।

टोलीकीकप्तान रुबिनाले छोटो समयका बाबजुत पनि तयारी राम्रो भएको भन्दै विजय नतिजा ल्याउने बताइन्। ‘हामीले पुरुषटोलीसँग अभ्यास खेल पनि खेल्यौं। त्यसले टोलीको आत्मविश्वास बढेको छ,’ रुबिनाले थपिन्, ‘विश्वकप छनोट प्रतियोगितामा हामीले जुन नतिजा दियौं, त्यो भन्दा राम्रो नतिजा ल्याउनेमा म विश्वस्त छु।’

विश्वकप छनोट खेलेकी निर्मला शाही बैंकक भ्रमणमा हुने छैनन् भने संगीता राई र शोभा आलेले टोलीमा स्थान बनाएका छन्।

नेपाली टोलीः रुबिना क्षेत्री (कप्तान), इन्दु बर्मा, ज्योतिपाण्डे, काजोल श्रेष्ठ, करुणाभण्डारी, नेरी थापा, नीरा राजोपाध्याय, रश्मीशर्मा चौलागाईं, रोशनीबोहरा, सवनम राई, संगीता राई, सरस्वती चौधरी, सरिता मगर, सीता रानामगर र शोभाआले छन्। प्रशिक्षकमा राजु बस्न्यात र व्यवस्थापकमा अस्मिता गुरुङ रहेका छन्।

प्रकाशित: ९ मंसिर २०७३ ०३:५३ बिहीबार

टेस्ट राष्ट्रलाई हराउले लक्ष्य