खेल

हेटौंडामा नोभिस बक्सिङ सुरु

प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री लामा लगायत। तस्बिर: नागरिक

नयाँ खेलाडीको प्रतिभा प्रस्फृुटन र पहिचानको उद्देश्यसहित हेटौंडामा मंगलबारबाट अल नेपाल नोभिस बक्सिङ प्रतियोगिता सुरु भएको छ।

मकवानपुर जिल्ला बक्सिङ संघ र बाग्मती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा नोभिस बक्सिङ सुरु भएको हो। चैत ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २३ जिल्लाका ३७ वटा क्लबका १ सय ५० पुरुष र २८ जना महिला गरी १ सय ७८ खेलाडी सहभागी छन्। प्रतियोगितामा १७ देखि २१ वर्ष उमेरसम्मका खेलाडी सहभागी छन्।

उनीहरूले १६ विधामा प्रतिस्पर्धा गर्नेछन्। पुरुषतर्फ ९ र महिलातर्फ ७ वटा तौलसमूहमा प्रतिस्पर्धा हुनेछ। विधागत प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः १० हजार, ५ हजार र ३ हजार रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट महिला र पुरुष खेलाडी, टिम, रेफ्री र लुजरलाई समेत नगद ३ हजार रूपैयाँसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। राम्रो खेल्दाखेल्दै पनि हारेका एकजना वेस्ट लुजरलाई पुरस्कृत गरिनेछ। प्रतियोगिताको उद्घाटन मंगलबार बाग्मती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले उद्घाटन गरेकी हुन्। प्रदेश सरकारले सबै खेललाई प्राथमिकतामा राखेर सहयोग गर्दै आएको उनको दाबी थियो। ‘हामीले सबै खेललाई उत्तिकै प्राथमिकता दिएका छौं। आगामी दिनमा थप योजनाबद्ध काम गर्नेछौं’, मन्त्री मोक्तानले भनिन्, ‘छिट्टै बाग्मती प्रदेश खेलकुद प्रतियोगिता गर्नेछौं। आवश्यक तयारी अघि बढाएका छौं।’

प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले अल नेपाल नोभिस बक्सिङ प्रतियोगितालाई हरेक वर्ष निरन्तरता दिने प्रतिबद्धता जनाए। पछिल्लो समय खेलकुदमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा राम्रो नतिजा आउन थालेको भन्दै उनले खुसी व्यक्त गरे।

नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले अनुशासनलाई ध्यान दिन खेलाडीलाई अनुरोध गरे। प्रतियोगिताको उद्घाटनमा नेपाल बक्सिङ संघका महासचिव सविन भट्टाचार्य, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, हेटौंडा उपमहानगरपालिकाका निवर्तमान मेयर हरिबहादुर महत, हेटौंडा ४ नम्वर वडा अध्यक्ष नवीन सिग्देल लगायतले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गरेका थिए।  

प्रकाशित: १ चैत्र २०७९ ०१:३१ बुधबार

नयाँ खेलाडीको प्रतिभा प्रस्फृुटन र पहिचानको उद्देश्य अल नेपाल नोभिस बक्सिङ प्रतियोगिता