खेल

पहिलो चरणमा शुक्रलाई अग्रता

नेपाल नम्बर एक प्रोफेसनल गल्फर शुक्रबहादुर राईले सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो चरणमा एक स्ट्रोकको अग्रता लिएका छन्।

पार–७२ को गोकर्ण गल्फ क्लबमा मंगलबारदेखि सुरु सेन्ट्रल ओपनमा शुक्रले घरेलु क्लबका भुवन नगरकोटीमाथि एक स्ट्रोकको अग्रता लिएका हुन्। यो सूर्य नेपाल गल्फ टुर २०२२/०२३ को पाँचौं प्रतियोगिता पनि हो। कुल ७२ होलमा हुने प्रतियोगितामा पहिलो दिन शुक्रले सात अन्डर ६५ को कार्ड बनाए। भुवनले ६ अन्डर ६६ जोडे।

उनले कुनै पनि बोगी सामना गर्नु परेन। शुक्रले पहिलो नाइनमा दुई अन्डर ३४ बनाए। पछिल्लो नाइनमा भने उनले पाँच अन्डर ३१ को कार्ड बनाउँदै सुधार गरे। पहिलो दिनको खेलमा धराने गल्फर शुक्रको नाममा पाँच बर्डी रह्यो।

यता, भुवनले पहिलो नाइनमा ६ अन्डर ३० मा खेल्दै उत्कृष्ट सुरुआत गरे। तर, ब्याक नाइनमा खराब प्रदर्शन गर्दै इभन पार ३६ को कार्ड सामना गरेपछि शुक्रसँग पछि परे। पहिलो तीन होलमा बर्डी प्रहार गर्दै भुवनले दिनको सुखद सुरुआत गरे। त्यसपछि पाँचौं होलमा पनि उनले सो सफलता दोहोर्‍याए। सातौं होलमा पनि इगल प्रहार गरेपछि पहिलो नाइन उनका लागि सानदार रह्यो। तर, ब्याक नाइनमा भने भुवनले सो किसिमको प्रदर्शनलाई निरन्तरता दिन सकेनन्। जयराम श्रेष्ठ तेस्रो स्थानमा रहँदा नीरज तामाङ चौथोमा रहे। नीरजले चार अन्डर ६८ र नीरजले एक अन्डर ७२ मा खेले।

इभन पार ७२ मा खेलेका सञ्जय लामा र बलबहादुर राई संयुक्त रूपमा पाँचौं स्थानमा छन्। एमेच्योर गल्फरद्वय सुवास तामाङ र सद्भाव आचार्यको पनि पहिलो दिन इभन पार–७२ कै स्कोर कार्ड रह्यो। अर्का एमेच्योर क्याटेन नोर्बु शेर्पाले प्रो गल्फर शिवराम पौडेलसँगै नवौं स्थान ओगटे। उनीहरूले पहिलो दिन एक ओभर ७३ मा खेले। तीन प्रो. गल्फर रमेश अधिकारी, रामे मगर र दिनेश प्रजापतिसँगै गल्फरद्वय निश्चयजंग रायमाझी र युवराज भुजेल संयुक्त रूपमा ११औं स्थानमा छन्। उनीहरूले पहिलो दुई ओभर ७४ मा खेले।

एमेच्योरतर्फ सद्भाव र सुवासले इभन पार ७२ सहित अग्रता बनाएका छन्। क्याप्टेन नोर्बु शेर्पाले उनीहरूलाई पछ्याइरहेका छन्। ३६ होलको खेलपछि कट नियम लागू हुनेछ। जहाँबाट शीर्ष २१ प्रो गल्फर र ६ उत्कृष्ट एमेच्योर गल्फरले अन्तिम दुई चरणको यात्रा तय गर्नेछन्। ३१ प्रो र ९ एमेच्योर गल्फरले प्रतिस्पर्धा गरेको प्रतियोगिताको विजेताले एक लाख ४० हजार, उपविजेताले ९० हजार र तेस्रो हुने गल्फरले ६७ हजार रूपैयाँ नगद पुरस्कार पाउनेछन्। चौथो र पाँचौं स्थानमा रहने गल्फरले क्रमशः ५५ हजार र ४७ हजार रूपैयाँ प्राप्त गर्नेछन्।  

प्रकाशित: १ चैत्र २०७९ ०१:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App