खेल

‘गैरव्यावसायिक लिग खेल्ने खेलाडी टोलीमा पर्दैनन्’

नवनियुक्त प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिस

नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले गैरव्यावसायिक लिग खेल्ने नेपाली खेलाडी आफ्नो नजरमा नपर्ने बताएका छन्।

मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षक सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा प्रशिक्षक भिन्सेन्जोले अस्ट्रेलिया पुगेका खेलाडीलाई इङ्गित गर्दै गैरव्यावसायिक खेलाडीलाई राष्ट्रिय टोलीमा स्थान नदिने बताएका हुन्। उनीहरूको स्थानमा युवा खेलाडीलाई समेट्दै टोली बनाउने बताए। उनले जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग र विगतका खेलमा स्वदेशबाट खेलिरहेका खेलाडीलाई समेट्दै उनीहरूले गरेको प्रदर्शनका आधारमा टोली निर्माण गर्ने बताएका हुन्।

‘भारतको आई–लिगमा मैले किरणको खेल हेरेको छु। अब यहाँ धेरैको खेल हेर्नु छ। टोलीमा अनुभवी र युवा खेलाडी दुवैलाई मौका दिनेछु। अनुभवी खेलाडीको संगतमा युवा खेलाडी परिपक्व बन्न सक्छन्,’ प्रशिक्षक भिन्सेन्जोले भने, ‘प्रतिस्पर्धात्मक प्रतियोगितामा व्यस्त रहेकाहरू मात्र राष्ट्रिय टोलीमा अटाउँछन्। विदेशमा नखेली बसेकालाई स्थान दिनु हुँदैन। म आफूले खेलेको देखेका खेलाडीलाई मात्र विश्वास गर्न सक्छु। मेरो नजरमा परेका खेलाडीलाई म विश्वास गर्छु।’

अधिकांश राष्ट्रिय टोलीका खेलाडी बिदेसिएको विषयलाई कटाक्ष गर्दै युवा खेलाडीले मौका पाउने बताए। प्रशिक्षक भेन्सेन्जोले एकै पटक धेरै नयाँ खेलाडीलाई मात्र समेटेर टोली बनाउन कठिन हुने भन्दै केही अनुभवी खेलाडी पनि समेट्ने संकेत गरे र उपयुक्त खेलाडीलाई मात्र स्थान दिने बताए।‘

अब टोली बनाउँदा सम्पूर्ण रूपमा नयाँ बनाउन सकिँदैन। एकै पटक धेरै नयाँ खेलाडीलाई समेटेर मात्र हुँदैन। एकै पटक टोली परिवर्तन गर्न सकिँदैन। टोली परिवर्तनको प्रक्रिया हुन्छ। उपयुक्त खेलाडीले मौका पाउनेछन्,’ प्रशिक्षक भेन्सेन्जोले थपे, ‘मेरो लक्ष्य धेरैभन्दा धेरै खेलमा नेपाललाई सुखद नतिजा दिलाउने र नेपालले विगतमा हासिल गर्न नसकेका खेलमा सफलता दिलाउँदै मेरो व्यक्तिगत करियर पनि सुधार गर्ने लक्ष्य छ।’

भिन्सेन्जो आफू आक्रामक फुटबल खेल्न मन पराउने प्रशिक्षक रहेको भन्दै बढीभन्दा बढी गोलका लागि खेल्ने रणनीति बनाउने बताए। जारी सहिद स्मारक ‘ए’ डिभजिन लिगका खेलमा पर्याप्त गोल नभएको र एक गोल गरेपछि वा जित्ने अवस्था आएपछि टोलीहरूले खेल ‘स्लो डाउन’ गर्दै रक्षात्मक खेल्ने रणनीति बुन्ने गरेको, जुन आफूलाई गलत लाग्ने उनले थपे।

नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जोको प्रशिक्षणमा नेपालले घरेलु मैदानमा नेपाल, लाओस र भुटान सम्मिलित प्रधानमन्त्री कप त्रिदेशीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै छ। प्रशिक्षक भिन्सेन्जोलाई एन्फाले मासिक तलबबाहेक खानेबस्ने र आउने जाने व्यवस्था गरेको छ। प्रशिक्षकका लागि आवश्यक पर्ने बजेट हालका लागि एन्फाको आन्तरिक स्रोतबाट व्यवस्था गरिएको छ। प्रशिक्षण सम्झौता एक वर्षका लागि गरिएको हो।

प्रकाशित: १ चैत्र २०७९ ०१:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App