खेल

नेपालको पहिलो खेल भुटानसँग

काठमाडौं- नेपालले साफ च्याम्पियनसिप महिला फुटबलको पहिलो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्ने भएको छ। पुस ११ देखि २० सम्म भारतको सिलगुढी हुने प्रतियोगितामा  नेपालको पुस ११ मा भुटानसँग खेल्दै यात्रा सुरु गर्नेछ।

दक्षिण एसियाली फुटबल महासंघको मुख्यालय बंगलादेशको ढाकामा शुक्रबार सार्वजनिक खेलतालिका अनुसार नेपाल समूह 'ए' मा परेको छ।

नेपालले भुटानसँगै समूह चरणमा श्रीलंका र माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ। साफ महिला फुटबल च्याम्पियनसिपमा नेपाल उपविजेता टोली हो। फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो।

समूह 'बी' मा साबिक विजेता भारतसँगै बंगलादेश र अफगानिस्तान छन्।

नेपालले माल्दिभ्ससँग पुस १३ र श्रीलंकासँग पुस १५ मा खेल्नेछ। प्रतियोगिताका सबै खेल सिलगुढीस्थित कञ्चनजंगा रंगशालामा हुनेछ।

प्रतियोगिताका लागि नेपालले एक साताअघि तयारी सुरु गरेको छ। प्रधानसेनापति कप अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले ७२ खेलाडीलाई प्रशिक्षणमा बोलाएको थियो। त्यसबाट ५२ खेलाडी बन्द प्रशिक्षणमा समावेश गरिएको छ। नेपाली टोलीका प्रशिक्षक कुमार थापा र अस्मिता खवास छन् भने व्यवस्थापकको जिम्मेवारी शिवानी थापाले सम्हाल्ने छिन्।

प्रकाशित: ४ मंसिर २०७३ ०२:२७ शनिबार

नेपालको पहिलो खेल भुटानसँग