खेल

दीपकराजको गोलमा सातदोबाटोको तेस्रो जित

एपिएफका एडमा डोम्बियालाई रातो कार्ड देखाउँदै रेफ्री प्रज्वल क्षेत्री। तस्बिर सौजन्य: एन्फा

दीपकराज सिंह ठकुरीले अन्तिम मिनेटमा गरेको गोल प्रेरणा फ्रेन्ड्स क्लबमाथि १–० को जितसहित सातदोबाटो युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आफ्नो उत्कृष्ट लयलाई तेस्रो खेलसम्म कायम राखेको छ।

जारी लिगमा अहिलेसम्म चर्च ब्वाइज र सातदोबाटो युथ क्लबले मात्र तीन खेलमा सतप्रतिशत नतिजा ल्याएका छन्। शीर्ष स्थानको चर्च ब्वाइज र दोस्रो स्थानको सातदोबाटोको समान ९ अंक छ। इन्जुरी समयमा दीपकले गरेको गोल सातदोबाटोको जितका लागि पर्याप्त बन्यो। नीरज चौधरीले पेनाल्टी बक्समा उपलब्ध गराएको पास सदुपयोग गर्दै दीपकले गोल गरेका हुन्। जारी लिगमा दीपकको यो तेस्रो गोल हो। गत सिजन पनि सातदोबाटोले ‘ए’ डिभिजन लिगको पहिलो सहभागितामै सनसनी मच्चाएको थियो।

चौथो स्थानमा रहँदै गत सिजनको अन्त्य गरेको सातदोबाटोले यस पटक पनि सुखद नतिजा जारी राखेको हो। यस सिजनको पहिलो खेलमा एनआरटीलाई २–१ ले हराएको सातदोबाटोले दोस्रो खेलमा एपिएफमाथि १–० को सनसनीपूर्ण जित निकालेको थियो। यता, फ्रेन्ड्सको भने तीन खेलमा यो दोस्रो हार हो। पहिलो खेलमा एफसी खुमलटारलाई १–० को नतिजा सुम्पिएको फ्रेन्ड्सले दोस्रो खेलमा भने ललितपुर डर्बीमा थ्री स्टार क्लबसँग ३–३ को बराबरी खेलेको थियो।

जावलाखेलले गुमायो अवसर

सुनील श्रेष्ठको प्रशिक्षणमा रहेको जावलाखेल युथ क्लबले दशरथ रंगशालामा शनिबार सम्पन्न पहिलो खेलमा १० खेलाडीमा सीमित एपिएफसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो। लिगको पहिलो खेलमै साबिकको विजेता मच्छिन्द्र फुटबल क्लबमाथि ३–१ को पुनरागमन जित निकालेको जावलाखेलले दोस्रो खेलमा पनि एनआरटीलाई २–० ले हराएको थियो। तर, तेस्रो खेलमा भने जावलाखेलले जितको यात्रालाई निरन्तरता दिन सकेन। ६९औं मिनेटमा एपिएफका रक्षक एडमा डोम्बिया रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएका थिए।

त्यसपछि एपिएफले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गर्‍यो। जावलाखेलका स्ट्राइकर हिसुब थपलियामाथि फाउल गरेपछि रेफ्री प्रज्वल क्षेत्रीले डोम्बियालाई पहेंलो कार्ड दर्शन गराएका हुन्। तर, रेफ्रीको निर्णयप्रति विरोध जनाउँदै विवादमा उत्रिएपछि क्षेत्रीले डोम्बियालाई रातो कार्ड दर्शन गराउँदै मैदान बाहिर पठाए। रातो कार्ड सामना गरेपछि पनि डोम्बियाले मैदान बाहिर जान धेरै समय लिएका थिए। यता, पहिलो खेलमा थ्री स्टार क्लबमाथि २–० को जित निकालेको एपिएफ दोस्रो खेलमा सातदोबाटोसँग १–० ले निरास भएको थियो।

एपिएफले पनि तेस्रो खेलमा जित लय जारी राख्न सकेन। जावलाखेलका प्रशिक्षक सुनीलले पाएका अवसर गुमाउँदा एपिएफसँग अंक बाँड्नुपरेको बताए। ‘आज हामी तीन अंक लिन चाहन्थ्यौं र एपिएफ पनि,’श्रेष्ठले भने, ‘तर पाएका केही अवसर खेर फाल्दा अग्रता लिन सकेनौं। एपिएफ राम्रो टोली हो र उनीहरूविरुद्ध अंक गुमाउनुभन्दा पनि एक अंक जोड्दा हामी खुसी छौं। आज हाम्रो मिडफिल्ड रणनीतिअनुसार चल्न सकेन। आशा छ, आगामी खेलमा हामी जित लयमा फर्कन्छौं।’

यता एपिएफका प्रशिक्षक रत्नकाजी महर्जनले भने रेफ्रीले खेल नियन्त्रणमा राख्न नसक्दा आफ्नो टोलीका महत्वपूर्ण रक्षक डोम्बियालाई गुमाएको र अन्तिम समय दबाबमा खेल्नुपरेको बताए। ‘आज दुवै टोली तीन अंकका लागि आएका थिए। त्यसैले दुवै आक्रामक देखिनु स्वाभाविक हो,’महर्जनल भने, ‘तर रेफ्रीले खेल नियन्त्रणमा राख्न सकेनन्। यदि रेफ्रीले खेल नियन्त्रणमा लिएको भए सायद त्यो स्थिति आउँदैन थियो होला। हामीले रक्षक डोम्बियालाई गुमायौं। जसको असर आगामी खेलमा पर्न सक्छ।’

यद्यपि, उनी आफ्नो टोलीको प्रदर्शनबाट भने सन्तुष्ट देखिए। ‘हामीले जावलाखेललाई दबाबमा राख्यौं,’महर्जनले भने, ‘केही अवसर पनि हामीले चुकायौं। तर टोलीले गरेको प्रदर्शनबाट भने म सन्तुष्ट छु।’ जावलाखेलको तीन खेलबाट सात अंक छ भने एपिएफको समान खेलमा तीन अंक रहेको छ। शनिबार नै च्यासल फुटबल मैदानमा सम्पन्न खेलमा संकटाले लिगको पहिलो जित निकाल्ने क्रममा नेपाल पुलिस फुटबल क्लबलाई ३–० ले हरायो। संकटाको जितमा रोशन पहारी, सुरज ज्यू ठकुरी र गणेश हमालले समान एक गोल गरे।

संकटाले पहिलो खेल त्रिभुवन आर्मी फुटबल क्लबसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा मनाङ मस्र्याङ्दीलाई १–० को नतिजा सुम्पिएको थियो। पुलिसको भने यो लगातार तेस्रो हार हो। पहिलो खेलमा चर्च ब्वाइजसँग निराश पुलिस दोस्रो खेलमा सातदोबाटो युथ क्लबसँग पराजित भएको थियो।

प्रकाशित: २८ फाल्गुन २०७९ ०२:५७ आइतबार

जावलाखेलले गुमायो अवसर तीन खेलमा सतप्रतिशत नतिजा