खेल

एलेक्स महर्जनलाई स्वर्ण

केभिपिपिसीका एलेक्स महर्जनले बृहत् खेलकुद महोत्सवअन्तर्गत बिहीबार ललितपुर जिल्लास्तरीय टेबल टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा स्वर्ण जितेका छन्।

ललितपुर जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिताको फाइनलमा एलेक्सले आफ्नै क्लबका सुनील महर्जनलाई ९–११, ११–९, ७–११, ११–३, ११–५ र ११–५ को सेटमा पराजित गरे।

अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगितामा सहभागी नभएका खेलाडीको पुरुष सिंगल्स ‘बी’ प्रतिस्पर्धामा सिवाइसीका राजेन्द्रमान श्रेष्ठ पहिलो भए। उनले फाइनलमा एलटिटिसीका सलिम ताम्राकारलाई ११–८, ८–११, ५–११, ११–५ र १२–१० ले हराए। एलटिटिसीका विभूष श्रेष्ठ र सोल्चापुखू स्पोर्ट्सका सुशील वज्राचार्य तेस्रो भए। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगिताको भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा गोड स्पिनका राजेश्वर महर्जनले फाइनलमा सिवाइसीका राजु शाक्यलाई ११–९, ११–८, ६–११ र ११–७ ले पाखा लगाउँदै पहिलो भए। एपिएमका ठाकुर थापा र सिवाइसीका विक्रम श्रेष्ठ तेस्रो बने।

प्रकाशित: २६ फाल्गुन २०७९ ०१:११ शुक्रबार