खेल

इङ्ल्यान्डको भारतविरुद्ध ठूलो स्कोर

राजकोट- बेन स्टोक्स र मोइन अलीले शतक पूरा गरेपछि इङ्ल्यान्डले भारतविरुद्ध पहिलो टेस्टको पहिलो इनिङमा ५ सय ३७ रनको ठूलो योगफल खडा गरेको छ। कुनै पनि भ्रमणकारी टोलीले भारतविरुद्ध झन्डै पाँच वर्षयता बनाएको यो ठूलो स्कोर हो।

स्टोक्सले १ सय २८ रन बनाए भने अघिल्लो दिन ९९ रनमा अविजित रहेका अलीले १ सय १७ रन बटुले। पहिलो दिन जोए रुटले १ सय २४ रन जोडेपछि इङ्ल्यान्डले ४ विकेट गुमाई ३ सय ११ रन बनाएको थियो। दोस्रो दिन बिहीबार खेल सकिँदा भारतले कुनै विकेट नगुमाई ६३ रन बनाएको छ। मुरली विजय २५ र भेट्रान ब्याट्सम्यान गौतम गम्भिर २८ रनमा अविजित छन्। विजयले ७० बल र गम्भिरले ६८ बल खेल्दै समान ४ चौका प्रहार गरेका छन्।

उच्च प्रदर्शन गरिरहेका स्टोक्स र अलीको साझेदारी भोजन सत्रलगत्तै टुटेको थियो।  स्टोक्सले धैर्यपूर्वक ब्याटिङ गरेपछि इङ्ल्यान्ड टोली भारतीय भूमिमा तेस्रो ठूलो स्कोर खडा गर्न सफल भयो। भारतविरुद्ध अघिल्ला तीन टेस्टमा शून्यमा आउट भएका स्टोक्सले  १३ चौका र २ छक्का प्रहार गरे। टेस्ट क्रिकेटमा यो उनको चौथो शतक हो। इङ्ल्यान्ड ब्याट्म्यानविरुद्ध भारतीय बलरले भने निकै संघर्ष गर्नुपर्‍यो। विश्व वरीयताको शीर्षस्थानमा रहेको भारतीय रविचन्द्रन अश्विनले २ विकेटका लागि १ सय ६७ रन खर्चेका थिए।

इङ्ल्यान्डले बिहानी सत्रमा आक्रामक ब्याटिङ गरेको थियो। टोलीले २ विकेट क्षतिमा १ सय ३९ रन थपेको थियो। १३ चौका प्रहार गरेका अलीलाई मोहम्मद सामीले आउट गरे। सामीले ६५ रन खर्चेर २ विकेट लिए।

यो वर्ष टेस्ट क्रिकेटमा सबैभन्दा बढी रन बनाएका जोनी ब्रेस्टोले ४६ रन बनाए। उनले स्टोक्ससँग छैटौं विकेटमा ९९ रनको महŒवपूर्ण साझेदारी निभाए। ब्रेस्टोको विकेट सामीले नै लिए।

सन् २०१२ इङ्ल्यान्डसँगको शृंखला घरेलु मैदानमा २–१ ले गुमाएयता खेलेका १३ टेस्टमा भारतले १२ मा जित र एक टेस्टमा बराबरी गरेको थियो। भारत अहिले पनि टेस्ट वरीयतामा शीर्ष स्थानको टोली हो।

दुईपटक भारतीय विकेटकिपर ऋद्धिमन शाहबाट जीवनदान पाएका स्टोक्स अन्ततः उमेश यादवको बलमा आउट भए। उमेशले २ विकेट लिने क्रममा १ सय १२ रन खर्चेका थिए।

९९ रनबाट दिनको खेल अघि बढाएका अलीले मोहम्मद सामीको तेस्रो बलमा शतक पार गरे। अघिल्लो दिन ढाडको समस्याले मैदान छोडेका सामी दोस्रो दिन खेलमा फर्केका थिए। त्यसपघि अलराउन्डर अलीले यादवको ४ बलमा तीन चौका प्रहार गरे। स्टोक्स र सामीले ६२ रनको साझेदारी गरे। सन् २०११ मा वेस्ट इन्डिजले भारतविरुद्ध मुम्बईमा ५ सय ९० रन बनाएयता इङ्ल्यान्डले बनाएको ठूलो स्कोर हो।

प्रकाशित: २६ कार्तिक २०७३ ०४:५१ शुक्रबार

इङ्ल्यान्डको भारतविरुद्ध स्कोर