खेल

प्रतिभाको क्लब विजयी

काठमाडौं–नेपाली स्पाइकर प्रतिभा मालीले पुनः एकपटक क्विन अफ दी म्याच प्रदर्शन गरेपछि माल्दिभ्समा जारी माल्दिभ्स क्लब लिग च्याम्पियनमा मिस्किमागु इमेन जी ग्लुहुन क्लबले जित पाएको छ।

प्रतियोगितामा मिस्किमागुले लगातार दोस्रो खेलमा सफलता पाएको हो । नेपाल भलिबल संघकी कोषाध्यक्ष सुनकेशरी मालीका अनुसार सोमबार मिस्किमागुले क्लब पोलस्टारलाई १२–२५, २५–२३, २५–७, २५–१७ ले हराएको छ । माल्दिभ्स क्लब लिग च्याम्पियनसिपमा एउटा टोलीले दुई विदेशी खेलाडी राख्न पाउँछ ।

मिस्किमागु क्लबबाट नेपाली राष्ट्रिय महिला टोलीकी स्पाइकर प्रतिभा र कोपिला उपे्रतीले खेलिरहेका छन्। प्रतिभाले पहिलोपल्ट माल्दिभ्स क्लबबाट व्यावसायिक भलिबल खेलिरहेकी छिन् । न्यु डायमन्डकी खेलाडी प्रतिभाले १३ वर्षको उमेरमा राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन् ।

यसैगरी कोषाध्यक्ष मालीका अनुसार पोलस्टार क्लबले दुई सर्भियन खेलाडीलाई अनुबन्धित गरेको छ । जारी प्रतियोगितमा गल्र्सतर्फ पाँच क्लब र ब्वाइजतर्फ ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । क्लब लिग च्याम्पियनसिप माल्दिभ्स भलिबलको सर्वाधिक ठूलो प्रतियोगिता हो ।

साविक विजेता मिस्किमागुले प्रतियोगितामा वियजी सुरुआत गर्ने क्रममा माल्दिभिएन क्लबलाई २५–२२, २५–१७, २७–२५ को सोझो सेटमा हराएको थियो । त्यो खेलमा पनि प्रतिभा वुमन अफ दी म्याचबाट पुरस्कृत भएकी थिइन् । लिगमा सहभागी ५ क्लबले एकअर्कासँग खेलेपछि शीर्ष ४ टोलीबीच पुनः समूह विभाजन गरेर प्रतिस्पर्धा गराइने छ ।

अब मिस्किमागुले बिहिबार अर्को खेल माल्दिभ्स पुलिस क्लबसँग खेल्नेछ ।

प्रकाशित: २३ कार्तिक २०७३ ०३:११ मंगलबार

प्रतिभाको क्लब